‘हाम्रो पालिकाका सबै वडामा कार्यालय सहयोगीले नै सचिवको काम गर्छन्’

  २०७८ कार्तिक ११ गते १७:४०     विकासन्युज

पुथा उत्तरगंगा गाउँपालिका लुम्बिनी प्रदेशअन्तर्गत पूर्वी रुकुम जिल्लामा पर्छ । यस गाउँपालिकाका अध्यक्ष हुन् ओम प्रकाश घर्ती । उनी निर्वाचित भएर आइसकेपछि शिक्षा, स्वास्थ्य, सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरिरहेका छन् । तर, कुनै पनि वडामा सचिव नभएका कारण कार्यालय सहयोगीले सचिवको काम गरी सेवा प्रवाह गरेको अध्यक्ष घर्ती बताउँछन् । उनी अध्यक्षको रूपमा निर्वाचित भएर आएको ४ वर्ष पूरा भएको छ । यो बिचमा उनको लक्ष्यअनुसार काम नभएको भन्दै असन्तुष्टी व्यक्त गर्छन् । यसैक्रममा गाउँपालिकाले अघि सारेका विकास निर्माणका काम, सम्भावना, चुनौती, कर्मचारी व्यवस्थापन लगायत विषयमा केन्द्रित रहेर उनै अध्यक्ष घर्तीसँग विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् ।

गाउँपालिकाको अध्यक्ष भएपछिको सुरुवाती दिनलाई कसरी सम्झनुहुन्छ ?

स्थानीय तहको संरचना बनिसकेपछि गाउँपालिकाको प्रमुखको रूपमा निर्वाचित भएँ । त्यो बेला गाउँपालिकाको अवस्था निक्कै जीर्ण थियो । संघीयताको पहिलो पहिचान, कर्मचारीको व्यवस्थापन, प्रशासनिक भवन नभएको कारणले गर्दा धेरै चुनौती र समस्या भएको मलाई अनुभव छ । हामी त्यो बेला अन्योलताको साथ नै अगाडि बढ्यौं । कतिपय असहज परिस्थितिका बाबजुद हामी निर्वाचित भएको पनि चार वर्ष पूरा भएको छ ।

गाउँपालिकाको अध्यक्ष भएर काम गर्दा के–कस्ता कठिनाइहरू आइ परे ?

काम गर्दा हरेक पाइलापाइलामा कठिनाइ हुने रहेछ । हाम्रो गाउँपालिका भौगोलिक हिसाबले पनि दुर्गम छ । यहाँ सिटामोल पाउन समेत गाह्रो छ । अशिक्षित, गरिबीका कारण अझै पालिकाको मुहार फेरिन सकेको छैन । राम्रो काम मन नपराउने मान्छे पनि समाजमा छन् । अन्य स्थानीय तहको तुलनामा पालिका धेरै पिछाडिएको छ । पालिकामा धेरै समस्या छ । अझै पनि पालिकामा विकासको गतिले तीव्रता पाउन सकेको छैन ।

तपाईं निर्वाचित भएपछि गाउँपालिकाले हासिल गरेका उपलब्धि के–के हुन् ?

पूर्वी रुकुम जिल्लाको सबैभन्दा पिछडिएको गाउँपालिका हाम्रो हो । हामी निर्वाचित भएपछिको पहिलो बैठकमै शिक्षा, स्वास्थ्य, कृषि आदि क्षेत्रलाई प्राथमिकता दिएर काम गर्छौं भन्ने निर्णय गरेका थियौं । त्यो निर्णय बमोजिमनै काम भएको छ । शिक्षा क्षेत्रमा पालिकाले ५ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । उक्त बजेटबाट पालिकाले शैक्षिक गुणस्तरका लागि खर्च गर्दै आएको छ । शिक्षालाई व्यवस्थित गर्न दरबन्दी नभएको स्थानमा निमावि र माविमा अस्ताइ दरबन्दी तथा करार शिक्षकको व्यवस्था गरी पढाइलाई सहजीकरण गरेका छौं । पालिकाले २ जना इन्जिनियरी बढ्ने विद्यार्थीहरूलाई निःशुल्क पढाउँदैछ ।

हामीले पालिकाको प्रत्येक वडामा सडक पुर्याउने पहल गरी रहेका छौं । हालसम्म पालिकाको वडा नं. १०, १२, १३, १४ मा मात्र सडक सञ्जाल पुगेको छ भने अन्य वडामा सडक पुगेको छैन । पालिकामा १४ ओटा वडा छन् । यी प्रत्येक वडामा बिजुली पुर्याउने लक्ष्यमा छौं । हाम्रो कार्यकालको अन्तिमसम्ममा पालिकाको प्रत्येक वडामा बिजुली पुर्याउँछौं । तर, हाम्रो सोच र लक्ष्य अनुसार काम हुन सकेन । लक्ष्य अनुसार काम नभएको कारणले म असन्तुष्ट छु ।

अनि कृषि क्षेत्रमा कस्तो काम भएका छन् नि ?

पालिकामा परम्पराबादि कृषि खेती छ । यहाँ वर्ष भरी काम गरेर पनि खान नपुग्ने अवस्था छ । पालिकाले कृषिका विभिन्न कार्यक्रमहरू पनि अगाडि बढाएको छ । यहाँका धेरै नागरिकहरू कृषि पेशमा आधारित रहेको पाइन्छ । पालिकाले पनि कृषकहरूलाई सहयोग गरेको छ । कृषि क्षेत्रमा पनि केही समस्या भएका कारण उक्त क्षेत्रतर्फ उत्कृष्ट काम गर्न सकेका छैनौं । सकेसम्म पालिकाले कृषि क्षेत्रमा पनि राम्रो काम गर्ने प्रयास गरी रहेको छ ।

कोरोनाको पहिलो र दोस्रो लहरमा गाउँपालिकाले कति बजेट खर्च गर्याे ?

