२०७८ असोज २२ गते ९:५४ विकासन्युज
काठमाडौं । काठमाडौँ महानगरपािलकाले बिहीबारदेखि उपत्यका भित्रने खसी, बोका, भेडाच्याङ्ग्राको परीक्षण सुरु गरेको छ । कामपाले पशु सेवा विभाग र वाग्मती प्रदेशको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्यमा परीक्षण सुरु गरेको हो ।
परीक्षणका क्रममा मासु खान योग्य देखियो भने सिङमा हरियो रङ लगाइन्छ । बिरामी भएर खान अयोग्य भेटियो भने सिङमा रातो रङ लगाइन्छ । बिरामी भेटिएका चौपायाको नमूना सङ्कलन गरेर परीक्षण पनि हुनेछ ।
कामापा वरिष्ठ पशु चिकित्सक डा अवधेश झाका कामपाभित्रका दसैँ लक्षित चौपाया बजार कलङ्की, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु बाइपास क्षेत्र हुन् । यी बजारमा बिहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर दुई वटा टोली अष्टमीसम्म नियमित परिचालन हुनेछन् ।
कामपाले रोगी पशुपक्षीको ओसारपसार नगर्न, तोकेको स्थानमा मात्र चौपायाको बिक्री वितरण गर्न, स्वस्थताको चिनो (हरियो रङ) भएका चौपाया मात्र खरिद बिक्री गर्न, मासुलाई चिसोमा राख्न, राम्ररी पकाएर मात्र प्रयोग गर्न सबैलाई आग्रह गरेको छ ।
कामपासँगै ललितपुरको लगनखेल (मच्छिन्द्र मावि पछाडि), भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरि (थानकोट) दाउरा डिपोका चौपाया बजारमा पनि परीक्षण हुँदैछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.