विपदमा सहकारीः सुखदु:खको सहयात्री

  २०७८ पुष १० गते १३:०६     सन्ताेष राेकाया

काठमाडौं । चैतको समय । देशमा लकडाउन थियो । सवारी साधन ठप्प थिए । यात्रुबाहक सँगसँगै सरकारले मालवाहक सामानहरु ढुवानी गर्ने गाडी पनि सञ्चालन गर्न दिएको थिएन । लकडाउनको सुरुवाती थियो । यसरी ४/५ महिना लकडाउन र त्यसपछि निषेधाज्ञा हुन्छ भन्ने कसैले पनि सोचेका पनि थिएनन् ।

दिन बिते, हप्ता बिते र महिनाैं पनि बिते । तर, लकडाउन खुल्ने कुनै सुरसार भएन । सरकारले हप्तैपिच्छे लकडाउन बढाउँदै गयो । आम नागरिक घरभित्रै थिए । एकातर्फ कोरोना महामारीको डर त्रास भइरहँदा कृषकहरुलाई भने त्यो समयमै ठूलो समस्या आइलाग्यो । खेतवारीमा लगाएको तरकारी खेतबारीमै कुहिन थाल्यो ।

व्यवसायिक रुपमा गाईभैँसी पालन गर्ने कृषकको दुध घरमै थन्कियो भने कुखुरा व्यवसाय गर्ने कृषकले उत्पादनले मूल्य पाएन । ठूलो लगानी गरेर व्यवसाय गर्दै आएका उनीहरु रोगको डरभन्दा पनि आफ्नो व्यवसाय डुब्ने चिन्तामा परे ।

एउटा प्रशंग जोडौं । प्रदेश नम्बर एकको मोरङका किसानहरुलाई लकडाउनले धेरै चिन्तित बनायो । किसानले आफुले उत्पादित वस्तु (फलफूल तरकारी) बजारसम्म पु¥याउन सकेनन् । अन्ततः ती किसानहरुको उत्पादित वस्तु बजारसम्म पुर्याउनका लागि राष्ट्रिय सहकारी महासंघले सहजिकरण गर्यो ।

महासंघले मोरङमा बन्द अवस्थामा रहेको कटहरी तरकारी तथा फलफूल बजारलाई खोल्न स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय तथा ठूलो पहल गर्यो । त्यसपछि त्यहाँका किसानहरुले उत्पादित वस्तुहरु संकलन गरी मोरङको विराटनगरबाट पोखरा, काठमाडौं, भक्तपुरलगायतका ठाउँहरुमा आपुर्ति गर्ने काम सहकारीबाट भयो ।

भक्तपुरका केही सहकारीहरु मिलेर नागरिककाे घरमै तरकारी डेलिभरका लागि तयारी गरिँदै ।

त्यो तरकारी बजारिकरण गरेर त्यहाँका कृषकहरुले ५० लाखभन्दा बढी कारोबार गरको राष्ट्रिय सहकारी महासंका उपाध्यक्ष रमेशप्रसाद पोखरेल बताउँछन् ।

उनका अनुसार सहकारीले विपद्मा सूसुचित गर्ने काम मात्र गरेनन् सदस्यहरुलाई हात धुनेदेखि मास्क कसरी लगाउने भन्ने पर्चा पम्प्लेट मार्फत समेत सन्देशमूलक कूराहरु सिकाएको बताउँछन् । सहकारीहरुले विपद्मा राहत स्वरुप ब्याजदरमा छुट दिने, कर्जा लिएकाहरुलाई सहुलियत दिने र व्यवसाय गर कर्जा सहकारीबाट लेउ भन्ने नारा अगाडि सारेर धेरै काम गरेको उनले बताए ।

सहकारीको उत्पति नै विपद् सँग जोडिने भएकोले विपद्को समयमा पहिलो पटक सन् १८४४ मा बेलायतमा सुरु भएको उपभोक्ता मजदुर भण्डारदेखि वि.स २०१३ मा चितवनमा बाढी पीडितलाई राहत दिन सुरु भएको सहकारीले पनि विपद्को व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको उनी सुनाउँछन् ।

