२०७८ असोज १७ गते ११:५६ विकासन्युज
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमिति सदस्य, महासंघको स्वास्थ्य तथा सीप विकास समितिको सभापति हेमराज ढकाल व्यवसायिक जगतमा परिचित नाम हो । हेरिटेज कार्पेट उद्योगबाट सफलता पाएपछि लगानीलाई विविधिकरण गर्दै ढकाल अहिले चिया उद्योगमा लाग्नु भएको छ । १५ वर्ष अघिदेखि चिया वगान सञ्चालन गर्दै आउनु भएका ढकालले गत साउनदेखि हेरिटेज ब्राण्डमा चिया उत्पादन पनि थाल्नु भएको छ प्रशोधन उद्योग लगाएर । एकातिर नेपालमा चियालाई तुलनात्मक रुपमा बढी लाभ भएको क्षेत्र, नियात गर्न सकिने, नेपालभित्रै ठूलो बजार भएको र धेरै सम्भावना बोकेको क्षेत्रको रुपमा चित्रण गरिन्छ । अर्कोतिर चिया बगानमा मजदूरले न्यून पारिश्रमिक पाएका, पारिश्रमिक नै नपाएको, उद्यमीले पनि उचित मूल्य नपाएको खबरहरु पनि आईरहेका छन् । यस्तो अवस्थामा चिया उद्योगमा किन लगानी गर्नु भयो ? चिया उद्योगको भविष्य कस्तो छ ? प्रस्तुत छ यहि विषयमा केन्द्रीत भई तयार गरिएको विकास वहस यस अंकमा ।
कार्पेट उद्योगमा सफलता चुम्दै गरेको तपाई किन चिया उद्योगमा लाग्नु भयो ?
चिया विश्वभर पपुलर पेय पदार्थ हो । यसको इतिहास पनि लामो छ । चीनमा चियाको इतिहास हजार वर्ष पुरानो छ भने यूरोप र अमेरिकामा पनि २०० वर्ष भन्दा पहिलादेखि नै चिया निकै पपुलर पेय पदार्थको रुपमा रहेको पाइन्छ । नेपालका चियाको व्यवसायिक उत्पादन शुरु भएको लगभग ४० वर्ष भयो । राजा महेन्द्रको पालामा इलाम र झापाबाट चिया खेती शुरु भएको थियो । चियाको बगानको लागि बेलाबेलामा मनसुन पनि हुनुपर्छ तर पानी जम्ने भूभागमा पनि चियाखेती हुँदैन । लु लाग्ने खालको गर्मी पनि हुनुहुँदैन । धेरै चिसोमा पनि चिया हुँदैन । त्यसैले पूर्वी नेपाल चियाको लागि उपयुक्त मानिएको छ । झापा र इलामलाई चिया जिल्ला भनेर घोषणा पनि राजा महेन्द्रको पालामा नै भएको हो । तर त्यस क्षेत्रमा चिया बगानको विकास जति हुनुपर्ने हो त्यति भएन ।
चियाखेतीको महत्व बहुआयामिक छ । चिया उत्पादनको क्रममा धेरै मजदुरहरुले काम पाउँछन् । यसको कमाईको झण्डै ६० प्रतिशत रकम किसानको हातमा पर्छ । अलैचिपछि सबैभन्दा बढी निर्यात हुने कृषिजन्य पदार्थमा चिया पर्छ नेपालको । चियाबगानले पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्छ । अरु बाली नहुने डाँडाकाँडामा पनि चियाखेती गर्न सकिन्छ । चियाखेतीलाई बातावरण मैत्री व्यवसाय भनिन्छ ।
म १५ वर्षअघिदेखि नै चिया खेतीमा थिए । मेरो परिवारका सदस्यहरु पनि चिया खेतीमा संलग्न हुनुहुन्थ्यो । यसअघि नै चिया उत्पादक संघमा तथा टी गार्डेन एशोसिएशनको अध्यक्ष भएर काम गरिसकेकोले मैले यो क्षेत्रको व्यवसायिक विकासमा पहिलादेखि नै जोड दिएको थिएँ । २०५७ सालमा राष्ट्रिय चिया विकास नीति बनाउन गठिन कार्यदलमा पनि बसेर मैले काम गर्ने मौका पाएको थिए ।
पहिले नै झापाको धुलाबारी छेऊ ज्यामिरगढीमा पौने दुई सय विगा जमिनमा चिया गार्डेन थियो । कोरोना महामारीको बेलामा देशको नाकाहरु बन्द भए । त्यसपछि नेपालमा चाहिने खाद्य पदार्थमा नेपालमा नै उत्पादन गर्नुपर्छ भन्ने माहौल बन्यो । खानै नपाएर मर्ने अवस्था त आउनु हुन्न भन्ने अनुभूति सबै नेपालीलाई भयो । बैदेशिक व्यापार घाटा कम गर्न पनि कृषिको धेरै ठूलो योगदान हुने देखियो । त्यसैले मैले पनि बगानबाट हेरिटेज ब्राण्डको चिया उत्पादन थाल्ने निर्णय गरे । गत साउनदेखि हेरिटेज ब्राण्डको चिया उत्पादन शुरु भएको छ ।
हेरिटेज चियाको उत्पादन र बजाररिकरण कसरी गर्दै हुनुहुन्छ ?
