केही वर्षमै हाम्रो पालिका स्मार्ट गाउँपालिका बन्न सक्छ- अध्यक्ष मन्यालसँगको कुराकानी

  २०७८ मंसिर १७ गते ८:०८     विकासन्युज

अपिहिमाल गाउँपालिका दार्चुला जिल्लामा अवस्थित छ । यस गाउँपालिकाका अध्यक्ष हुन् धर्मानन्द सिंह मन्याल । उनी गाउँपालिकाको विकास र संवृद्धिको निमित्त निरन्तर खटिरहेका छन् । पालिकावासीको जीवनस्तर उकास्न जुटिरहेका अध्यक्ष मन्याल विशेषतः कृषि, पर्यटन तथा विकास निर्माण लगायतका क्षेत्रमा उदाहरणीय काम गरिसकेका छन् । निरन्तरको प्रयास, माथिल्ला सरकारको सहयोग तथा स्थानीय आवश्यकतासँग जुध्दै गाउँपालिकाले पूर्वाधार विकासमा एक पछि अर्को गर्दै फड्को मारिरहेको मन्याल बत्ताउँछन् । निर्वाचनका बेला घोषणापत्रमा उल्लेख गरिएका अथवा चुनावी बाचा ९० प्रति पुरा गरी सकेको पनि उनले भने । उनै अध्यक्ष मन्यालसँग चार वर्षको अवधिमा पालिकाले गरेको उपलब्धि, सामाजिक रूपान्तरण, काम गर्दाका चुनौती, निर्वाचनको समयमा बोलेका कुराहरूको कार्यान्वयन लगायतका विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सार :

स्थानीय तहमा निर्वाचित भएको चार वर्ष पुरा हुँदा के कस्ता महत्वपूर्ण कार्य सम्पादन गर्नुभयो ?

स्थानीय सरकार सञ्चालन भए पछि पालिकामा धेरै विकास निर्माणको कामहरू भएका छन् । एक क्षेत्रको मात्र विकास गरेर नागरिकलाई आत्मनिर्भर र संवृद्ध बनाउन सकिँदैन भन्ने कुरा हामीले पहिला नै अनुभूति गरेको विषय हो । त्यस कारणले गर्दा हामीले आर्थिक, सामाजिक विकास, भौतिक पूर्वाधार, वातावरण संरक्षण आदि सबै क्षेत्रको विकास गरी नागरिकलाई कसरी सुखमय बनाउने भन्ने कुरामा जोड दिँदै आएका छौं । हामी निर्वाचित हुनु अगाडि चन्दा उठाएर विद्यालयहरू सञ्चालन भएका थिए । उक्त समस्याको समाधान गर्नको लागि हामीले दरबन्दी नभएको स्थानमा निमावि र माविमा अस्थाई दरबन्दी तथा करारमा एक सय ७ जना शिक्षकको व्यवस्था गरी पढाइलाई सहजीकरण गरेका छौं ।

यसका साथै शिक्षा क्षेत्रमा पनि आमूल परिवर्तन गर्नका लागि प्राविधिक शिक्षालाई बढि महत्त्व पालिकाले दिएको छ । विद्यालयका न्यूनतम भौतिक संरचनाहरू निर्माण गरी शैक्षिक गुणस्तरमा विशेष जोड दिएका छौं । पालिकाको प्रशासकीय भवन पनि निर्माणाधिन अवस्थामा छ । यसैगरी पालिकाको १३ सय घर धुरीमा स्वास्थ्य खानेपानी पुर्याउन काम अगाडि बढाएका छौं । १३ सय घरधुरी मध्ये लगभग ११ सय घरमा व्यक्तिगत धारा पुगि सकेको छ । बाँकी रहेका घरहरूमा पनि खानेपानी पुर्याउने कामलाई तीव्रता दिएका छौं भने केही महिना पछि सम्पूर्ण घरधुरीमा खानेपानी पुर्याउने लक्ष्यमा छौं ।

यसैगरी हामीले स्वास्थ्य क्षेत्रमा पनि धेरै राम्रो कामहरू गरेका छौं । पालिकाको प्रत्येक स्वास्थ्य संस्थामा प्रजनन् केन्द्रको स्थापना गरेका छौं । स्वास्थ्यसंस्थाको भवनहरु निर्माण भएका छन् । १० शैयाको अस्पताल निर्माण गर्ने काम अगाडि बढेको छ । हामीले एक मात्र क्षेत्रमा नभई समग्र पालिकाको विकास निर्माणको काममा लागेका छौं । पर्यटन क्षेत्रमा पनि महत्वपुर्ण काम भएको छ ।

अनि चुनावी बाचा कत्तिको पुरा गर्नुभयो ?

