२०७८ कार्तिक ११ गते १०:३६ विकासन्युज
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवाप्रदायक संस्थाहरुलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै नेपाल विद्युत प्राधिकरणसँग पोल भाडा सम्झौता गर्न निर्देशन दिएको हो ।
प्राधिकरणले सेवा प्रदायकहरुलाई पोल प्रयोग गरेको स्थान, परिमाण र अवधि स्वघोषणा गरी सम्झौता गर्न निर्देशन दिएको छ ।
विद्युत प्राधिकरणले २०७७ मा काठमाडौं लगायतका सहरी क्षेत्रमा दोब्बर र ग्रामीण भेगमा आठ गुणाभन्दा बढीले पोलको भाडा बढाएको भन्दै सेवाप्रदायक कम्पनीहरुले बढेको मूल्य फिर्ताको माग गर्दै आएका थिए ।
बढेको मूल्य फिर्ता नहुँदासम्म बक्यौता रकम भुक्तानी नगर्ने सेवाप्रदायक कम्पनीले अडान राख्दा विद्युत प्राधिकरणले इन्टरनेटको तार समेत काटेको थियो । पटक/पटक सूचना प्रकाशन गरी बक्यौता रकम भुक्तानी गर्न आग्रह गर्दा समेत वेवास्ता गरेकोभन्दै प्राधिकरणले इन्टरनेटको तार काटेको थियो ।
इन्टरनेटको तार काटिएपछि पोलभाडा विवादलाई दीर्घकालीन समाधान गर्न संचार मन्त्रालयको सहसचिवको नेतृत्वमा ६ सदस्यीय समिति निर्माण भएको छ ।
समितिलाई पोल भाडा विवाद समाधानका लागि मंसिर १५ गतेसम्म प्रतिवेदन बुझाउने म्याद दिइएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.