२०७८ माघ १८ गते ९:३० विकासन्युज
काठमाडौं । राम्रो र आकर्षक घर बनाएर बस्ने रहर सबैलाई हुन्छ । सुरक्षित र भूकम्प प्रतिरोधात्मक घर अहिलेको आवश्यकता पनि हो । घर बनाउन धेरै रकम चाहिन थालेको छ भने बनाउने समय पनि बर्ष दिनभन्दा बढी लाग्ने गरेको छ ।
नेपालमा भने आरसीसी घरको तुलनामा सस्तो, टिकाउ, चाँडै बनाउन सकिने र अग्नी तथा भूकम्प प्रतिरोधी प्रविधिको घर बनाउन सकिने भएको छ । यस्तो प्रविधि भने दक्षिण कोरियाली उत्पादन एसवाई प्यानलले नेपाल भित्र्याएको हो । एसवाई प्यानलले नेपालका विभिन्न ठाउँमा ७२ डिलर विस्तार गरिसकेको छ । यसवाई प्यानल के हो, यस कम्पनीले कस्तो घर बनाउँदै आएको छ, यो घर बनाउनको लागि बैंकहरुबाट कर्जा पाइन्छ कि पाइदैन भन्ने जस्ता विषयमा केन्द्रित रहेर कम्पनीका महाप्रबन्धक बिमलराज गोसाईसँग विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन्ः
एसवाई प्यानल कस्तो प्रकारको कम्पनीले उत्पादन गर्ने कस्तो प्यानल हो ?
एसवाई प्यानल कोरियन पब्लिक कम्पनी हो । यसले निर्माणको लागि चाहिने आवश्यक सामग्रीहरू उत्पादन गर्दै आएको छ । नेपालमा सन् २०१५ को भूकम्पपछि २०१६ मा यसको सम्भाव्यताको अध्ययन गरी २०१७ बाट यो कम्पनीको सुरुवात भएको हो ।
प्रत्यक्ष विदेशी लगानी मार्फत सन् २०१७ देखि हालसम्म यस कम्पनीले प्यानलहरु उत्पादन गरेर सुन्दर घरहरू बनाउँदै आएको छ । २०१७ देखि नेपालमा एसवाई प्यानल उत्पादन सुरु भएको हो । विगत ५ वर्षदेखि यस कम्पनीले कोरियन प्रविधिको प्रयोग गरी नयाँ र आधुनिक घरहरू बनाउँदै आएको छ ।
तपाईहरुले के कस्ता निर्माण सामग्रीहरु उत्पादन गर्नुहुन्छ ?
निर्माणको लागि आवश्यक सामानहरू चितवनको उद्योगबाट उत्पादन गर्छौं । उद्योगको लागि आवश्यक कच्चा पदार्थ कोरियाबाट आउँछ । कुनै कुनै कच्चा पदार्थहरु नेपालबाट पनि खरिद गर्छौं । कोरियाबाट आएको कच्चा पदार्थबाट उक्त उद्योगले घर बनाउँदा आवश्यक पर्ने सामग्रीहरू बनाउने काम गर्छ । उद्योगबाट उत्पादन भएका सामानहरू ४/५ प्रतिशत मार्जिन राखेर बेच्ने गरेका छौं । उक्त उद्योगमा घर बनाउँदा चाहिने झ्याल, ढोका, छाना लगायत वालहरु बन्छ ।
करिब ७२ करोड रुपैयाँको लगानीमा यो कम्पनी सञ्चालन भएको हो । उद्योगको क्षमता ठूलो छ । क्षमता अनुसारको उत्पादन गर्न सकेका छैनौं । कोरियाबाट नै मेशिन ल्याएर यो कारखाना स्थापना भएको हो । प्रतिदिन ५० हजार स्क्वायर फिट प्यानल उत्पादन गर्न सक्ने उत्पादन क्षमता हाम्रो छ । उत्पादन क्षमताको ३० प्रतिशत मात्रै उत्पादन भइरहेको छ ।
नयाँ प्रविधि भएकोले कतिपयले एसवाई प्यानलका विषयमा जानकारी नपाएका पनि हुन सक्छन्, अहिले माग कस्तो छ ?
