२०७८ मंसिर १८ गते १५:४९ राजीव न्यौपाने
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यअवधि चार वर्ष पूरा भएको छ । निर्वाचित भएर आएको चार वर्ष पूरा भएपनि घोषणापत्र मार्फ गरेको प्रतिवद्धताहरु पूरा गर्न भने उनीहरुलाई सकस भएकोे छ । अब एक वर्ष मात्रै समय बाँकी रहँदा उनीहरुलाई अहिले यसअघि हुने नसकेका काम गर्ने चटारो लागेको छ ।
७ सय ५३ स्थानीय तहका जनप्रतिनिधिहरूले कार्यअवधि अब केही महिना मात्रै बाँकी हुँदा घोषणापत्रमा उल्लेख प्रतिवद्धताहरु कार्यान्वयन गर्न तर्फ लागेपनि उनीहरु ती काम पूरा गर्न सकस भएको छ ।
केहीले यो अवधिमा राम्रो काम गरेको देखिएपनि अधिकांश जनप्रतिनिधिहरु भने असफल देखिएका छन् । कतिपयले आफुले घोषणा पत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु नै पुनः पल्टाएर हेरेका छैनन् ।
स्थानीय तहको निर्वाचन २०७४ बैशाख ३१, असार १४ गते र असोज २ गते गरेर तीन चरणमा सम्पन्न भएको थियो । त्यो समयमा स्थानीय तहको निर्वाचनमा पालिकाका उम्मेदवारहरूले जनताको विश्वास जित्न आकर्षक चुनावी घोषणापत्र बनाएका थिए । तर, चार वर्ष बितिसक्दा पनि उनीहरुले ती प्रतिवद्धताहरु पूरा गर्न नसकेका हुन् ।
जनप्रतिनिधिहरूले घोषणापत्रमा पालिकावासीको बृद्धभत्ता बढाउनेदेखि फ्लाई ओभर, मोनोरेल, मेट्रोरेल, फ्रि वाईफाई, सडक विस्तारदेखि स्मार्ट पालिका, शिक्षा, स्वास्थ्य, खानेपानी घरघरमा पुर्याउने, सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउनेसम्मका योजना अगाडि सारेका थिए । तर ती सबै योजना र प्रतिवद्धता घोषणा पत्रमै सीमित भएका छन् ।
निर्वाचित भएर आएको केही महिना नयाँ संघीय संरचना भएको कारणले जनप्रतिनिधिलाई काम गर्न केही समय भयो । तर, हाल धेरै स्थानीय तहमा चाहिने कानुन तथा कार्यविधि यथेष्ट बनाई विकास निर्माणको कामहरू अगाडि बढेका छन् ।
स्थानीय तहको संरचना बनि जनप्रतिनिधिहरू निर्वाचित भएपछि केही स्थानीय तहमा विकासको गतिले तीव्रता पाएको छ भने केही ठाउँमा भ्रष्टाचार मौलाएको पनि छ । दुर्गम स्थानीय तहमा बजेटको अभाव र भौगोलिक विकटताको कारण सोचेको जस्ताको काम गर्न नसकेको जनप्रतिनिधिहरू बताउँछन् । उनीहरुका अनुसार विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले पनि काम गर्न केही असहज भएको छ ।
निर्वाचनको समयमा जनप्रतिनिधिहरूले घोषणापत्र ठाउँ र अवस्था अनुसार बनाएका थिए । धेरै जनप्रतिनिधिहरूले आर्थिक वर्ष २०७८÷८९ मा पनि योजना सञ्चालन भएका तर पुरा नभएको योजना पुरा गर्ने किसिमले पनि बजेट ल्याएका छन् ।
चुनावी घोषणापत्र बमोजिम लगभग ६० प्रतिशत काम सम्पन्न भएको ताँजाकोट गाउँपालिका अध्यक्ष बाग्दाल मल्ल बताउँछन् । आगामी महिनामा गाउँपालिकाले गर्नुपर्ने बाँकी काम सम्पन्न हुने उनको भनाई छ । मल्लले कार्यकालको अन्तिमसम्ममा पालिकाको प्रत्येक नागरिकको घरमा बिजुली पुर्याउने लक्ष्य राखेको बताए । आगामी निर्वाचनमा नागरिकको घरमा बिजुली नपुर्याई भोट माग्न नआउने भनेर पनि नागरिकलाई प्रतिज्ञा गरेको उनको भनाई छ ।
यस्तै, सिरीजङ्घा गाउँपालिकाका अध्यक्ष टिका राम गुरुङ भने बोलेको कुरा सबै पुरा गर्न नसक्ने र केही हदसम्म चुनावी बाचा पुरा भएको बताउँछन् । ‘सबै वडामा सडक पुर्याउछौं भनेका थियौं, त्यो काम पुरा गरिसकेका छौं, पालिकाको प्रशासनिक भवन एक महिना भित्र पुरा गरी सक्छौं, वडा कार्यालयको भवनहरू पनि निर्माणाधीन अवस्थामा छं, केही काम गर्नै बाँकी छन्,’ उनले भने ।
पालिकामा विकास निर्माणको काममा सोचको भन्दा धेरै भएको उनी दाबी गर्छन् । गुरुङ्गका अनुसार आफूले गरेका कामबाट नागरिकहरू पनि सन्तुष्ट भएका छन् । अब पालिमा विकासको गतीले तीव्रता लिने उनको भनाई छ ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल भने चुनावी बाचा पुरा गरी सकेको बताउँछन् । पालिकाको विकास सँगसँगै नागरिकको जीवनस्तर उकास्न आर्थिक वृद्धि दर तथा दिगो विकासको लक्ष्यका साथ पालिका अगाडि बढेको उनको भनाई छ ।
‘हामी जुन पार्टीबाट लडयौं, जुन पार्टीको घोषणापत्र बोकेर हिडयौं त्यो प्रतिवद्धताहरु पनि पुरा गर्ने र सम्भवतः नेपालका स्थानीय सरकारले प्रतिबद्धता जाएर गरेका सबै काम पूरा गर्ने सरकारको रूपमा छत्रदेव गाउँपालिका नै छ,’ उनले भने ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.