स्थानीय तहको संरचना बनि सकेपछि चुनावको बेला घोषणापत्र लिएर नागरिकको घर आँगनमा गएका थियौं । नयाँ संरचनाले गर्दा त्यति खेर जनतालाई झुटो आश्वासन दिएको थिइनौं । गर्न सक्ने काम पारदर्शी तरिकाले गर्छौं भनेका थियौं । हाल हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका ९० प्रतिशत कामहरू सकिसकेका छौं भने पालिकामा थप कामहरू भएका छन् । दक्ष कर्मचारी नहुँदा केही समस्या पनि भयो । हाल पनि पालिकको केही वडामा सडक सञ्जाल पुगेको छैन । सडक नहुँदा यातायात सञ्चालनमा समेत समस्या भएको छ । सडक निर्माण गरी नागरिकलाई सहज रुपमा यातातालको पहुँचमा पुर्याउने योजना छौं । पालिकाले पर्यटन विकासको लागि भनेर ८ हजार २ सय ८२ खुड्किला सहितको पर्यटकीय पदमार्ग निर्माण गरी रहेको छ । उक्त खुड्किला मध्ये ६ हजार खुड्किला बनिसकेको छ भने अन्य निर्माणाधिन अवस्थामा छ ।

कार्यकाल सकिन केही महिना मात्र बाँकी छ, सोचेको जस्तो काम पालिकामा गर्न सक्नुभयो कि भएन ?

विभिन्न क्षेत्रमा बिस्तारै सुधार हुँदै आएको छ । तर, हाम्रो लक्ष्य र सोच अनुसारको काम हुन सकेको छैन । हाम्रो कार्यकालमा जग बसाउने काम भएको छ । किनभने हामीले पालिकामा काम गर्नका लागि चाहिने यथेष्ट कानुनको निर्माण गरी सकेका छौं । पालिकाको प्रशासनिक भवन निर्माणको प्रक्रियामा अगाडि बढेको छ । हामीले जग बसाउने काम गरेका छौं, विकास अब क्रमिक रूपमा हुँदै जान्छ । हाम्रो कार्यकालमा सकिसकेपछि निर्वाचित भएर आउने जनप्रतिनिधिहरूले पनि यसरी नै विकास निर्माण गर्ने हो भने अबको १० वर्ष पछि स्मार्ट गाउँपालिकाको रूपमा पालिका विकास हुन्छ ।

स्थानीय तहमा गर्नुपर्ने कामका लागि बजेट व्यवस्थापनमा के कस्ता समस्याहरू छन् नि ?

पालिकामा बजेटको समस्या नै छ । भूगोलको हिसाबले हाम्रो पालिका जिल्लाकै दोस्रो ठुलो गाउँपालिका हो । जनसंख्याको सबै भन्दा न्यून छ । वर्षक ६ करोड रुपैयाँ बजेट आउँछ । यति बजेटले मात्र पालिकामा धेरै विकास गर्नमा सम्भव छैन ।

कृषिलाई व्यावसायीकीकरण गर्न गाउँपालिकासँग के-कस्ता योजना छन् ?

कृषिलाई व्यावसायीकीकरण गर्नतर्फ पनि हाम्रो ध्यान केन्द्रित छ । खासगरी हामीले पालिकाको भूगोल अनुसारको पकेट क्षेत्र छुट्याई कृषिको कामहरू अगाडि बढाएका छौं । कृषिलाई अधुनिकिकरण र व्यावसायिकीकरण गर्न नै पालिका लागेको छ । कृषि भनेको स्वास्थ्यसँग पनि जोडिनुपर्छ भनेर अर्गानिक खेतीलाई जोड दिएका छौं । कृषि क्षेत्रमा पनि धेरै राम्रो काम गरेका छौं । पालिकाले कृषकहरूलाई अनुदान पनि दिँदै आएको छ ।

तपाईं अध्यक्षको रूपमा निर्वाचित भएर आएपछि कति जना बेरोजगार युवाहरुले रोजगारी पाए ?