पहिलो चरणमा हामीसँग चिया बगैचा थिए । दोस्रो चरणमा हामीले चिया प्रशोधन उद्योग लगाएका छौं । हेरिटेज ब्राण्डका चिया ठूला बोरामा प्याकेजिङ गरेर होलसेलरहरुलाई बिक्री गर्दै आएका छौं । अहिले हामीले २० केजी, २५ केजी र ५० केजी तौलका बोरामा प्याकेजिङ गरेर होलसेलरलाई बेच्दै आएका छौं । कच्चा पदार्थ पनि हाम्रै गार्डेनमा छ । प्रशोधन हामी आफै गर्न थाल्यौ । तेस्रो चरणमा उपभोक्ताले रुचाएका तौलमा प्याकेजिङ गरेर बजारमा पठाउँछौं । त्यसको लागि बढीमा २ वर्ष लाग्छ ।
हेरिटेज ब्राण्ड किन रोज्नुभयो ?
शुरुमा मैले हेरिटेज ब्राण्डमा क्वेयर म्याट्रेस उत्पादन थालेँ । पछि हेरिटेज ब्राण्डमा नै ननउभन कार्पेट उत्पादन गर्यौ । पछि स्प्रीङ म्याट्रेस बनायौं । त्यसपछि इपीइ फर्म उत्पादन थाल्यौं । फर्निसिङ लाइनमा देशभर हेरिटेज ब्राण्ड चिनिएको छ । देशभर १६०० भन्दा बढी शो रुम वा पसलहरुमा हेरिटेजको उत्पादनहरु बिक्री हुदै आएका छन् । आफैले नै शुरु गरेको, आफैले नै स्थापित गरेको हेरिटेज ब्राण्डमा चिया उत्पादन गर्दा राम्रो हुन्छ । देशभर नेटवर्क विस्तार गर्न पनि सजिलो हुन्छ, ब्राण्डिङ गर्न पनि सजिलो हुन्छ भनेर हामीले हेरिटज ब्राण्डमा चिया उत्पादन थालेका हौ । हामी हेरिटेज ग्रुपको लगानीमा अन्य उत्पादन पनि लिएर बजारमा जानेछौं ।
हेरिटेज चियाको उत्पादन क्षमता कति हो ? लगानी कति भएको छ ? रोजगारी कतिले पाएका छन् ?
अहिले सिटिसी चिया उत्पादन थालेका छौं । क्रमशः ग्रिन टी, अर्थोडक्स टी उत्पादनको प्रक्रियामा छौं । शुरुको लगानी त कम नै थियो । अहिले चिया बगान खोल्न अरब भन्दा बढी लगानी गर्नुपर्छ । प्रशोधन उद्योगमा अहिले करिब ३० करोड लगानी भएको छ ।
चिया बगानमा करिब २०० परिवारले रोजगारी पाएका छन् । त्यसमा पनि हामीले स्थानीय मानिसलाई रोजगारी दिएका छौं । त्यसमा पनि उनीहरुलाई हामीले आवासीय सुविधा दिएका छौं । हरेक परिवारका लागि अलग अलग क्वाटरको व्यवस्था गरेका छौं । उद्योगमा २०० जनाले रोजगारी पाएका छन् । व्यापारमा अप्रत्यक्ष रुपमा धेरै मानिसहरु संलग्न हुन्छन् ।
हेरिटेज चियाको लक्षित बजार कुन हो ?
सबैभन्दा पहिला नेपाल नै हो । त्यसपछि हामी निर्यात गछौं । हाम्रो चियाको गुणस्तर राम्रो छ । त्यसैले निर्यात गरेर डलर पनि आर्जन गर्छौं ।
समग्र चिया उद्योगको बारेमा कुरा गरौं । एकातिर नेपालमा चियालाई तुलनात्मक रुपमा बढी लाभ भएको क्षेत्र, धेरै सम्भावना बोकेको क्षेत्रको रुपमा चित्रण गछौं । अर्कोतिर चिया बगानमा मजदूरले न्यून पारिश्रमिक पाएका, पारिश्रमिक नै नपाएको, उद्यमीले पनि उचित मूल्य नपाएको खबरहरु पनि आईरहेका छन् । यस्तो दोहोरो कुरा किन आईरहेका छन् ?
