२०७८ कार्तिक २२ गते १२:५७ विकासन्युज
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण अहिले रुद्राक्ष व्यवसाय संकटमा छ । भारतीय तथा चिनियाँ व्यापारीहरु रुदाक्ष लिन नआउँदा फलेको रुद्राक्ष धरासायी भएको व्यवसायीहरु बताउँदै आएका छन् । लामो समयसम्म भएको लकडाउन तथा निषेधाज्ञाका कारण विदेशी व्यापारीहरु नेपाल नआउँदा रुद्राक्ष निर्यात हुन सकेको छैन । हाल व्यवसायीहरुले रुद्राक्ष व्यवसायमा नीतिगत समस्याहरु पनि भएको बताउँदै आएका छन् । रुद्राक्ष व्यवसायमा भएका समस्या, समस्याको समाधान र समग्र रुद्राक्ष व्यवसायको विषयमा रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज कुमार चापागाईंसँग विकासन्युजका राजीव न्यौपानेले कुराकानी गरेका छन् ।
सुरुमा नेपालमा रुद्राक्षको व्यवसायकि खेतिको बारेमा बताइदिनुस् न ।
नेपालमा यसको सयौं वर्षको यतिहास छ । पहिले सीमित व्यक्तिले मात्रै रुद्राक्षको खेती गर्थे । दिङलाकै विषयमा कुरा गर्ने हो भने पनि रुद्राक्षको व्यवसायिक खेती गर्ने टिका प्रसाद चापागाईं, गोविन्द बस्नेत, मान बहादुर रोकायाको नाम आउँछ । पहिला पहिला रुद्राक्ष जोगी, सन्याशी आएर निःशुल्क पनि लिने गरेका थिए । धार्मिक दृष्टिकोणले निःशुल्क पनि त्यति खेर दिइन्थ्यो । २५ वर्ष अगाडिबाट व्यवसायिक रूपमा सञ्चालन भएको मेरो बुझाई छ ।
कोरोना भाइरसको समयमा रुद्राक्षको व्यापारमा कस्तो असर पर्यो ?
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण रुद्राक्ष व्यवसायमा पनि ठूलो असर परेको छ । विभिन्न समयमा भएको लकडाउन तथा निषेधाज्ञाको समयमा रुद्राक्ष खरिद गर्ने व्यापारी भारत तथा चीनबाट आउन नसक्दा पनि समस्या भयो । रुद्राक्ष बढी निर्यात हुने देशहरु भारत र चीन हुन् । त्यहाँबाट व्यापारीहरु आउन पाएनन् । गत वर्ष र यो वर्ष यसको व्यापार खस्किएको छ । यसले गर्दा यहाँका किसानलाई ठूलो समस्या परेको छ ।
रुद्राक्षको निर्यातको अवस्था कस्तो छ ?
नेपालबाट भारत र चीनमा रुद्राक्ष बढी निर्यात हुन्छ । यी दुई देशमा वार्षिक १५ देखि २० लाख केजी रुद्राक्ष निर्यात हुन्छ । राम्रो तथा ठूलो सुन्दर रुद्राक्ष बढी चीन जाने गरेको छ भने मालाको लागी धार्मिक क्षेत्रमा प्रयोग हुने खालको रुद्राक्ष भारतमा जाने गरेको छ । ठुलो मुखे भने गोटाको हिसाबमा बिक्री हुन्छ । वार्षिक ३ देखि ५ अर्ब रुपैयाँसम्म रुद्राक्षको कारोबार हुने गरेको छ । तीन–चार वर्ष अघिसम्म रुद्राक्षको कारोबार राम्रै थियो । रुद्राक्षको मूल्य बढ्दा कृषकले समेत राम्रै आम्दानी गरेका थिए । गत वर्षदेखि कारोबार खस्कँदै गएको छ ।
कोभिडका कारणले गर्दा नै विदेशी व्यापारी नआएको हो वा अन्य कुनै कारण छ ?
कोभिडका कारण नै विदेशी व्यापारी नआएका हुन् । उहाँहरु मसँग सम्पर्क हुँदा हामी आउछौं, रुद्राक्षका लागि हामी इच्छुक छौं भन्नुहुन्छ । तर, सोही देशको केही कानुनका कारण पनि उहाँहरुलाई आउन समस्या भइरहेको छ ।
रुद्राक्षको लागि ठूलो बजार चीन हो वा भारत ?
बढी रुद्राक्ष भारत नै गएको छ । हेर्दा राम्रो, गोलाइ मिलेको चिल्लो, सुन्दर प्रकृतिका ठुला रुद्राक्ष चीन तर्फ जान्छ । साधारण दानाका मालाहरू भारत तर्फ जान्छ । ठुलो मूल्य आउने रुद्राक्ष प्राय भारत नै जान्छ । १४ मुखी भन्दा माथि रुद्राक्ष चीन जाँदैन भारत तिर जान्छ । रुद्राक्षको राम्रो बजार भारत नै हो । चीनमा छानेर सीमित मात्र जान्छ ।
रुद्राक्ष व्यवसायी संघले रुद्राक्षको बजार विस्तार गर्नका लागि के कस्ता काम तथा पहल गरिरहेको छ ?