यहाँ रोजगारी धेरै युवाहरुले पाएका छन् । तर, यतै नै युवाले रोजगारी पाए भनेका भन्न सकिएन । पालिकाले स्थानीय रोजगार कार्यक्रम पनि सञ्चालन गरेको छ । उक्त रोजगार कार्यक्रम मार्फत पनि धेरै युवाहरूले रोजगार पाएका छन् । यस वर्षबाट उपभोक्ता समिति गठन नगर्ने प्रत्येक घरबाट एक जना युवालाई अनिवार्य रोजगार दिने व्यवस्था पनि मिलाउँदै छौं । कृषि, पशुपालन, व्यापार, व्यवसायमा संलग्न भई युवाहरूले रोजगारी मूलक बनि रहेका छन् । युवाहरूलाई लगानी गरी आत्मनिर्भर बन्नाउन खोजेका छौं । व्यावसायिक बन्न चाहने युवाहरूको लागि पालिकाले सहजीकरण गर्दै आएको छ ।

संघ तथा प्रदेश सरकारसँग कस्तो समन्वय भइरहेको छ ?

हाम्रो समन्वय राम्रै गरी भइरहेको छ । तर, संघ सरकारसँग जस्तो प्रदेश सरकारसँग समन्वय हुन सकेको छैन । किनभने प्रदेश सरकारमा भ्रस्टाचार मौलाएको देखिन्छ । प्रदेश सरकारले आफ्नै तरिकाले काम गर्ने भएकाले पनि केही समस्याहरू छन् ।

चार वर्ष जनप्रतिनिधिका रूपमा काम गर्दाको अनुभव कस्ता रह्यो ?

स्थानीय तहमा काम गर्दागर्दै हामीले सबै कुराहरू सिक्नु पर्छ । मलाई काम गर्न जाने जस्तो लाग्थ्यो तर, निर्वाचित भएर आए पछि मैले केही जनेको रहिन्छु भने अनुभव भयो । जनचाहना अनुसारको सरकार प्राप्त भएको अनुभूति गराउने गरी काम गर्नुपर्छ भन्ने तरीकाबाट हाम्रो कार्यक्रमहरू अगाडि बढेका छन् । गौरवशाली आयोजना सम्पन्न गर्ने योजना बनाएका थियौं । त्यो योजनाअनुसार काम गर्न सकेनौं । बजेट थोरै हुन्छ जनकाङक्षा धेरै हुन्छ । स-साना विकासका काम त धेरै भएका छन् । तर, स-सानो कामको नतिजा चाहिँ नदेखिने कारणले गर्दा पनि सोचेको जस्तो काम गर्न सकिएन ।

गाउँपालिकाले दार्चुला जिल्लाका अरू स्थानीय तहभन्दा नयाँ गरेको काम के हो ?

कामको प्रक्रिया हेर्दा सबैको उद्देश्य र लक्ष्य एउटै होला । गाउँपालिकाले दार्चुला जिल्लाको अरू स्थानीय तहमध्ये केही न केही त फरक गरेको महसुश गरेका छौं । सुरुवाती चरणदेखि नै पालिकालाई अलिकति फरक तरिकाले अगाडि बढाउनु पर्छ भनेर हामी लाग्यौं । हामी पूर्वाधारमा मात्रै जोड नदिएर सामाजिक, आर्थिक शक्तिकरण कसरी हुन सक्छ भन्नेमा अलिक बढि जोड दिएका हौं की भन्ने हाम्रो बुझाई हो ।

अन्त्यमा, पालिकावासीलाई के भन्न चाहनुहुन्छ ?

स्थानीय सरकार भनेको नागरिक नजिकैको सरकार हो । हामी जनतासँग प्रत्यक्ष रूपमै जोडिइरहेका छौं । त्यस कारणले गर्दा जनताको हरेक सुख दुःखमा हाम्रो साथ रहने छ । गाउँपालिकालाई संवृद्ध र नमुना बनाउन हामी सबै जना हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्न चाहन्छु । कतिपय ठाउँमा चाहेर वा नचाहेर भूगोल तथा परिस्थिति र महामारीको कारणले केही समस्या पनि आए । नागरिकहरुले हरेक दुःख तथा अप्ठ्यारोमा हामीलाई साथ दिएकोमा आभार व्यक्त गर्न चाहन्छु । हामी नागरिकका जनप्रतिनिधि हौं, त्यसैले हामीलाई यति बेला सरसल्लाह एवं सुझाव पनि दिन अनुरोध गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.