नेपालमा देशभर ७२ वटा डिलर छन् । उक्त डिलरहरूबाट मासिक ४/५ करोड रुपैयाँको कारोबार भइरहेको छ । एसवाई प्यानलको प्रगति पनि राम्रो छ । सन् २०२१ मा भने अघिल्लो वर्षको तुलनामा बृद्धिदर करिब दोब्बर नै भयो । यो वर्ष ३० प्रतिशतको वृद्धि हुने अपेक्षा गरेका छौं ।
तपाईं आफै यो कम्पनीमा जोडिनु भएको कति समय भयो ? एसवाई प्यानल उद्योग कसरी सुरु भएको थियो ?
एसवाई प्यानलमा म जोडिएर काम गर्न थालेको धेरै समय नै भइसक्यो । हामी सबैलाई थाहा भएको नै कुरा हो सन् २०१५ मा विनाशकारी भूकम्प गयो । भूकम्पपछि नेपाललाई छिटो रिकभरी गर्नको लागि आधुनिक प्रविधिको आवश्यकता थियो । त्यो समयमा नेपालीसँग प्रविधि नभएको कारण केरियनहरुले यही खालको व्यापार व्यवसाय गरी सामानहरू निर्माण गरिरहेका थिए । सन् २०१६ मा यसको सम्भाव्यता अध्ययन भयो भने सन् २०१७ मा त उद्योग नै स्थापना भयो ।
एसवाई प्यानलबाट बनेका नमुना परियोजनाहरु पनि कुनै छन् ?
ठूलो परियोजनाको रूपमा लुम्बिनीमा २ हजार मानिस अट्ने मेडिटेसन हल, गोदावरीमा ६० हजार स्कवायर फिटको भवन, सशस्त्र प्रहरी बलको बीओपी करिब ८० वटा निर्माण भएका छन् । हामीले सानादेखि ठूला दुवै काम गरिराखेका छौं । करिब ३ हजार सानातिना घर निर्माण भइसकेका छन् । हामीले हालसालै ४ वटा हाइड्रोपावरका कामहरू गरिराखेका छौं । गौरीशंकर, लिखु, डोल्पाको शेर्पा हाइड्रोपावरको काम गरिरहेका छौं । हाइड्रोपावर निर्माण गर्नुभन्दा अगाडि श्रमिक, कर्मचारी क्याम्प र कच्चा पदार्थ राख्नु पर्ने हुन्छ । त्यसको लागि आवश्यक युनिटहरू हामीले बनाउछौं ।
अहिलेसम्म सबैभन्दा बढी एसवाई प्यानलका घरहरू, पोखरा, काठमाडौं, धनगढी लगायत नेपालको मुख्य शहरहरूमा बनेका छन् । यसको माग काठमाडौंमा नै बढ्दो छ । ठूला परियोजनाको काम विकट ठाउँमा हुन्छ । विकट ठाउँमा ढुवानी गर्न समस्या हुन्छ । जस्तै, हामीले सोलुखुम्बुमा मात्र ४ वटा प्रोजेक्ट सञ्चालन गरी काम गरिरहेका छौं । हाम्रो उत्पादन हल्का हुने भएको दुर्गम क्षेत्रमा ढुवानी गर्न सहज हुन्छ ।
एसवाई प्यानलको खास विशेषता के कस्तो छ ?