नेपालमा विभिन्न समयमा विभिन्न किसिमका विपद् तथा प्राकृतिक महामारीहरुले नागरिकलाई नराम्ररी प्रभावित गरेको छ । वि.स. २०७२ सालको विनाशकारी भूकम्प होस् वा सो वर्षकै ६ महिने भारतीय नाका बन्दी मात्र होइन अहिलेको विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले आम जनजीवनमा प्रत्यक्ष असर गर्यो ।

यसले जनजिवनमा मात्र होइन मानिसको आहारमासमेत ठूलो धक्का पुर्यायो । जसले धेरै सर्वसाधारणलाई कयौं दिनसम्म भोकभोकै बस्न पनि बाध्य बनायो । यिनै प्राकृतिक विपद् र महामारीहरुले बढी आधुुनिकताबाद र एक अर्कोलाई अटेर गर्नतर्फ लम्किरहेको व्यक्ति र सिँगो समाजलाई गज्जवको पाठ सिकायो किसहकार्य के हो ? र यो समाज के का लागि हो ?

२०७२ को भूकम्पको समयमा धेरै मानिसहरुले एक अर्कालाई आर्थिक तथा भौतिक सहयोग गरेका दृश्य प्रशस्त देखिए । त्यो माहोल भारतीय नाकाबन्दीको समयमा पनि देखियो । नाकाबन्दीले चुल्हो बाल्न नसकेकाहरुले पनि सहयोगी संघ संस्थाहरुकै कारण एक छाक टार्न पाए भने एक सरो लुगा पनि लगाउन पाए ।

भूकम्प गएको ५ वर्षपछि पुनः विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नागरिकमा एक अर्कालाई सहयोग गर्नु पर्छ भने मनसाय स्थापित गर्यो । जसले गर्दा धेरै मानिसले भोक–भोकै मर्नु परेन । तथापी यो विपदमा दुई दर्जनभन्दा बढी मानिसले खानै नपाएर ज्यान पनि गुमाउनु पर्यो ।

यी विविध प्राकृतिक विपद् तथा महामारीहरुले आम नागरिकमा केही न केही पाठ अवश्य नै सिकाएको छ । यिनै विपद् तथा महामारीमा महत्वपूर्ण जिम्मेवारी बोकेर लागि परेका संस्था हुन् सहकारी । सहकारीको मूख्य उद्धेश्य नै सहकार्य गरेर अघि बढ्नु हो ।

समाजमा हुने गरेका काम कारबाहीलाई व्यवस्थित, सामुहिक रूपमा संगठित भएर समाजको आर्थिक उत्थान, समाजमा व्याप्त गरीबी र सामाजिक विसंगतिहरूको अन्त्य गरी सहकार्य गरेर अघि बढ्नु नै सहकारीको मूख्य उद्धेश्य हो । यही मूल्य मान्यतालाई अवलम्बन गरेर सहकारीहरु अगाडि बढिरहेका छन् ।

कपनस्थित सज्जन महिला सहकारीले दृष्टि विहिनहरुलाई खाद्यान्न वितरण गर्दै ।

देशमा रहेका ३५ हजारभन्दा बढी सहकारीहरुले पनि विभिन्न समयमा हुने यस्ता विपद्को समयमा महत्वपूर्ण जिम्मेवारी तथा भूमिका निर्वाह गरेको सहकारी संस्थाहरु बताउँछन् । अहिलेको विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण यतिखेर मुलुकको अर्थतन्त्र अस्तव्यस्त छ ।

अघिल्लो वर्ष चैत ११ गतेदेखि भएको लकडाउन र त्यसपछि स्थानीय तहहरु मार्फत भएको निषेधाज्ञाले आम सर्वसाधारणको जीवन निकै कष्टकर बन्यो । अझै पनि उद्योग, कलकारखाना, व्यापार व्यवसाय राम्रोसँग सञ्चालन हुन सकेका छैनन् भने त्यसमा आवद्ध कर्मचारी तथा श्रमिकहरुले काम नपाएपछि गुजारा चलाउन मुस्किल भएको छ ।

