बोर्ड राखेर टिभिको उद्घाटनः कारवाही गर्नुपर्ने आधार भेटिएन

  २०७८ मंसिर ९ गते १०:२३     विकासन्युज

काठमाडौं । यही मंसिर ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाका साथै पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसमेतले ‘टेलिभिजन’ उद्घाटन गरेका थिए ।

भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा प्रधानमन्त्री सशित पूर्व प्रधानमन्त्रीहरुले ‘पतञ्जलि नेपाल’ र ‘आस्था’ टेलिभिजन उद्घाटन गरेपछि सो टेलिभिजले अनुमति नै नलिएको तथ्य खुलेको थियो ।

नेपालमा विदेशी लगानीका सञ्चारमाध्यमहरु स्थापना र सञ्चालन गर्न पाइदैन् । प्रधानमन्त्री स्वयमले दर्ता बिनका गौरकानूनी सञ्चार माध्यमको तामझामका साथ उद्घाटन गरेको भन्दै विभिन्न आलोचना समेत भएको थियो ।

अनुमति नै नलिएको भन्ने तथ्य बाहिरिएपछि सूचना तथा सञ्चार विभागले टोलीले मण्डिखाटारमा रहेको टेलिभिजनको कार्यालयमा आइतबार आकस्मिक निरीक्षण समेत गर्याे । सो टेलिभिजनले विभागबाट प्रसारण अनुमतिपत्र र पूर्वप्रसारण अनुमति समेत नलिई टेलिभिजन उद्धघाटन गरेपछि विभागका निर्देशक सुदीप भट्टराई संयोजक रहने गरी एक समिति गठन गरेको थियो ।

टेलिभिजनको अनुगमन गरेर सो समितिले बुझाएको प्रतिवेदन अनुसार बोर्ड राखेर मात्र टेलिभिजन उद्घाटन गरेको पाइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

उनका अनुसार अनुगमन टोलिले टेलिभिजनका लागि आवश्यक पर्ने संरचनादेखि कुनै पनि उपकरण खरिद गरेको नभेटिएको जनाएका छन् । ‘बिना अनुमति आवश्यक तयारी गरेको, स्टुडियो, प्रसारका लागि आवश्यक उपकरणहरु ल्याएर जडान गरेको भए हामीले नियमानुसार कारवाही गर्न सक्थ्यौँ, तर बोड मात्र राखेर उद्घाटन गरिएको स्थानमा हामीले कारवाही गर्न मिलेन’, उनले भने ।

उनले टेलिभिजनले अनुमतिका लिनका लागि आवश्यक तयारी थालेको जानकारी गराएको बताए ।

‘टेलिभिजनको नाम जुनसुकै होस् हामीले हेर्ने कुरा भएन, तर विदेशी लगानी हुनुभएन, नेपाली लगानीमा आयोभने हामी प्रक्रिया पुर्याएर अनुमति दिन्छौँ’, उनले भने ।

अनुगमन टोलिका एक सदस्यले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री जस्तो मान्छेले बिना जानकारी टेलिभिजन उद्घाटनमा जानु नै लाजपूर्ण गतिविधि भएको बताए ।

‘हाम्रा नेताहरुलाई जसले जहाँ बोलाए पनि गएर भाषण गरे पुग्छ, कस्तो कार्यक्रम हो, कुन करा गर्दा ठिक हुन्छ केही हेक्का हुँदैन्, बोलएको ठाउँमा गएर ठूला भाषण गरे पुगिहाल्छ’, ती सदस्यले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.