यो वर्षबाट युवाहरूलाई ऋण दिने कार्यक्रम ल्याएका छौं- गाउँपालिका अध्यक्ष बन्जारासँगको कुराकानी

  २०७८ कार्तिक २४ गते १६:०७     विकासन्युज

बराहपोखरी गाउँपालिका खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबाट करिब ६७ दशमलव २ किलोमिटरको दूरीमा अवस्थित छ । यस गाउँपालिकाका अध्यक्ष हुन् शालिकराम बन्जारा । उनी जनप्रतिनिधिको रूपमा निर्वाचित भएपछि गाउँपालिकाको हरेक क्षेत्रमा सुधार र परिवर्तन भएको छ । निर्वाचनका बेला घोषणापत्रमा उल्लेख गरिएका अथवा चुनावी बाचा ७० प्रति पुरा गरी सकेको पनि अध्यक्ष बन्जारा बताउँछन् । यसै क्रममा उनै अध्यक्ष बन्जारासँग पालिकाले अघि सारेका आर्थिक विकासको रणनीति, उद्यमशीलता र रोजगारी प्रवर्धनमा पालिकाको नीति, पालिकाले गरेको विकास निर्माणको काम कस्तो छ र समग्र पालिकाको विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सार :

कार्यकाल सकिन केही महिना मात्र बाँकी छ, सोचेको जस्तो काम पालिकामा गर्न सक्नु भयो कि भएन ?

खोटाङको जिल्लाको अन्य स्थानीय तहको तुलनामा हाम्रो पालिका अलिक विकट नै छ । स्थानीय तहको संरचना बनिसकेपछि गाउँपालिकाको प्रमुखको रूपमा निर्वाचित भएँ । त्यो बेला गाउँपालिकाको अवस्था निक्कै जीर्ण थियो । हामी निर्वाचित भइसकेपछि शून्य अवस्थाबाट विकासको गति अगाडि बढाएका थियौं । त्यसपछि तत्कालको आवश्यकता पहिचान गरेर काम सुरु गर्यौं । हामी सोचेको सबै काम पूर्ण रूपमा गर्न सकिएन तथापि पनि पालिकाको स्रोत, साधन र बजेटले भ्याएसम्म विकास निर्माणको काम गरेका छौं । पालिकामा विकास निर्माणको कामलाई पनि तीव्रता दिएका छौं । भौगोलिक विकटताका कारण काम गर्ने अलिक असहज भयो । सडक निर्माण गर्यो बर्खाको समयमा भत्किहाल्छ । यस्तै समस्याका कारण केही असहज अवस्था पनि आए । तर, पालिकामा पहिला भन्दा अहिले धेरै विकास भएको छ । गाउँपालिकालाई पर्यटकिय क्षेत्र रूपमा विकास गर्न ठुलो पहल गरी रहेका छौं ।

गाउँपालिकाले कृषि क्षेत्रमा कस्तो काम गरेको छ र पालिकाले यस क्षेत्रमा तर्फ हासिल गरेको उपलब्धि के हो नि ?

पालिकामा पहिला परम्परागत कृषि प्रणाली थियो भने हाल कृषिलाई आधुनिकीकरण गरेका छौं । पालिकाले कृषि क्षेत्रमा पनि राम्रो प्रगति गरेको छ । पछिल्लो समयमा यहाँका धेरै नागरिकहरु कृषि पेशामा आकर्षित भएको पाइन्छ । हामीले कृषि क्षेत्रमा पनि उत्कृष्ट काम गरेका छौं । उत्पादनमा कृषकलाई कसरी अभिवृद्धि गर्न सकिन्छ र थोरै लगानीले धेरै आम्दानी लिने तरिकाले काम गरी रहेका छौं । कृषिलाई व्यावसायिकीकरण, आधुनिकिकरण, कृषि बजारमा सहज पहुँच तथा जैविक प्रविधिहरूको संयुक्त प्रयासबाट काम गरी रहेका छौं । पालिकाले कृषहरुलाई कृषिमा उत्प्रेरणा गर्ने र प्रोत्साहित समेत गर्दै आएका छौं । किसानहरूको माग अनुसार सेवा गरिरहेका छौं । यसरी नै कृषि क्षेत्रमा पनि पालिकाको तर्फबाट व्यापक काम भएको छ ।