यो कोरियन प्रविधिको हुन्छ । यो छिटो निर्माण हुने र कम लागतमा तयार हुन्छ । हेर्दा आकर्षक र सुन्दर देखिने हुँदा प्रयोगकर्ता माझ घर बनाउन यसको माग बढ्दो छदैछ । यो प्यानलको भित्री भागमा राखेको फर्मले तातो चिसो दुवैको अग्रतालाई कायम गर्छ, जसले गर्दा जाडोयाममा न्यानो र गर्मी मौसममा व्यापक गर्मी हुनबाट रोकिन्छ, जुन फर्म इन्सोलेशन गरेको हुन्छ । जाडोयाममा शीतहरू नझर्ने, बर्खायाममा असिना पानीको आवाज पनि सुनिँदैन । यसलाई आधुनिक डिजाइनबाट निर्माण गर्न सकिने हुँदा आकर्षक देखिन्छ । यसका साथै आवश्यकता अनुसार निर्माण पछि घर सार्न मिल्छ । थोरै क्षेत्रफलमा ठूलाठूला कोठा बनाइन्छ । भूकम्पको जोखिम कम हुन्छ भने यसलाई रङ्ग लगाई राख्नु पनि पर्दैन । सजिलै आगो लाग्दैन र टिकाउ हुने भएकाले यो घर नै रोज्न सकिन्छ ।
यो घर आवश्यकता अनुसार निर्माण पछि सार्न पनि मिल्छ भन्नुभयो, कसरी सार्ने घरलाई ?
प्रिफ्याब घरहरू बनाउँदा पहिला फलामको संरचनाहरूको निर्माण गर्छौं । एसवाई प्यानलका घरहरू स्क्रू मार्फत फीटिङ गरेका हुन्छौं । जस्तै घरमा चाहिने साइज अनुसारको सामानहरू उद्योगमा बन्छ । उद्योगमा बनिसकेपछि यसको स्थापना स्क्रूबाट गर्ने भएकोले यसलाई फुकालेर अर्को ठाउँमा सार्न सकिन्छ ।
नयाँ डिलरको विस्तार कसरी गर्नु हुन्छ ?
हामी आफै निर्माण कम्पनी भयौं । हामी आफैले घरको लागि चाहिने वाल, झ्याल, ढोका निर्माण गर्छौं । हामीले देशको विभिन्न ठाउँमा रहेका निर्माण कम्पनीहरूलाई डिलरसिप दिन्छौं ।
त्यसपछि उनीहरूलाई क्षमता विकासको लागि प्यानल कसरी फिट गर्ने, फलाका ट्रस्टहरु कसरी बनाउने, रेखाचित्र डिजाइन कसरी गर्ने भन्ने लगायतको तालिम तथा प्रशिक्षण दिन्छौं । प्रशिक्षण दिइसकेपछि उनीहरूले हाम्रो उत्पादनको प्रयोग गरी घर निर्माण गर्न सक्छन् । नयाँ डिलर खोल्नको लागि इच्छुक हुनेहरू निर्माण सम्बन्धी काम गरिराखेको हुनु पर्याे । निर्माणको क्षेत्रमा अनुभवी हुन आवश्यक पनि छ ।
एसवाई प्यानलको घर कति अवधिसम्ममा निर्माण भइसक्छ ?
एक तलाको घर डेढ महिनामा निर्माण गरिसक्छौं । साढे २ तला भयो भने २ महिनाको समय अवधिमा निर्माण सम्पन्न भइसक्छ । घर बनाउने प्रक्रिया क्षेत्रफल अनुसार पनि समय अवधिमा भर पर्छ । घर बनाउने बजेटले पनि समय तल माथि हुनसक्छ । न्यूनतम एकदेखि २ महिनाभित्रमा घर निर्माणको काम सम्पन्न भइसक्छ । अझ यसको प्रयोग सरकारी भवनहरू जस्तैः सेमिनार हल, कन्फरेन्स हल, मिटिङ हल, कबर्ट हलहरू, तल्ला थप्ने, विभिन्न सरकारी भवनहरूमा यसको प्रयोग छिटो छरितो तथा थोरै बजेटमा निर्माण हुन्छ ।
एउटा घर बनाउँदा कति खर्च लाग्छ ?
