उज्यालो वीरगञ्ज अभियानको ५० प्रतिशत काम सकाए मेयर सरावगीले

  २०७८ पुष ९ गते १२:५८     राजिव न्यौपाने

काठमाडौं । वीरगञ्ज महानगरले सुरु गरेको उज्यालो बीरगञ्ज अभियानको ५० प्रतिशत काम सकिएको छ । महानगर प्रमुख विजयकुमार सरावगीले विद्युत नपुगेका सबै स्थानमा विद्युत पुर्याउनको लागि ‘उज्यालो वीरगञ्ज अभियान’ सुरु गरेका थिए ।

सो अभियान अन्तरगत महानगरभित्रका विभिन्न स्थानमा गरी १४ हजार एलईडी बत्ती जडान गर्ने कार्यक्रम राखिएको नगर प्रमुख सरावगीले जानकारी दिए । अभियान अन्तरगत अहिलेसम्म ५० प्रतिशत काम सकिएको र बाँकी ५० प्रतिशत काम आगामी २ महिनाभित्रमा गरिसक्ने उनले बताए ।

‘महानगरको सबै सडक तथा चोकहरूमा अत्याधुनिक पोलमा बत्ती जडान गरी बीरगञ्जलाई बनाउने लक्ष्यले यो अभियान सुरु गरिएको हो, अहिलेसम्म हामीले आधाभन्दा बढी काम सकेका छौं, बाँकी काम २ महिनाभित्रमा सक्ने लक्ष्य राखिएको छ,’ सरावगीले विकासन्युजसँग भने ।

नगर प्रमुख सरावगीका अनुसार २४ करोड रुपैयाँको लागतमा उक्त कार्यक्रम सञ्चालन भएको थियो । हालसम्म बत्ती जडान गर्दा करिब १२ करोड रुपैयाँ खर्च भइसकेको छ ।

यो कार्यक्रम गत वर्ष नै सक्ने लक्ष्य महानगरको थियो । तर, कोभिड महामारीका कारण भएको लकडाउन, सटडाउन जस्ता कारणले काम ढिला भएको उनले बताए ।

१४ हजार एलईडी बत्ती जडान गर्ने कार्यक्रम रहेकोमा अहिलेसम्म ७ हजार बत्ती जडान भइसकेको छ । महानगरका २२ वटा वडामा बत्ती जडान भइसकेको छ भने अब १० वटा वडामा बत्ती जडान गर्न बाँकी छ । केही वडामा बत्ती जोड्ने काम भइरहेको छ ।

उज्याले वीरगञ्ज अभियान महानगरले आर्थिक वर्ष २०७५/७६ बाट सुरु गरेको थियो । सुरु गरेको तीन वर्षमा पूर्ण काम भने हुन सकेको छैन ।

बिजुलीको पोल, तार र त्यसमा प्रयोग हुने बत्ती र जडान खर्च समेत महानगरले गर्ने गरी सो अभियान सुरु भएको थियो ।

प्रत्येक महानगरवासीको घरसम्म बिजुली पुर्याउन पोल नभएको ठाउँमा पोल गाडेर बत्ती जडान गरी महानगरका सबै वडा उज्यालो पार्ने लक्ष्यका साथ अभियान सुरु गरिएको महानगरले जनाएको छ ।

जनप्रतिनिधि विहीन महानगर हुदा सो महानगर क्षेत्रमा सोलार बत्ती जडान गरेको थियो । सोलार बत्ती लामो समय नटिकेपछि महानगरपालिकाले यो अभियान सुरु सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.