२०७८ मंसिर २७ गते १६:३८ विकासन्युज
काठमाडौं । पोखरा महानगरपालिकाले प्रशासकीय भवनको शिलान्यास गरेको छ । सोमबार एक समारोहका बिच महानगरका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ्ले उक्त नयाँ भवनको शिलान्यास गरेकी हुन् ।
करिब ३ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको जग्गामा महानगरले अन्डरग्राउन्ड पार्किङसहितको ५ तले सुविधा सम्पन्न भवन बनाउन लागेको हो ।
महानगरले वडा नं ८ स्थित सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र रहेको स्थानमा नयाँ प्रशासनिक भवन निर्माण गर्न लागेको हो । भवन संरचनामा महानगरले प्रत्येक तल्लामा कार्यालयहरू, बैठक हल, प्रशासन/कर्मचारी/आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागी आवश्यक स्थान छुट्टाएको छ ।
महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले जनाएको छ ।
भवन निर्माणको लागत १९ करोड ५ लाख रुपैयाँ भ्याट बाहेक रहेको छ भने १२ करोड ५९ लाख रुपैयाँमा भवन निर्माणको ठेक्का लागेको महानगरका इन्जिनियर नरेन बस्यालले बताए ।
उनका अनुसार महानगरले गत असोज १० गते भवन निर्माणको सम्झैता गरेको थियो । सम्झौता भएको मितिले १८ महिना भित्रमा निर्माण सम्पन्न गर्ने गरी भवन निर्माणको जिम्मा दिईएको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.