गाउँपालिकाको प्रत्येक वडामा सडक पुगे पनि अधिकांश कच्ची नै भएकाले त्यसलाई कालोपत्रे गर्ने अथवा स्तरोन्नती गर्न गाउँपालिकाले पहल गरेको छ कि छैन ?

सडकको कुरा गर्दा हामी निर्वाचित हुनुभन्दा अघि धाप्लाङघाटबाट वराहपोखरीसम्म ३ मिटरको बाटो थियो । उक्त सडक कच्ची भए पनि हाल ८ मिटरको बाटो बनाएका छौं । पालिकाको केन्द्रबाट सबै वडासम्म जाने सडकको निर्माण भएका छन् । गाउँपालिकाले तर्फबाट सकेसम्म सडक स्तारोन्नती गरेका छौं । कालोपत्रे गर्न गाउँपालिकाको बजेटले भ्याउँदैन । गाउँपालिकाको केन्द्रबाट प्रत्येक वडा कार्यालयसम्म जाने सडक कालोपत्रे गर्नको लागि डिपिआर गरी सम्बन्धित ठाउँमा पठाएका छौं । अहिले नै कालोपत्रे हुने सम्भावना म देख्तिनँ ।

जनप्रतिनिधिको रूपमा ४ वर्ष काम गर्दाको अनुभव कस्तो रह्यो ?

४ वर्षसम्म जनप्रतिनिधिको रूपमा काम गर्दाको अनुभव राम्रो नै रह्यो भन्नुपर्छ । राम्रो काम गर्दा धन्यवाद दिने कम हुन्छन् तर सामान्य त्रुटि भयो भने त्यसको विरोध गर्नेहरु बढि हुन्छन् । हाम्रो जस्तो विकट ठाउँमा अहिलेको परिवर्तन हेर्दाफेरी म खुसी र सन्तुष्ट नै छु ।

चुनावमा नागरिकसँग गरेका बाचा कति पुरा गर्नु भयो नी ?

चुनावमा नागरिकसँग गरिएका वाचा लगभग ७० प्रतिशत पूरा गरेका छौं । हामीले सबै कुरामा विकास शून्य अवस्थाबाट विकास गर्नुपर्याे । त्यसैले सबै कुरा हामीले पुरा गर्न सकेनौं ।

कोरोनाको पहिलो र दोस्रो लहरमा गाउँपालिकाले कति बजेट खर्च गर्याे ?

कोभिड हाम्रो पालिकामा पनि भयावह रूपमा फैलिएको छ । तर, कोभिडका कारण नै कुनै पनि नागरिकले ज्यान गुमाउनु परेन । संक्रमितको उपचार खाने, बस्ने, औषधी, राहत, क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनको लागि पहिलो र दोस्रो लहरमा ६५ लाख रुपैयाँ जति खर्च भएको छ ।

स्थानीय नागरिकहरूबाट विकासका कस्ता मागहरू आउने गरेका छन्, नागरिकका मागहरूलाई कसरी सम्बोधन गर्ने गर्नुभएको छ ?

