काम गर्न कानुन नै बाधक छः नगर प्रमुख महत

  २०७८ कार्तिक १० गते ११:०७     विकासन्युज

हेटौंडा उपमहानगरपालिका बागमती प्रदेशको मकवानपुर जिल्लामा पर्छ । यस उपमहानगरपालिकाका नगरप्रमुख हुन् हरिबहादुर महत । उनी नगरप्रमुखको रूपमा निर्वाचित भएर आएको ४ वर्ष पूरा भएको छ । यो बीचमा शिक्षा, स्वास्थ्य, सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरेको उनी बताउँछन् ।

यस उपमहानगरमा औद्योगिक तथा व्यापारिक क्षेत्र पनि छ । उनी भन्छन्- सीमित बजेटका कारण लक्ष्य अनुसार काम गर्न सकेनौं । तर, भएको बजेटको भरपुर सदुपयोग गरी विकासको गति अगाडि बढाएको नगरप्रमुख महत बताउँछन् । उनै नगरप्रमुख महतसँग उपमहानगरले अघि सारेका आर्थिक विकासको रणनीति, उद्यमशीलता, रोजगारी प्रवर्द्धन र औद्योगिक क्षेत्रको विकासमा पालिकाको योगदान बोरमा केन्द्रित रहेर विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् ।

अब कार्यकाल सकिन केही महिना मात्र बाँकी छ, सोचेको जस्तो काम पालिकामा गर्न सक्नु भयो कि भएन ?

हामीले सोचेको जस्तो सबै काम गर्न नेपालको कानुनी अड्चन, झन्झटिलो प्रक्रियाले गर्दा सोचे जस्तो काम गर्न सकिँदै । म चीनले कोभिड हुँदा बनाएको भवन जसरी छिटो काम गर्ने खोज्छु । तर, विभिन्न झन्झटिलो प्रक्रियाले गर्दा सोचेको जस्तो काम गर्न सकेका छैनौं । तै पनि ठुलाठुला योजनाहरू सुरुवात गरेका छौं । बहु वर्षीय योजनाहरू अगाडि बढाएका छौं । जस्तै कृषि थोक विकृता केन्द्र जुन प्रदेश र स्थानीय सरकारको लगानीमा निर्माणाधीन अवस्थामा छ । त्यो बनि सकेपछि स्थानीय तहलाई हस्तान्तरण हुन्छ ।

हेटौंडा अस्पतालमा मिर्गौलाका बिरामीहरूका लागि निःशुल्क रूपमा डायलिसिस सेवा सुरु भएको छ । उपमहानगरले करिव ५ करोड रुपैयाँ लागतमा उक्त अस्पतालको निर्माण गरी मिर्गौलाका बिरामीहरूलाई निःशुल्क रूपमा डायलिसिस सेवाको सुरुवात भएको छ । सडकलाई फराकिलो बनाउने योजनामा छौं । यातायातको चाप बढ्दै जदा ट्राफिक लोड बढ्दै गयो । अझै ट्राफिक व्यवस्थापन मिलाउनै सकेका छैनौं । हेटौंडा नगरवासीको साझा ट्राफिक समस्या हो । सो समस्याको समाधान गर्नतर्फ पनि हाम्रो ध्यान केन्द्रित छ । साबिक गाउँपालिकामा पूर्वाधार जस्तै सडक, बिजुली खानेपानी र स्वास्थ्यलाई मैले विशेष जोड दिएको थिए । यो किरव ९० प्रतिशत साबिक गाउँपालिका मिलेर हेटौडा उपमहानगरपालिका बनेको छ । सो साबिक गाउँपालिकामा पनि पूर्वाधारको विकास गर्न सफल भएका छौं । भौगोलिक प्रक्रियाले गर्दा समयमा काम गर्न सकिएन ।

हेटौंडा व्यवसायिक तथा औद्योगिक क्षेत्र पनि हो, तपाईंको कार्यकालमा व्यावसायिक वातावरण सिर्जना गर्नको लागि के-के काम भए ?