यो समयमा बजार, उद्योग, कलकारखाना सबै बन्द रहँदा त्यसको प्रत्यक्ष एक छाक टार्ने ती श्रमिकहरुले अहिले काम पाउन सकेका छैनन् । आयास्रोतको कुनै माध्यम नभएपछि उनीहरु अब रोगले भन्दा पनि भोकले मरिने होकि भन्ने चिन्तामा छन् । यस्तो अवस्थामा सरकारले प्रभावकारी रुपमा राहत वितरण र नागरिक उत्थानका काम गर्न नसकेको आवाज पनि उठिरहेको छ ।

सरकारकै परिपूरक ठान्ने स्वायत्त संस्था सहकारीले समेत विपदका बेला नागरिकको उत्थानका लागि प्रभावकारी कदम चालेको सरोकारवाला बताउँछन् ।

विपद्ले सहकारीलाई थप मजबुद बनायोः परितोष पौडेल

बचत तथा ऋण सहकारी केन्द्रीय संघ(नेप्स्कुन)का अध्यक्ष परितोष पौडेल विभिन्न समयमा आउने गरेका विपद्ले सहकारीलाई थप मजबुुद बनाएको बताउँछन् । विपद्मा सहकारीहरुले सामाजिक उत्थानका लागि बढी काम गर्ने भएकोले त्यतिखेर सहकारीको उद्धेश्य परिभाषित हुने उनी बताउँछन् ।

सहकारीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गतस्थानीय तह, प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा आफ्नो उत्तरदायित्व जिम्मेवारीपूर्वक निर्वाह गरेको उनी बताउँछन् ।

‘सहकारी समूदायमा आधारित संस्थाहरु भएकोले समूदायको स्तरोननती तथा विभिन्न काममा सहजिकरण गर्ने भूमिका सहकारीले खेल्छन्, हामीले सदस्यहरुको आर्थिक विकास तथा आर्थिक संरक्षण गर्ने अविभारा, र उनीहरुको सामाजिक जीवन स्वस्थ र मर्यादित बनाउने दायित्व हो, यसलाई सम्बोधन गर्नको निम्ती सहजकर्ताको भूमिकामा सहकारीहरु काम गर्नु पर्ने हुन्छ र गरिरहेकै छन्,’ उनले भने ।

सहकारीले जीवनस्तरोननतीको भूमिका निर्वाह गर्न र वित्तीय समस्यालाई समाधान गर्नतर्फ भूमिका खेलिरहेको बताउँदै उनले कोरोना भाइरसको कारण उत्पन्न लकडाउन भएदेखि नै विभिन्न सहकारीहरुले सदस्यहरुलाई सहयोग गर्न फ्रण्टलाइनमा उभिएर काम गरिरहेको उनी दावी गर्छन् ।

लकडाउनको सुरुवातमा बैंकहरुले प्रभावकारी सेवा दिन सकेका थिएनन् । तर सहकारीहरुले धेरै कामहरु गरे,उनले भने,‘आवश्यक पर्दा घरघरमा पैसा पुर्याउनेदेखि उनीहरुलाई मनोसामाजिक परामर्श दिने लगायत अनेकौं काम गर्न हामी लाग्यौं ।’

विश्वभरी नै सहकारीलाई जोखिम व्यवस्थापन र विपद् व्यवस्थापन गर्नको लागि ३ तहमा विभाजन गरेकोे बताउँदै उनले पहिलो चरणमा सदस्यमा पर्ने प्रभाव, दोस्रो संघ संंस्थामा पर्ने प्रभाव र तेस्रो समुदायमा पर्ने प्रभावलाई मूल्याकंन गरेर सहकारीहरुले काम गर्ने उनले बताए ।

‘समुदायमा कस्तो प्रभाव पर्दैछ ,त्यो समुदायमा पर्ने प्रभावको व्यवस्थापन गर्नको लागि हामी सहकारीको माध्यमबाट एउटा सामाजिक ढंगले पर्ने सामाजिक पूँजी निर्माण गर्ने सन्र्दभमा रसदस्यहरुको सुःखदुःखको सहयात्री हुने सन्दर्भमा वित्तीय सहजीकरण भूमिकामा हाम्रो उपस्थिती भयो,’उनले भने ।