गाउँपालिकाबाट जनताले धेरै कुराको अपेक्षा राखेका छन् । जनताको आवश्यकता, चाहना पुरा गर्नको लागि गाउँपालिका सक्रिय छ । टोलटोलमा सडक त पुग्यो तर कालोपत्रे, स्तरोन्नती भए हुन्थ्यो भने कुरा देखिन्छ । भौतिक पूर्वाधारसम्बन्धी धेरै चाहना हुन्छ । हामी जनताबाटै निर्वाचित भएर आएका हौं । जनताका विकासमा माग र आवश्यकता असीमित छन् । हामीले पनि उक्त आवश्यकताहरू पुरा गर्ने कोसिस गरिरहेका छौं । जनताले महसुस गर्ने गरी काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । पालिकामा भएको बजेटबाट स्थानीबासिको मागलाई सम्बोधन गर्ने गरेका छौं । जनताको अपेक्षा पुरा गर्नको लागि हामीले शासकको रूपमा नभई सेवकको रूपमा दिन रात खटेर आवश्यकताहरू धेरै भन्दा धेरै सम्बोधन गर्नको निम्ति लागिपरेका छौं । गाउँपालिकाले जनताको धेरै भन्दा धेरै मागहरू पुरा गर्न सफल भएको छ । हामीले पालिकामा जग बसाउने काम गरेका छौं । स्थानीय सरकारबाट यहाँका जनताहरू सन्तुष्ट हुनुहुन्छ ।

स्थानीय तहको नेतृत्व सम्हालेको ४ वर्ष पुरा हुँदा तपाईंको कार्यकालमा भएको सबैभन्दा ठुलो उपलब्धि केलाई ठान्नुहुन्छ ?

हामीले गर्नुपर्ने केही कामहरू अझ पनि बाँकी नै छन् । भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रतर्फ केही उपलब्धिहरू भएको छ । सिचाइको कामहरू भएका छन् । गाउँपालिकाको हरेका क्षेत्रमा सुधार र परिवर्तन आउनु नै मेरो कार्यकालको सबै भन्दा ठुलो उपलब्धि हो ।

अनि स्वास्थ्य र शैक्षिक क्षेत्रमा कस्ता कामहरू भएका छन् नी ?

पहिला पालिकामा सिटामोल किनेर खाने सवास्थ्यचौकी थिएन । स्वास्थ्यको सवालमा हामीले पालिकाको प्रत्येक वडामा स्वास्थ्य सेवा उपलब्ध गराएका छौं । पालिकाको प्रत्येक वडाको स्वास्थ्यचौकीमा प्रजनन् केन्द्रको स्थापना गरेका छौं । सामान्य रोगबाट जनताहरू पीडित हुनु पर्दैन । नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याएका छौं । जनताले स्वास्थ्य क्षेत्रमा पनि पहिलाको तुलनामा धेरै राहत महशुष गर्नु भएको छ ।

शिक्षा क्षेत्रको कुरा गर्दा शिक्षालाई व्यवस्थित गर्न दरबन्दी नभएको स्थानमा निमावि र माविमा अस्थायी दरबन्दी तथा करार शिक्षकको व्यवस्था गरी पढाइलाई सहजीकरण गरेका छौं । पालिकाले शैक्षिक गुणस्तरलाई विशेष जोड दिएको छ । विद्यालयका न्यूनतम भौतिक संरचनाहरू निर्माण गरी शैक्षिक गुणस्तरमा विशेष जोड दिएका छौं भने पालिकाको शैक्षिक स्तर धेरै माथि पुगेको छ ।

स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नको लागि कस्ता प्रयासहरू भएका छन् ?

स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नेतर्फ पनि हाम्रो ध्यान केन्द्रित छ । तर, हामीले रोजगारी सिर्जना गर्ने काममा अलिक पछाडि पर्यौं । यहाँका केही युवाहरू रोजगारिका लागि पलायन पनि भएका छन् । हामीले युवाहरूलाई कृषि पेशामा जोडिनको लागि आग्रह गरेका छौं । यो वर्षबाट युवाहरूलाई ऋण दिने कार्यक्रम पनि ल्याएका छौं ।

अन्त्यमा, पालिकावासीलाई के भन्न चाहनुहुन्छ ?

नेपालीहरूको महान् पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत र छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीमा उत्तरोतर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय शुभकामना व्यक्त गर्दछु ।

समृद्ध गाउँपालिका निर्माणमा एक ढिक्का भएर लाग्न सबैलाई प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.