गाउँपालिकाले कोभिडको पहिलो र दोस्रो लहर रोकथाम र नियन्त्रण गर्नको लागि बजेट त धेरै खर्च गर्याे तर, बजेटको खर्च अनुसारको उपलब्धि भने देखिएन । पहिलो लहरमा नै पालिकाले लगभग ८० लाख रुपैयाँ खर्च गरेको छ । दोस्रो लहरमा कति खर्च भयो भनेर छलफल गरेका छैनौं । मलाई लाग्छ यो वर्ष पनि धेरै खर्च भएको छ ।

गाउँपालिकाले किन विकास निर्माणको काममा फड्को मार्न सकेन ?

हाम्रो पालिकामा १४ ओटा वडा छन् । झन्डै नगरपालिकाको भन्दा धेरै वडा छन् । भौगोलिक विकटता छ बजेट सीमित छ । बेजेट पनि अन्य स्थानीय तहको तुलनामा कम आउँछ । यहाँ भ्रष्टाचार मैलाएको देखिन्छ । वर्षमा ६ देखि ८ करोड रुपैयाँसम्म मात्र बजेट आउने गर्छ । यति बजेटले मात्र पालिकाको विकास सम्भव छैन । सीमित बजेटको कारणले नै पालिकामा विकास निर्माणको कामले गति लिन सकेन ।

संघ र प्रदेश सरकारले स्थानीय तहलाई हर्ने दृष्टिकोण कस्तो पाउनु भयो नि ?

संघ र प्रदेश सरकारले स्थानीय तहलाई हर्ने दृष्टिकोण फरक छ । हाम्रो पालिका भूगोलको हिसाबले पनि ठुलो छ । बजेट सीमित आउँछ । हाम्रो पालिकामा मान्छे नै छैनन्, विकास नगर्दा पनि हुन्छ भन्ने तरिकालेसंघ र प्रदेश सरकारले बुझ्यो । प्रदेशका नेताहरू पनि भोट माग्न आउँदा आकाश नै झार्दिउँला जस्तो कुरा गर्छन् । चुनावमा विजयी भएपछि वास्ता गर्दैनन् । संघ र प्रदेश सरकारसँग पनि राम्रो समन्वय हुन सकेन । संघ र प्रदेश सरकारले पनि विकसित पालिकालाई मात्र सहयोग गर्ने देखियो । दुर्गम स्थानीय तहलाई फर्केर पनि हेरेन ।

आगामी दिनका योजना के छन् ?

हामीले सञ्चालन गरेका तर पुरा नभएका केही योजनाहरू पुरा गर्ने छौं । पालिकाको प्रत्येक नागरिकको घरमा बिजुली पुर्याउने लक्ष्य राखेका छौं । स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्ने हो । हरेका क्षेत्रमा थोरै भए पनि परिवर्तन गर्नतर्फ हाम्रो ध्यान केन्द्रित छ ।

पालिकामा कर्मचारीसँगको समन्वय र कर्मचारीको अभाव अझै पनि छ र ?

कर्मचारीसँग पनि मेरो धेरै राम्रो समन्वय हुन सकेन । हालसम्म पनि पालिकाको कुनै पनि वडामा सचिव छैनन् । मेरो कार्यकाल भर सचिव पनि हुँदैन जस्तो मलाई लाग्छ । कार्यालय सहयोगीले सचिवको काम गरिरहेका छन् । हाम्रो गाउँपालिकालाई योजनाबद्ध ढंगले असफल बनाउन खोजिएको देखिन्छ । प्रमुख कार्यकारी अधिकृतले कर्मचारी माग बेलमा नगर्ने, समय सकिएपछि कर्मचारी माग गर्ने र माथिल्ला निकायले पनि बस्ता नगरेकाले समस्या भयो । कर्मचारी नभएको कारणले नै सेवा प्रवाहमा पनि समस्या भएको छ । कार्यकारी अधिकृतले कर्मचारी व्यवस्थापन गरेको छु भन्ने तर कामनै नगर्नाले समस्या भयो । दुर्गम ठाउँ भएकाले पनि कर्मचारी आउन मान्दैनन् । विकास निर्माण गर्नको लागि सबैको सहयोग चाहिन्छ तर यहाँ यस्तो भएन ।

अन्त्यमा, के भन्न चाहनु हुन्छ ?

के भन्न चाहन्छु भने हामीले राम्रो काम गर्न खोजेका थियौं । तर, त्यसलाई प्रभावकारी बनाउन सकिनौं । विकास भनेको क्रमिक रूपमा हुने कुरा पनि हो । भौगोलिक विकटता र दक्ष जनशक्तिको अभावका कारण यहाँ धेरै समस्या देखापरे । यस्ता समस्याको समाधान गर्नको लागि पालिका लागि परेको छ । यस्तो परिस्थितिमा निर्वाचित जनप्रतिनिधिले सरोकारवालाको सहभागिता, बलियो समन्वय र गतिशील नेतृत्वका माध्यमबाट थप सुधारात्मक नतिजा प्राप्त गर्न सुझबुझका साथ थप मिहिनेत गर्नुपर्छ । सदैव सुझाव, सल्लाह र साथ सहयोग गरी सहकार्य गर्नुहुन सवैमा हार्दिक अनुरोध गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.