यो धेरै महत्वपूर्ण प्रश्न हो । चिया लाभ नै लाभको क्षेत्र हो, देशको पनि परिचय दिने, पर्यावरणीय हिसावले पनि राम्रो, बाँझो जमिनको प्रयोग गर्न सकिने, धेरैलाई रोजगारी दिने, निर्यात गरेर डलर आर्जन गर्न सक्ने लगायत फाइदै फाइदा यसमा छन् ।
धेरै फाइदा देखेर नै चिया खेती देशको १७ जिल्लामा फैलिएको छ । पहाडी जिल्लाहरुमा चिया खेती विस्तार हुँदै गएको छ । औपचारिक रुपमा ४० हजार हेक्टरमा चियाखेती हुने गरेको बताइन्छ, अनौपचारिक रुपमा ५० हजार हेक्टर जमिनमा चियाखेती भइराखेको अनुमान छ । तर हामीले चिया उद्योगलाई राम्रोसँग व्यवस्थापन गर्न सकेका छैनौं ।
चियामा हामीभन्दा अग्रज श्रीलंका, भारत, चीन लगायत देशबाट हामीले केही कुरा सिक्न जरुरी छ । चिया उद्योग घरेलु प्रकृतिको उद्योग हो । यसमा धेरै मानिसले काम पाउँछन् । उद्यमीले उनीहरुलाई आवासदेखि शिक्षादिक्षासम्ममा योगदान गरेका हुन्छन् । यति धेरै महत्वको उद्योग विकास गर्नको लागि सरकारले पनि काम गर्नुपर्छ । भरतको चिया विकास बोर्डले कृषि सडक बनाउन, चिया बगानमा नयाँ विरुवा लगाउन, मजदूरको क्वाटर बनाउन, उनीहरुलाई रासनको व्यवस्था गर्न, यातायात भाडामा सहुलियत दिन अर्बौ रुपैयाँ अनुदान दिने गरेको छ । हामीले पनि त्यस्तै सुविधा दिन सरकारसँग माग गरेका छौं । भारत, चीन वा श्रीलंकाले जति अनुदान नेपाल सरकारले दिन नसक्ला तर त्यसको ५० प्रतिशत अनुदान दिन त नेपाल सरकारले सक्छ नि । हामीले माटो परिणक्षको लागि ल्याब बनाइदिन सरकारसँग माग गरेको छौं । अनुसन्धानको लागि रिसर्च सेन्टर बनाइदेऊ, एउटा अक्सन सेन्टर खोलिदेऊ भनेर सरकारसँग माग गरेका छौं । व्यवसायीहरुले नसक्ने समस्या समाधान गर्नको लागि सरकारले सहयोग गर्ने हो भने यस क्षेत्रको समस्या पनि समाधान हुन्छन् । यो क्षेत्रको विकास पनि धेरै राम्रोसँग गर्न सकिन्छ ।
तपाईसँग चिया किसानदेखि चिया उद्यमीसम्मको अनुभव छ । चिया कत्तिको नाफा मुलक व्यवसाय हो ?
चिया मौलिक व्यवसाय हो । राष्ट्रको पहिचाहन बोकेको व्यवसाय हो । इज्जतको व्यवसाय हो । चिया मात्र होइन, कृषिमा आधारित कुनै पनि व्यवसायमा उच्चदरको नाफा हुँदैन । राम्रो नाफा नभएकैले चिया उद्यमीहरुमा निराशा पनि देख्न सकिन्छ । कतिले चिया छोडेर व्यवसाय नै परिवर्तन गरेका छन् । हामीकहाँ चिया किसान पनि खुशी छैनन्, मजदूर पनि खुशी छैनन र उद्यमी वा लगानीकर्ता पनि खुशी छैनन् । त्यसैले हामीले चिया उद्योगको विकासका लागि पूर्वाधारमा सरकारले लगानी बढाउनु पर्यो । मलखादको प्रबन्ध गर्नुपर्यो । चिया किसान र चिया मजदूरलाई सहुलियत दिने कृषि अनुदान कार्यक्रम सरकारले चलाउनुपर्यो । अन्तराष्ट्रिय बजारमा चियाको ब्राण्डिङ गर्न सरकारले सहयोग गर्नुपर्यो ।
तपाई नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमितिमा धेरै वर्षदेखि हुनुहुन्छ । चिया क्षेत्रको विकासका लागि महासंघको भूमिका के रह्यो ?
नेपालको जीडीपी सन् २०३० सम्ममा १०० विलियन डलरको बनाउने भनेर महासंघले भिजन पेपर बनाएको छ । त्यसमा वार्षिक ५ लाखलाई नयाँ रोजगारी दिने भनिएको छ । त्यसमा चिया बगानको योगदानको बारेमा पनि लेखिएको छ । कोरोना महामारीअघि हामी वार्षिक ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिमा थियौं । अहिले विजुलीको आपूर्ति नियमित बन्दै गएको छ । कानुनी शासनको वातावरण बन्दै छ । विदेशी लगानी क्रमशः आकर्षित भएको छ । पूर्वाधार विकासमा राज्यको लगानी वृद्धि गर्न हामीले सरकारसँग जोडदार माग गर्दै आएका छौं । पश्चिम नेपालको स्याउ पूर्वी नेपालमा पुर्याउने कठिन हुने, पूर्वी नेपालको चिया पश्चिम नेपालमा लैजान नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.