१८ अर्ब खर्च भइसक्दा पनि सिक्टा सिँचाइको गति सुस्त, विभागीय मन्त्री नै बाधक !

  २०७८ असोज ११ गते १४:१५     राजिव न्यौपाने

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाका रुपमा लिएको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य सुस्त देखिएको छ । निर्माण कार्य सुरु भएको १७ वर्ष बितिसक्दा पनि हालसम्म काम नसक्दा आयोजनाको गति सुस्त देखिएको हो ।

यो आयोजना औपचारिक रुपमा आर्थिक वर्ष २०६१/६२ मा सुरु भई आर्थिक वर्ष २०७१/७२ मा सम्पन्न हुने लक्ष्य राखिएको भएपनि सो समयमा सम्पन्न हुन नसकेपछि पुनः आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न हुने राखिएको छ । तर, आर्थिक वर्ष २०७७/७८ मा पनि काम नसकिने पक्का छ । आयोजना कार्यालयका अनुसार फेरि सो आयोजनाको निर्माण अवधि लम्ब्याइएको छ ।

सिक्टा सिँचाइ आयोजनाका आयोजना प्रमुख राम प्रसाद अर्यालका अनुसार सो आयोजनाको निर्माण अवधि थप गरेर पुनः आर्थिक वर्ष २०८५/८६ पु¥याइएको छ ।

उनका अनुसार हालसाँ सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ७० प्रतिशत भएको छ । अर्यालले आर्थिक वर्ष २०७८/७९ को हालसम्ममा आयोजनाको भौतिक प्रगति ७० प्रतिशत भएको बताउँदै अब निर्माण कार्य सम्पन्न गर्न ६/७ वर्ष लाग्ने बताए ।

आर्थिक वर्ष २०६१/६२ निर्माण कार्य सुरु गर्दा सो आयोजनाको कुल लागत १२ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । यो आयोजना २०६२ सालबाट बाँकेमा निर्माणाधीन क्रममा छ । सिक्टाले सरकारले दिएको प्राथमिकता अनुसार काम गर्न सकेको छैन ।

सरकार फेरबदलसँगै विभागीय मन्त्रीले आफ्नो अनुकूलका आयोजना निर्देशक सरुवा गर्ने, ठेकेदारले विभिन्न बहानामा काम अड्काउने जस्ता प्रवृत्तिका कारण आयोजनाको समय लम्बिदै गएको धेरैको बुझाई छ । तर, अहिले भने आयोजनाको कामले तीव्रता पाएको अर्याल दावी गर्छन् ।

उनका अनुसार हालसम्म सो आयोजनामा १७ अर्ब ७३ करोड रुपैयाँ खर्च भइसकेको छ । उनका अनुसार राप्ती नदीमा पुलसमेतको बाँध निर्माण, पश्चिमतर्फ ४५ किलोमिटर मूल नहर र सर्भिस सडक निर्माण, सिँचित क्षेत्र संरक्षणका लागि नदी नियन्त्रणका कामहरूसँगै ५३ किलोमिटर लामो नयाँ पूर्वी मूल नहर निर्माण सुरु तथा पूर्वी मूल नहरमा १८ किलोमिटर माटोको काम र २६ वटा संरचना निर्माण सम्पन्न भएका छन् ।

नहर निर्माणको कामसँगै नदी नियन्त्रणको काम पनि भएको उनको भनाई छ । उनका अनुसार राप्ती नदीमा पुलसमेतको बाँध, पश्चिमतर्फ ४५.२५ कि.मि. मूल नहर र सर्भिस सडक निर्माण भएको, सिँचित क्षेत्र संरक्षणका लागि नदी नियन्त्रणका कामहरु भएका छन् । पूर्वी मूल नहरको करिब ५० प्रतिशत कार्य सम्पन्न भएको साथै पश्चिम तथा पूर्व गरी करिब ७००० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको उनको भनाई छ ।

उनका अनुसार समयमै काम सम्पन्न हुन नसकेपछि दोस्रो पटक गुरु योजना संशोधन गरी ३९ अर्बको लागतमा २०८५/८६ सम्ममा काम सम्पन्न हुनेछ । उनका अनुसार २०८५ /८६ सम्ममा आयोजना निर्माणको कार्य सम्पन्न भई शाखा नहरबाट सिँचाईको लागि पानी पुग्ने छ ।
चालु आर्थिक वर्षमा २०७८/७९ मा आयोजना निर्माणको लागि १ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

आयोजनाले बाँके जिल्लाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी राप्ती पश्चिम दायाँतर्फ ३३ हजार ७ सय ६६ हेक्टर एवम् राप्ती पूर्व बायाँतर्फ ९ हजार हेक्टर गरी कुल ४२ हजार ७ सय ६६ हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको थियो । उक्त लक्ष्य अनुरूप काम बिस्तारै हुँदै गएको छ । तर, सिँचाईको लागि पानी वितरण भने भएको छैन ।

मुख्य नहरको माथि मात्र काम भएको हुनाले सिचाईंको लागि पानी दिन नसकेको अर्यालले बताए । आगामी वर्षबाट अधिकांश क्षेत्रमा नहरका शाखा र उपशाखाको निर्माण गरी सिँचाईको लागि पानी वितरण गर्ने योजना रहेको पनि उनी बत्ताउँछन् । उनका अनुसार पश्चिमी मूल नहर र पूर्वी नहरबाट केही भागमा सिँचाईको काम भएको छ ।

गुरूयोजना संशोधनकोकारण आयोजनाको स्कोप वृद्धि भएकाले निर्माण लागत र समय वृद्धि हुँदै गएको, प्राविधिक जनशक्तिको कमी, ठेक्का व्यवस्थापनमा कठिनाई, पर्याप्त बजेट विनियोजन नहुनु, अदालतमा गएका विषयहरु टुङ्गो नलाग्नु, वर्षाको समयमा नदीजन्य सामग्री निकाल्न नपाउँदा नहर पुरिएर पानीको सतहमाथि आउनु लगायतका कारणले आयोजना निर्माणमा ढिलाई भएको जनाएको छ ।

यस्तै, वन क्षेत्र तथा बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र नदीजन्य निर्माण सामग्रीको आपूर्तिमा बन्देज लगाएको, स्थानीयले समयसमयमा आयोजनासँग असम्बन्धित माग राखी अवरोध खडा गर्ने, आयोजनाको नहर क्षेत्रभित्र पर्ने जग्गा, घरटहरा आदिको मुआब्जा र क्षतिपूर्ति सम्बन्धमा समस्या र मुआब्जा वितरण कार्यमा विवाद हुनु पनि मुख्य चुनौति रहेको जनाएको छ । यी विभिन्न कारणले आयोजनाको गति तीव्र रुपमा अगाडि नबढेको उनको भनाई छ ।

सिक्टा सिचाईं आयोजनाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हजारौंलाई रोजगारी प्रदान गरेको छ । ३० लाख श्रमदिन (वार्षिक करिब ३ लाख) रोजगारी सिर्जना गरिरहेको छ । आयोजना निर्माणमा लागि करिब २ सय जनशक्ति पनि कार्यरत छन् । आयोजना सम्पन्न भए पश्चात पनि धेरै युवा तथा स्थानीयले रोजगारी पाउने उनको भनाई छ । यो आयोजना निर्माण सम्पन्न भएपछि सर्वसाधारणको जीवनस्तर उकासिने अनुमान आयोजनाको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.