रुद्राक्ष व्यवसायलाई हामीले निकै गम्भीर रूपमा हेरेका छौं । २०७२ सालबाट रुद्राक्ष व्यवसायी संघ दर्ता भएर यसमा आवद्ध छौं । अहिले हामी यस क्षेत्रमा भएका कमि कमजोरीहरुलाई अध्ययन पनि गरिरहेका छौं । विदेशी मुद्रा भित्र्याउन रुद्राक्षले ठूलो सहयोग पुर्याएको छ । सरकारसँग पनि यस विषयको बारेमा धेरै कुरा गरेका छौं । मानिसको दैनिकीसँग अथवा धार्मिक हिसाबसँग पनि रुद्राक्ष गाँसिएको छ ।
यसको सामाग्रीहरू कति उत्पादन गर्न सकिन्छ भन्ने तर्फ पनि हाम्रो ध्यान केन्द्रित छ । हामीले दानमा लगाउने औषधी, किलिप्सहरु भारत तथा चीनबाट आयत गरी रहेका छौं । हामीले आयात गरिरहेका वस्तु स्वदेशमै बनाउनका लागि सरकारसँग पनि माग गरी रहेका छौं । सरकार समक्ष आर्थिक सहयोगको अपिल पनि गरेका छौं । अर्थमन्त्री पनि यसप्रति सकारात्मक हुनुहुन्छ । उद्योग वाणिज्य महासंघले पनि यसमा सकारात्मक छ ।
सरकारी स्तरबाट के पहल हुन जरुरी दुख्नुहुन्छ ?
पहिलो त सरकारले रुद्राक्ष व्यवसायलाई ठाउँ नै दिएको छैन । यो व्यवसाय छायामा परेको छ । हाम्रो व्यवसाय अहिले छायामा परिरहेको छ । हामीले हाम्रा कुराहरु प्रधानमन्त्री समक्ष पनि राखेका छौं । रुद्राक्षले २० लाख मानिसहरूलाई पालेको छ । ५ लाख युवाहरूलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमा नै रोजगारको सिर्जना गरेको छ ।
रुद्राक्ष व्यवसाय वर्षको एक पटक गर्ने हो । यसलाई टिप्ने बेलामा मात्र खेताला लगाए भइहाल्छ । साथै नगद आम्दानी हुने भएकोले पनि मानिसहरुको यसमा आकर्षण बढेको छ । यसको बिक्री गर्न पनि सजिलो छ । व्यापारीहरु घरमै आएर खरिद गर्छन् । रोपेपछि वर्षमा एक पटक मात्र फलको आश गर्नुपर्ने र अरू खेती व्यवसायमा जस्तो स्याहार गोडमेल गरिरहनु पर्ने नभएकाले कृषकहरू रुद्राक्ष व्यवसाय प्रति आकर्षित छन् ।
रुद्राक्ष व्यवसायले नेपालको अर्थतन्त्र बढाउनमा ठूलो सहयोग पुग्न सक्छ । विदेशी मुद्रा आर्जन गर्ने एउटा गतिलो स्रोत यो व्यवसाय बन्न सक्छ । हाम्रा माग राखिसकेका छौं । सरकारले काम गर्न मात्रै बाँकी हो ।
रुद्राक्ष व्यवसायमा भएका समस्या के हुन् ?
रुद्राक्ष क्षेत्रमा समस्या धेरै छन् । नीतिगत समस्या नै रुद्राक्ष क्षेत्र सबै भन्दा ठूलो समस्या हो । हामीले नीति नै बनाउन सकेका छैनौं । हामीले पहिलाबाट नै यसको निति बनाउन तर्फ लागेका छौं तर, स्थानीय तह, प्रदेश र संघीय सरकारको झन्झटिलो प्रक्रियाले गर्दा अलिक समस्या भइरहेको छ । अहिलेको हाम्रो मूल मुद्दा भनेको रुद्राक्ष व्यवसायलाई कृषि क्षेत्रमा हाल्नु पर्छ भन्ने हो ।
त्यसो हुँदा किसानहरूले विभिन्न अनुदान तथा सेवा सुविधाहरू पाउँछन् । हाम्रा विभिन्न मागहरुमध्ये यो क्षेत्रलाई कृषिमा समायोजित हुने बित्तिकै ६० प्रतिशत समस्या समाधान भएर जान्छन् ।
सामान्य रुद्राक्ष व्यापारीले रुद्राक्ष विदेशमा लिएर बेच्न सक्छ कि सक्दैन ?