हेटौंडा नेपालको तेस्रो ठुलो औद्योगिक क्षेत्र हो । हामीले औद्योगिक क्षेत्रको विस्तार गर्नको लागि औद्योगिकीकरण नभईकन त्यसको अर्थ कृत्रिम नहुने भएका कारणले गर्दा स्थानीय तहको तर्फबाट हामीले पटक पटक अन्तरक्रिया गरेका छौं । मैले भन्ने गरेको छु, औद्योगिक तथा व्यापार व्यवसाय गर्ने चाहनेहरूको लागि कर पनि छुट गरिदिने छौं । उद्योगहरूले स्वतः कर बुझाए पनि ठिक छ, हैन भने औद्योगीकरणलाई बढाउने, रोजगारी सिर्जना गर्ने र थप नगरपालिले सहयोग गर्नु परेमा त्यो पनि गर्न तयार भनेर धेरै पटक जानकारी गराएका छौं ।

राम्रासँग सञ्चालन भएका उद्योगहरूमा हाल कुनै पनि समस्या छैन । औद्योगिक क्षेत्रमा आए समस्याको समाधान गर्नतर्फ हामी लागेका छौं । म के भन्न चाहन्छु भने आउनु होस् हेटौडामा औद्योगिक क्षेत्रहरु निर्माण गर्नु होस्, स्थानीय सरकारले के कस्तो सहयोग गर्नु पर्याे, के केमा कर छुट् गर्नु पर्याे यी सबै हामी गर्न तयार छौं । व्यावसायिक वातावरण सिर्जना गर्नको लागि उपमहानगरपालिका तत्पर छ ।

औद्योगिकीकरण र कृषिलाई यान्त्रीकरण नगरिकन हामी अगाडि बढ्न सक्दैनौं । कृषि प्रधान देश भनेका छौं खाद्यनमा परनिभर छौं । हामीले निर्यात गर्नु हो आयत हैन । हामीले कृषि क्षेत्रमा पनि यान्त्रीकरण गरेका छौं । नयाँ आधुनिक मेशिन किनेर किसानहरूको समूह गठन गरी निःशुल्क वितरण गरेका छौं । पशुपालन क्षेत्र पनि ठुलो लगानी गरेका छौं । विदेशमा गएर फर्के युवाहरू फेरी पलायन हुन नपरोस् भनेर युवाहरूको समूह गठन गरी बाख्रा, बोका, गाई निःशुल्क दिएका छौं । वडा अनुसारको पकेट क्षेत्रहरु छुट्याएका छौं । म अझै आव्हान गर्न चाहन्छु विदेश नजानुहोस् स्वदेशमा बस्नुहोस् हेटौडा बसेर हामीले कृषि क्षेत्रमा के कस्तो सहयोग गर्नु पर्छ, महानगरको तर्फबाट सहयोगको लागि तयार छ ।

स्वास्थ्य र शैक्षिक क्षेत्रमा कस्ता कामहरू भएका छन् नि ?

जब स्थानीय तहको मातहतमा शिक्षा आयो तब देखि उपमहानगरले शिक्षा क्षेत्रलाई विशेष जोड दिएर काम गरेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयका प्रधानाध्यापक र समितिसँग समयसमयमा छलफल गरिरहेका हुन्छौं । उपनगरका ९० प्रतिशत विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्न सुरु गरेका छौं । थुपै बोडिङका विद्यार्थीहरू सरकारी विद्यालयमा भर्न भएका छन् । कति पय ठाउँमा भवनको अभावका कारण भर्न पनि लिन सकेका छैनौं । विद्यार्थीलाई कसरी व्यवारिक शिक्षा दिन सकिन्छ भन्ने तर्फ हामी लागेका छौं । विद्यालयका न्यूनतम भौतिक संरचनाहरू निर्माण गरी शैक्षिक गुणस्तरमा विशेष जोड दिएका छौं भने पालिकाको शैक्षिक स्तर धेरै माथि पुगेको छ ।

हामी स्थानीय तहमा निर्वाचित भए पछि १९ ओटै वडामा सहरी स्वास्थ्य केन्द्र भनेर २० ओटा स्वास्थ्य संस्थाको स्थापना गरेका छौं । जहाँ सुत्केरी लगायत साना रोगको उपचारको लागि हेटौडा नै आउनु नपरोस् भनेर उक्त स्वास्थ्य केन्द्रको निर्माण गरेका हौं । हामीले स्वास्थ्य क्षेत्रमा पनि व्यापक काम गरेका छौं । हामीले काम गर्ने भनेको नै स्वास्थ्य, शिक्षा, पूर्वाधार विकासमा हो ।

तपाईं नगर प्रमुख भएर आएपछि कति जना बेरोजगार युवाहरुले रोजगारी पाए ?

