अपाङ्ग व्यक्तिलाई डिजिटल परिचय-पत्र दिँदै आएका छौं- उपप्रमुख भट्ट

  २०७८ माघ २० गते १७:५०     विकासन्युज

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख हुन् सुशीला मिश्र भट्ट । उनी उपप्रमुखको रूपमा निर्वाचित भएर आएको करिव साढे ४ वर्ष पूरा भएको छ भने कार्यअवधि सकिन केही महिना मात्र बाँकी छ । नागरिकका स–साना समस्याको समाधान गर्न तथा विकास निर्माणको काममा उनले उदाहरणीय काम गरिसकेका छिन् । आवश्यक नीति र विकास निर्माणका कार्यमा स्थानीयलाई सहभागी गराई उनिहरुले सजिलै विकासको प्रतिफल उपभोग गर्न पाउन् भन्ने उद्देश्यले स्थानीय तहमा काम गरेको उपप्रमुख भट्ट बताउँछिन् ।

यो अवधिमा उपमहानगरपालिका भित्र भएका विकासका काम कारबाही, उपलब्धि, कार्यकालको समीक्षा, यो अवधिसम्म आइपुग्दा पूर्वाधार विकासतर्फ भएको काम, निर्वाचनको समयमा बोलेका कुराहरूको कार्यान्वयन लगायत समसामयिक विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिब न्यौपानेले उनै उपप्रमुख भट्टसँग कुराकानी गरेका छन् ।

स्थानीय तहमा जनप्रतिनिधिको रूपमा निर्वाचितको ५ वर्ष पूरा हुनै लाग्यो । जनताको माग पुरा गर्न कत्तिको सहज भयो ?

सुदूरपश्चिम प्रदेशकै सबै भन्दा बढी जनसंख्या भएको उपमहानगर धनगढी हो । उपमहानगरपालिका जनसंख्या साथसाथै भूगोलको हिसाबले पनि ठुलो छ । विकास निर्माणको काम पालिकाले जति नै धेरै गरेपनि जनताको इच्छा पुरा गर्न कहिल्यै सकिँदैन । किनभने जनताको इच्छा एक पछि अर्की गर्दै बढ्दै जान्छ । स्थानीय तहमा निर्वाचित भएर उपप्रमुखको जिम्मा पाएपछि जनताको आवश्यकता र इच्छा अनुसार नै काम गर्दै आएका छौं । कहिल्यै पनि विकास भन्ने कुरापुरा हुँदैन, विकास निर्माणको काम निरन्तर चलिरहने भएकाले जनअपेक्षा बढ्नु स्वाभाविक नै हो ।

जनताको इच्छा आकाङ्छा पुरा गर्ने स्रोत र साधन नेपाल सरकारसँग नै छैन, यो एउटा उपमहानगरपालिका हो । उपमहानगरमा भएको स्रोत, साधनको र बजेटको अधिकतम सदुपयोग गरी विकास निर्माणको काम धेरै भन्दा धेरै गर्न सफल भएका छौं । उपमहानगरपालिकाले भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा उलेखनिय काम गरेको छ ।

उपमहानगरपालिकामा सबै भन्दा ठुलो समस्याको रूपमा डुबानको छ । समतल भूमि भएकाले वर्षयाममा यहाँ डुबान र कटानको ठुलो समस्या छ । ती भइपरी आउने समस्यालाई समाधान गर्न उपमहानगरलाई हम्मेहम्मे परेको देखिन्छ । डुवानाको समस्यालाई दिगो रूपमा हल गर्न सकेका छैनौं । उक्त समस्यालाई समाधान गर्नको लागि धेरै ठुलो बजेटको आवश्यक पर्छ । खोलालाई मिचेर व्यक्तिहरूले धेरै तिर घरहरू बनाएका छन् । यसमा सरकारी कार्यालयहरूको पनि संलग्नता रहन सक्छ ।