समाजमा वित्तीय परामर्शदेखि सदस्यहरुको मनोबल विकास गर्ने कूराहरुमा सहकारीले महत्वपूर्ण काम गरेको बताउँँदे उनले सबैलाई विपद्को समयमा सीप तथा क्षमता हस्तान्तरण गर्ने कुरामा सहकारी अघि बढेकोे उनको भनाई छ । यस्ता खालका विपद्ले सहकारीलाई थप मजबुद र स्थापित हने मौका मिलेकोे उनले बताए ।

महामारीमा घरमै पुगेर सेवा दियौंः चित्रा सुब्बा

राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्रा सुब्बाले विपद् तथा अहिलेको कोरोना महामारीको समयमा सहकारीहरुले नियमित कार्यालय खोलेर वा निश्चित व्यक्तिहरु तोकेर सेवाप्रवाह गरेको बताइन् । उनले सहकारीहरुले सदस्यहरुको घरमै पुगेर सेवा दिएको समेत बताइन् ।

‘महामारीको समयमा सहकारीहरुले सामाजिक उत्तरदायित्वलाई आधार मानेर सहयोग गरिरेहका छन्, यो समयमा कोरोना बीमा गर्ने, राहत वितरण गर्ने, स्थानीय प्रदेश र केन्द्रिय सरकालाई सहयोग लगायतका काम गरिरहेका छन्, यसले आम सर्वसाधारण नागरिक तथा सहकारीका सदस्यहरुलाई धेरै सहयोग पुगेको छ,’ उनले भनिन् ।

उनका अनुसार यो महामारीको समयमा सहकारीहरुले सरकारलाई कोरोनाको जोखिम न्यूनिकरण गर्नको लागि १० करोड बराबरको रकम सहयोग गरेका छन् ।

यस्तै उनले विभिन्न सहकारी संस्थाहरुले  विपद् ब्यवस्थापन गर्नकाे लागि कोष स्थापना पनि गरेकाे बताइन् । जसले विपद् व्यवस्थापन गर्न सहयाेग पुग्ने उनकाे बुझाई छ ।

सुरुको लकडाउनमा तरकारी तथा खाद्यान्नको अभाव जस्तो देखिएकोले त्यसको क्रृतिम अभाव कतैबाट सिर्जना हुन नदिनको लागि र नागरिकको घरघरमै खाद्यान्न तथा तरकारी पुगाउने काम सहकारीले गरेको उनको भनाई छ ।

सहकारीहरुको प्रयासले नै धेरै वस्तुको मूल्यवृद्धि हुन रोकेको उनको दावी छ । ‘धेरै सहकारीहरुले सदस्यहरुको नगद घरदैलोमा पुर्याउने काम पनि गरे, यसले सदस्य तथा आम सर्वसाधारणलाई धेरै सहयोग पुुुग्यो, झापामा पीसीआर परीक्षण गर्ने ल्याब अस्थापनाका लागि समिति नै गठन गरेर काम भयो, क्वारेन्टिनमा रहेकालाई खाना खुबाउन सहकारीले सहयोग गरे,’ यो समयमा सहकारीले धेरै प्रयास र सहयोग गरेका छन्, उनले भनिन् ।

‘कोरोनाको विषम परिस्थितिले सबै खाले रोजगारी र आयआर्जनको स्रोत बन्द भएका छन् । उत्पादनहरु घटेका छन् । जसले भोलिका दिनमा खाद्यान्न संकट निम्तिन सक्ने खतरा बढाएको छ, उनले भनेन, ‘एकातिर रोजगारीको अभाव छ भने अर्कोतिर खाद्यान्न परिपूर्तिका लागि उत्पादनमा जानुपर्ने छ । यस्तो अवस्थामा मुलुकको कृषि क्षेत्रको सुधार अपरिहार्य छ ।