यहाँ रोजगारी धेरै युवाहरुले पाएका छन् । तर, यतै नै युवाले रोजगारी पाए भनेका भन्न सकिएन । कृषि, पशुपालन, व्यापार, व्यवसायमा संलगन भई युवाहरूले रोजगारी मूलक बनि रहेका छन् । युवाहरूलाई निःशुल्क रूपमा लगानी गरिदिएका छौं । युवाहरूलाई लगानी गरी आत्मनिर्भर बन्नाउन खोजेका छौं । व्यवसायिक बन्न चाहने युवाहरूको लागि उपमहानगरले सहजीकरण गर्दै आएको छ ।

बजेट खर्चमा कत्तिको सफलता पाउनु भयो, बजेट खर्च अनुसारको नतिजा उपमहानगरले पायो कि पाएन ?

बजेट खर्चमा सफलता नै पाएका छौं । मलाई कामको अनुभव छ । पूर्वाधार निर्माणमा अझै बजेट खर्च गर्नु सक्छु । तर, बजेट अभावको कारण समस्या छ । हामी काम गर्नमा छिटा छौं । विकास गति अगाडि बढाउनको लागि यहाँ विवाद झगडा छैन ।

कोभिडको महामारी पनि छ, यसको नियन्त्रण तथा रोकथामको लागि उपमहानगरपालिकाले कस्तो भूमिका खेल्यो ?

उपमहानगरलाई प्रदेश र संघ सरकारले यस महामारी रोकथाम र नियन्त्रण गर्नको लागि कुनै पनि सहयोग गरेन । हाम्रो उपमहानगरपालिका पनि यस महामारीबाट अछुतो रहन सकेन । महामारी नियन्त्रण गर्नको लागि धेरै नै संघर्ष गर्नुुपर्यो । नगरमा दोस्रो चरणको प्रभाव परेसँगै विपद् व्यवस्थापन कोषमा करोडौं रुपैयाँ बजेट छुट्याएका थियौं । उक्त कोष मार्फत नै महामारीको रोकथाम र नियन्त्रण गर्नको लागि खर्च गरेका छौं । जनचेतना जगाउने, मास्क र स्यानिटाइजर वितरण गर्ने गर्नुका साथै साबुन पानीले हातधुने कार्यमा जागरण ल्याउने काम पनि गरेका छौं । बाहिरी जिल्ला वा विदेशबाट पालिकामा प्रवेश गर्नेहरूलाई परीक्षण देखि क्वारेन्टिन व्यवस्थापन गर्नमा पनि नगरले महत्वपुर्ण भूमिका निर्वाह गरेको छ । नगरमा संक्रमितको संख्या बढ्दै जाँदा कोभिड अस्पताल पनि सञ्चालनमा ल्याएका छौं ।

नगरपालिकामा पनि जब कोरोना संक्रमणको दोस्रो लहर सुरु भए लगत्तै महामारीलाई नियन्त्रण गर्नको लागि स्वास्थ्य सामाग्री तथा अक्सिजनको जोहो गर्ने, जो संक्रमित छन् उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ भने घरमै होम आइसोलेसनमा बस्न आग्रह गर्नेजस्ता काम गरेका थियौं । लक्षण देखिएका तथा शङ्कास्पद सबैको परीक्षण निःशुल्क गर्दै आएका छौं । यस महामारीलाई नियन्त्रण गर्नका लागि नगरपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेका छौं भने उच्चतम सतर्कता पनि अपनाएका छौं ।

पछिल्लो समयमा पालिकामा कोरोनाको संक्रमण पनि घट्तै गएको छ । सुरुमा सबै तिर अक्सिजनको चरम अभाव भइरहेको समयमा हामीले हेटौंडा अस्पतालमा अक्सिजनको अभाव हुन दिएनौं । कोभिडका कारण कसैले पनि दुख नपाओस् भनेर हामी दिन रात खट्यौं । विपन्न परिवारलाई उपमहानगरपालिकाले राहत पनि वितरण गरेको छ । नगरले नागरिकलाई आर्थिक सहयोग पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.