जनताले दोष दिने सरकारी क्षेत्रलाई नै हो । हाम्रो अगाडिको सबै भन्दा ठुलो चुनौतीको रूपमा डुबान रहेको छ । यसका समस्या समधान गर्नको लागि पनि उपमहानगरपालिका लागि परिरहेको छ । विकास भनेको निरन्तर चली रहने प्रक्रिया हो । यो अवधिसम्ममा उपमहानगरले विकासको खाका तयार पारिसकेको छ । हामीले विकास निर्माणको काममा पूर्वाधार विकासमा मात्र धेरै महत्त्व दिएका हुन्छ भने उपमहानगरले पूर्वाधार साथसाथै सामाजिक विकासतर्फ पनि उत्तिकै ध्यान दिएको छ । उपमहानगरपालिकाले जनअपेक्षा अनुसार नै काम गरेको छ । त्यस कारणले गर्दा हामीले आर्थिक, सामाजिक विकास, भौतिक पूर्वाधार, वातावरण संरक्षण आदि सबै क्षेत्रको विकास गरी नागरिकलाई कसरी सुखमय बनाउने भन्ने कुरामा जोड दिँदै आएका छौं ।

न्यायिक क्षेत्रमा कस्तो काम गर्नुभएको छ नि ?

धनगढी उपमहानगरपालिकामा निर्वाचित भइसकेपछि समग्र क्षेत्रमा काम गरेका छौं । झन् हामीले न्यायिक क्षेत्रमा काम नगर्ने भन्ने त कुरै आएन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार न्यायिक क्षेत्रमा उल्लेख गरिएका कुराहरूलाई उबलम्बन गर्दै अगाडि बढेका छौं । न्यायिकसमितिलाई हामीले एकदमै राम्रो तरीकाले सञ्चालन गरेका छौं । संस्थागत सो मुल्याङनमा पनि सबै भन्दा बढी अंक न्यायिक समितिलाई मिलेको छ । न्यायिक समितिमा घर–जग्गा, सम्बन्ध विच्छेद, लेनदेन, पशुपक्षीसम्बन्धी, घरायसी झै–झगडा, घरबहाल, सीमा विवाद जस्ता मुद्दा आउने गरेका छन् । जनतालाई छिटोभन्दा छिटो न्यायको पहुँच भनेर वडाका मेलमिलापकर्तालाई पनि सक्रिय बनाएका छौं ।

उपमहानगरपालिका भित्र ९० वटा मेलमिलाप कर्ताहरू छन् । जसलाई हामीले कोभिडको समयमा पनि कसैलाई समस्या नपरोस् भनेर सक्रिय अवस्थामा राख्यौं । कोभिडको समयमा पनि महानगर भित्रको न्यायिक समिति केही हतसम्म खुल्ला थियो । अपाङ्गता भएका व्यक्तिलाई पनि उपमहानगरले सहयोग गरेको छ । अपाङ्ग भएका व्यक्तिलाई डिजिटल परिचय पत्र दिँदै आएका छौं । ताकी उनीहरूले नेपाल भित्र उक्त पत्रको काम लाग्न सकोस् । अपाङ्ग भएका व्यक्तिलाई आवश्यक पर्न सामाग्रहरु पनि वितरण गर्दै आएका छौं । हामीले गरेको न्याय सम्पादन वास्तविक पीडितको न्याय हुनुपर्छ भनेर मैले काम गरेको छु । समग्र पीडितले न्याय पाउनु पर्याे, दोषीलाई सजाय हुने तरिकाले न्यायिक प्रणालीमा काम गरी रहेका छौं ।

निर्वाचनका बेला गरिएका प्रतिबद्धता पुरा गर्नुभयो ?