हामीले ४ कोठाको एक तले घर बनायौं भने १५ देखि २० लाख रुपैयाँसम्ममा बनाउन सकिन्छ । कति तलाको घर बनाउने हो, त्यो अनुसार खर्च लाग्छ ।
कति जग्गामा यो घर बनाउन सकिन्छ ?
आफ्नो जग्गा अनुसारको जस्तो पनि घर बनाउन मिल्यो । आवश्यकता अनुसारको हामीले जग्गा नापेर योजना बनाउछौं । जग्गा अनुसारको डिजाइन पनि हामीले नै तयार गरिदिन्छौं । हाम्रो डिजाइन चित्त बुझेन भने फेरि अर्काे तरिकाबाट घर बनाउन पनि सकियो । कुनै कुनै ठूलो प्रोजेक्ट छ भने डीपीआर पनि तयार गर्नुपर्ने हुन्छ । त्यसमा चाहिँ हामी सेवा प्रदान गर्दैनौं । आवाशीय घर डिजाइन हामी आफैले गरिदिन्छौं ।
यो घर बनाउँदा नक्सा पासको जरुरी छ कि छैन ?
घर बनाउँदा धारा बत्ती जडानका लागि वडाबाट स्वीकृति लिनुपर्छ । आरसिसी घर जस्तो सबैको नक्सा पास गरी राख्नु पर्दैन । जग्गाको मापदण्ड छोडेको छ कि छैन भनेर स्वकृति लिनु पर्छ ।
एसवाई प्यानलको घर बनाएको कति अवधिसम्म टिक्छ ?
ग्राहकलाई हामीले ५० देखि ६० वर्षसम्म टिकाउ हुन्छ भनेर भन्दै आएका छौं । यो प्यानल नेपालमा आएको ५ वर्ष भएको छ । त्योभन्दा अगाडि पनि नेपालका विभिन्न कम्पनीले घर बनाउने सामाग्रीको आयात गरी घरको निर्माण गरिरहेको थियो । कोरियामा यो कम्पनी सञ्चालन भएको करिब १२ वर्ष पुरा भएको छ ।
आम नेपालीमा हेर्ने हो भने परम्परागत रूपमा बनेका आरसिसी घरप्रति विश्वास राम्रो छ, त्यो विश्वासलाई तोडेर एसवाई प्यानलबाट बनेका घर पनि बलियो हुन्छ भनेर कसरी विश्वस्त बनाउनु हुन्छ ?
अरसीसी भवन मानिसहरुले पहिलाबाट नै देख्दै आएको हो । आरसिसी भवन आउनुभन्दा अगाडि काठ, माटो र ढुङगा जडान गरी घर बन्थ्यो । यसमा आधुनिकिकरण आएपछि सिमेन्ट डन्डीहरू आयो र त्यस पछि आरसिसी घर बन्न थाले । यसको मापदण्ड नेपाल सरकारले बनाइदिने हो । स्टिलको संरचनाहरू विदेशमा प्रयोग भई यसबाट नै आकर्षक घर बनाउँदै आएको छन् । विदेशमा पनि यो घर बनाउने प्रक्रिया बढ्दो नै छ ।
सरकारले जसलाई अस्थाई भनिरहेको छ, बैंकले धितो स्वीकृत गर्ने बेलामा प्रिफ्याबको घर भनेर त्यसलाई न्यून मान्यता देला, नीतिमा नै सुधार गर्ने प्रयासमा तपाईंहरु कतिको लाग्नु भएको छ ?
नेपालमा स्टिलको संरचनालाई मूल्याङकन गर्ने दक्ष जनशक्ति एकदमै कम छ । स्टिल संरचनाको मूल्याङकन गर्नको लागि एउटा इन्जिनियरले ७ दिनसम्म कम्प्युटरमा डाटा केलाउनु पर्छ । त्यो अनुसारको हामीसँग म्यानपावर पनि एकदमै कम छ । त्यो हिसाबले पनि दक्ष जनशक्तिको अभाव हुनु स्वाभाविक नै हो । हामीले हाम्रो हिसाबमा पहल गरिरहेका छौं ।
एसवाई प्यानबाट बनेका घरहरूलाई बैंकले धितोमा राखी ऋण दिन्छ ?