सक्छ, हामीले भन्सारमा पनि यसको प्रक्रिया मिलाउनको लागि प्रयास गरेका छौं । भारतमा पुर्याइसकेपछि पूजा सामग्रीका रूपमा यसलाई लिइन्छ । नेपाल सरकारले पनि यसलाई सकारात्मक तरीकाले नै हेरेको छ । नेपालबाट बाहिरी देशमा रुद्राक्ष लिनको लागि समस्या छैन ।
अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य निर्धारण हुन्छ ?
अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य निर्धारण हुन अलिक अफ्यारो छ । यसको गुणस्तर, सुन्दरता तथा आकार हेरेर यसको मूल्य राखिन्छ । यसको कति मुखेको कति मूल्य भनेर तोकिन्छ ।
उन्नत दाना अर्थात बहुमूल्य रुद्राक्ष कसरी उत्पादन गन सकिन्छ ?
यसलाई उन्नत बनाउने वा ठ्याक्कै उन्नत यही हो भनेर भन्न सकिँदैन । रुद्राक्षको बिरुवाले फल दिन थालेपछि मात्र त्यसको गुणस्तर थाहा हुन्छ । उन्नत बिरुवाको कलम, ग्रफ्टीङ गरेर अन्त सारेर पनि उन्नत दानाहरू उत्पादन गर्न सकिन्छ । अधिकांश कृषक र व्यवसायी एकै खालका छन् । त्यसो हुनाले उन्नत जातको रुद्राक्ष आफै उत्पादन भएर आउने हो । कहीँबाट बनाएर ल्याएको हैन । १० वटा बिरुवा रोप्दा एक वटा बिरुवा राम्रो निस्कन सक्छ । त्यस बिरुवाबाट कलमी ग्रफटिङ गरेर बिरुवा बढाउने हो । बिरुवाले उत्पादन दिइसकेपछि मात्र त्यसको गुणस्तर मापन गर्न सकिन्छ । यो धार्मिक चिज हो भाग्यको कुरामा पनि भर पर्न सक्छ । विशेष गरी यो गाउँघरमा भन्ने गर्दछन् । कहिले एउटै बोटमा २० औं लाख रुपैयाँको रुद्राक्ष पनि फल्न सक्छ । कहिले त्यहीँ बोटमा २ हजार रुपैयाँको पनि फल्दैन ।
नेपालको कति ठाउँमा रुद्राक्ष खेति गरिन्छ, कुन ठाउँमा सबैभन्दा राम्रो रुद्राक्ष उत्पादन हुन्छ ?
रुद्राक्ष दाना दिङ्लामा नै उत्पादन राम्रो भएको मानिन्छ । षडानन्द गुरुसँग जोडिएर आएको विषय भएकाले यो निकै पुराने विषय हो । एक सय ८ प्रजातिका बिरुवाहरू रोप्ने क्रममा पछि त्यहीँबाट जान आउन थालियो भन्ने किमदन्ति छ । अहिले रुद्राक्ष ४५ वटा जिल्लामा व्यावसायिक खेति गर्न थालिएको छ ।
अन्त्यमा, रुद्राक्ष व्यसायी र कृषकलाई र सरकारलाई के सल्लाह दिन चाहनुहुन्छ ?
अहिले तीन तहको सरकार छ । सम्पूर्ण कृषक तथा व्यवसायीहरूले यो पेशालाई मर्यादित तुल्याउनको लागि र यसलाई देशव्यापी बनाउन र उत्पादन भएको संरक्षण गर्दै यसको व्यवसायलाई अभिवृद्धि गर्नको लागि आ–आफ्नो क्षेत्रबाट स्थानीय तह प्रदेश र संघीय सरकारले पनि पहल गर्न आवश्यक छ ।
रुद्राक्ष व्यवसायी संघले स्थानिय आम्दानीको स्रोत रुद्राक्षको संरक्षणको लागि स्थानिय सरकार, स्थानिय वासिन्दाहरुलाई पटक पटक यसको संरक्षणको लागि आग्रह गर्दा पनि वेवास्ता गरेको र साथ साथै २र४ जना गैर व्यवसायीको कारण व्यवसायी धराशायी हुने देखिन्छ ।
रुद्राक्षलाई विदेशमा निर्यात गर्न, व्यवसायी तथा कृषकलाई विभिन्न तालिम तथा गोष्ठीको व्यवस्था, बिक्री नभएका रुद्राक्षहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले ध्यान दिन आवश्यक छ । २/४ गैर व्यवसायीका कारण सरकार पछि पर्नु भएन । समग्र व्यापारीको हक हितका लागि काम गर्न आवश्यक छ ।
भिडियाे:
Copyright © 2024 Bikash Media Pvt. Ltd.