हामीले गरेका संकल्प र प्रतिबद्धताहरू सबै पूरा गरेका छौं । केही प्रतिबद्धता पुरा गर्न पनि बाँकी छन् भने बाँकी रहका प्रतिबद्धता पनि हाम्रो कार्यकाल भित्र नै पुरा गर्छौं । कतिपय कुराहरू चुनावी बाचा भन्दा पनि बढी भएका छन् । आफ्नो साढे ४ वर्षको कार्यकालमा जनताले सोचेको र जनतासँग वाचा गरे भन्दा धेरै काम गरेका छौं । सडक निर्माण, शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि महानगरले उल्लेख्य काम गरेको छ । उपमहानगरले रोजगारी सिर्जना गर्न, विकासलाई तीव्रता दिनका लागि काम गरिरहेको छौं । जनता सामु गरेका प्रतिबद्धता पनि धेरै हदसम्म पुरा गर्न सफल भएका छौं भन्ने हामीलाई लागेको छ ।

कार्यकालको बाँकी अवधिमा सम्पन्न हुने अर्थात् यो चाहिँ मेरै कार्यकालमा पूरा भयो भनेर देखाउने कुनै काम छ ?

हामीले पालिकामा सञ्चालन गरेका तर काम पुरा नभएका योजनाहरू धेरै छन् भने केही योजनाहरू निर्माणाधीन अवस्थामा पनि छन् । यी योजनाहरू पुरा गर्नतर्फ पनि लागेका छौं । कार्यकाल भित्रमा पालिकामा विकास निर्माणको देखि लिएर हरेक क्षेत्रमा काम भएका छन् । खानेपानी नागरिकको घरमा पुर्याउने काम भएका छन् । पुलहरू तयारहरू भएका छन् । पालिकामा गर्नुपर्ने काम अझै धेरै छ, तर ककपनि बिस्तारै एकपछि अर्को काममा सफलता पालिकाले पाउँदै छ ।

कोरोनाको संक्रमण पुन बढ्न थालेको छ, यसको रोकथाम र नियन्त्रण गर्नका लागि उपमहानगरपालिकाले के काम गरी छ ?

उपमहानगरपालिले कोभिडको अवधि देखि निरन्तर प्रत्येक वडा–वडामा निःशुल्क परीक्षणको व्यवस्थापन मिलाएको छ । कोरोना रोकथाम र उपचार र नियन्त्रणका लागि क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन देखि नागरिकहरूलाई यातायातको व्यवस्थासँगै जनचेतनाका कार्यक्रम पनि गर्दै आएको छ । हाल पालिकाले खोप लगाउने कामलाई उच्च प्राथमिकता दिएको छ । पालिका भित्र खोपका विभिन्न चरणहरू लगाउने काम धमाधम चली रहेको छ । कोरोना रोकथाम र नियन्त्रण गर्नमा उपमहानगरपालिका अहोरात्र खटेर काम गरेको छ । मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरूलाई कारबाही पनि गरेका छौं । यस्तै प्रशासनले स्वास्थ्य मापदण्ड पालना गरेको वा नगरेको बारे अनुगमन पनि गरेको छ ।

कार्यकालको अन्तिम वर्षमा आइपुग्दा गर्न नसकेका काम के–के हुन् ?

लगभग सोचेका सबै काम त भएका छन् । तर, मैले महिलाहरूको लागि एउटा पार्क बनाउन खोजेको थिए । ताकी उक्त पार्कमा महिलाहरू बस्नसकुन्, उनीहरूले बालबच्चालाई स्तनपन गर्न सहज होस् भन्ने योजना बानाएको थियो । बजेट अभावको कारणले मैले यो काम गर्न सकिन ।

यो अवधिमा सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुर्याउन सफल हुन भयो ?

सिंहदरबार भनेको अधिकारको कुरा हो । सिंहदरबारको अधिकार सिंहदरबारसँगै हुन्छ । स्थानीय तहलाई दिएको अधिकारहरू हामीले नागरिकको घरघरसम्म पुर्याएका छौं । किन भने स्थानीय तहको एउटा सञ्जाल छ । उपमहानगरपालिका भित्र १९ वटा वडा छन् । ति वडाबाट पाउने सेवा सुविधा हामीले नागरिकको घरघरमा पुर्याएका छौं । पहिला एउटा योजनाको सिफारिस लिनको लागि जिल्ला सदरमुकाम जानु पर्दथियो । हाल उक्त सिफारिस वडाबाट प्राप्त हुन्छ । मेरो विचारमा त संविधान र स्थानीय शासन सञ्चालन ऐनको आधारबाट हेर्न हो भने सिंहदरबार गाउँमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.