‘सामाजिक उत्तरदायित्व अन्तर्गत हामीले कोभिड–१९ को महामारीमा सरकारलाई सहयोग गरेर रचनात्मक भूमिका खेलेका छौँ, विपदका बेला सहकारीहरुले उत्साहपूर्ण ढङ्गले सामाजिक काम गरेका छन् । सुरुवाती चरणमा केही समस्या देखिए पनि अहिले तयस्तो समस्या छैन,’ उनले भनिन् ।

सहकारीले धेरै काम गर्नबाँकी छः सहकारी विभाग

सहकारी संस्थाहरु नियमक निकाय सहकारी विभागले विपद्को समयमा धेरै काम गरेकोले अझै पनि धेरै गर्न नै बाँकी रहेको बताएको छ । विभागका सूचना अधिकारी सुरेन्द्र पौडेलले सहकारीहरु सदस्यहरुको सुखदुखको साथी भएकोले सहकारीले उनीहरुको हक हितका लागि धेरै काम गर्न सक्ने बताउँछन् ।

कोरोना महामारीको समयमा समस्यामा परेका सर्वसाधारण तथा आफ्ना सदस्यहरुको दु.ख पीडा सहकारीहरुले नजिकबाट हेरेको हुनाले उनीहरुको समस्याको पहिचान र समस्याको समाधान पनि सहकारीले नै छिटो गर्न सक्ने उनले बताए ।

‘विपद व्यवस्थापनमा सहकारीले महत्वपूर्ण भूमिका खेल्न सक्छन्, हुन त अहलिे पनि धेरे सहकारहिरले राम्रै काम गरेका छन्, तर, उल्लेख्य काम हुन सकेको छैन, धेरै गर्न सकिन्छ,’उनले भने ।

यो समयमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री वितरण, मास्क, सेनिटाइजरजस्ता संक्रमणबाट बँच्न प्रयोग हुने सुरक्षाका सामग्री वितरणमा केही सहकारी संस्थाहरुले गतिलो काम गरेको बताउँदै उनले विदेशबाट फर्किएकाहरुलाई क्वारेन्टाइनमा राख्नेलगायतका प्रारम्भिक सुरक्षाका उपाय अवलम्बन गर्ने र व्यवस्थापन गर्ने काममा केही सहकारी संस्थाले निकै सकारात्मक र कदरयोग्य भूमिका निर्वाह गरेको पनि बताए ।

यस्तो विपद्को समयमा आफ्ना सदस्यहरुको सोधिखोजी गरी उनीहरुको गास, बास, कपासजस्ता विषयमा ढुक्क हुने वातावरण सहकारीले मिलाउन सक्नु पर्ने उनको भनाई छ । ‘सहकारी संस्थाहरुले आफ्नो मूल सिद्धान्तअनुरुप सदस्यहरु प्रतिको जिम्मेवारी बोध अझै गर्न सकेका छैनन्, अझै सहकारीले धेरै गर्न बाँकी छ, धेरै गर्न सक्छ,’ उनले भने ।

यस्तो अवस्थामा पनि सहकारीले एम्बुलेन्स खोज्ने, बिरामीलाई अस्पतालल र्पुयाएर उसको अवस्थाबारे जानकारी गराउनेलगायत समन्वयात्मक काममा पनि अग्रसरता देखाउनु पर्ने उनको सुझाव छ । ग्रामीण क्षेत्रमा उत्पादनसँग सम्बन्धित सहकारी संस्थाहरुले आपूर्ति र वितरण प्रणालीको काम पनि सहकारीले गर्न सक्नुपर्ने उनको धारणा छ ।

उनले लाखौंको संख्यामा विदेशमा रहेका नेपाली रोजगार गुमाएर नेपाल फर्कन सक्ने भएकाले उनीहरुलाई स्वदेशमै रोजगार बनाउनका लागि सहकारीले महत्वपूर्ण भूमिका खेल्नु पर्ने पनि उनले बताए । हाल नेपालमा ६५ लाख नेपाली सहकारीका सदस्य रहेको राष्ट्रिय सहकारी महासंघले बताएको छ । नेपाली वित्तीय कारोबारको करिब २१ प्रतिशत अर्थात ७ सय अर्ब को कारोबार सहकारी संस्थाहरुले गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.