यो घरको आकार विश्लेषण गरी सम्पूर्ण प्रक्रिया पुरा गर्याे भने बैंकले धितोमा राखी ऋण पनि दिन्छ । प्राय मानिसहरुले एक तले घर बनाउँछन् । एक तला घरको नक्सा पास नै गर्नु पर्दैन । साढे २ तलाभन्दा माथिको घरलाई मात्र नक्सा पास हुन्छ । घरबाट लोन आएन भने जग्गाबाट लोन आउँछ । जति पनि घर बनाइराख्नु भएको छ, त्यो घरहरू प्राय एक तले छन् ।
आरसीसी घर बनाउन निकै महंगो छ, एसवाई प्यानलको घर बनाउन सस्तो र सुरक्षित छ भनेर सर्वसाधारणलाई बुझाउने प्रयास पनि गर्नुभएको छ ?
हामीले धेरै ग्राहकलाई यही कुरा भनिरहेका हुन्छौं । घर बनाउनको लागि कसैसँग ३० लाख रुपैयाँ बजेट हुन्छ । अन्य व्यापार व्यवसाय गर्नको लागि उनीहरूलाई पुँजी पुगिरहेको हुँदैन । आरसिसी घर नै बनाउँदा पनि २/३ करोड खर्च गर्ने सोचमा हुन्छन् । तर अरू काम गर्नको लागि पुँजी पुगिरहेको हुँदैन । धेरै जना ग्राहकलाई हामीले घर भनेको उत्पादन नहुने ठाउँ हो, बस्नलाई चाहिने ठाउँ हो भनेर सम्झाइरहेका पनि हुन्छौं ।
हामीले जग्गा अनुसारको आकर्षक घर बनाउनु होस् भनिरहेको हुन्छौं । जस्तै बहुतले घर बनाएको हुन्छ, त्यसबाट आएको भाडाले घर बनाउनको लागि बैंकबाट लिएको ऋणको व्याज तिर्न पनि पुगिरहेको हुँदैन । त्यस्तो अवस्था हो भने धेरै ऋण लिएर किन ठूलो घर बनाउनु पर्यो भनेर हामी सम्झाइरहेका हुन्छौं । हामीलाई चाहिने भनेको एक तलाको चिटिक्क परेको घर हो । घर बनाउनबाट बचेको रकमले अन्य आवश्यकताहरू टार्न मिल्यो । घर भनेको उत्पादन नहुने ठाउँ हो, धेरै बजेट खर्च गर्नु आवश्यक छैन । थोरै रकमले राम्रो आकर्षक घर बनाउँदा अहिलेको समयमा राम्रो पनि हुन्छ ।
एसवाई प्यानलको घर बनाउन चाहने वा यसका बारेमा बुझ्न खोज्नेले तपाईहरुलाई कसरी सम्पर्क गर्ने ?
हाम्रो प्रधान कार्यालय तीनकुनेमा छ । उक्त कार्यालयमा आएर पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ । चितवनको रत्ननगरमा उद्योग र अफिस छ । त्यहाँबाट पनि जानकारी लिन सकिन्छ । देशका विभिन्न ठाउँमा हाम्रा डिलरहरु छन् । डिलरहरुबाट पनि आवश्यक जानकारी लिन सकिन्छ । आजको सुचना प्रविधिको युगमा सामाजिक संजाल लगायतका संयन्त्र मार्फत जानकारी लिन सहजै छ ।
भिडियाे:
Copyright © 2024 Bikash Media Pvt. Ltd.
I am interested
Surkhat ma delar 6 me chayna jankare Pau na