२०७८ फागुन २ गते १४:४५ विकासन्युज
तीन दशकसम्म राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका बैंकर ज्योतिचन्द्र ओझा हाल आरएमडीसीको सीईओको रुपमा कार्यरत छन् । राष्ट्रिय वाणिज्य बैंकमा वि.स २०४० सालमा ७औं तहको अधिकृतको रुपमा प्रवेश गरेका उनले २०७० सालमा सोही बैंकको कार्यकारी निर्देशकबाट अनिवार्य अवकाश पाए । राष्ट्रिय वाणिज्य बैंकमै हुँदा उनले नेको इन्स्योरेन्सको अध्यक्ष, ग्रामीण विकास बैंकको कार्यकारी निर्देशक हुने अवसर पनि प्राप्त गरे । त्यस हिसावले पनि बैंकर ओझासँग बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रको बारेमा पनि राम्रो दख्खल छ ।
२०७१ सालमा आरएमडीसीमा सीईओको रुपमा प्रवेश गरेका ओझा एक अब्बल र अनुभवी बैंकरका रुपमा परिचित छन् । आरएमडीसीमा सीईओ ओझाको दोस्रो कार्यकाल पनि अब केही समयपछि सकिँदैछ ।उनै ओझासँग आरएमडीसीको आन्तरिक विजेसन र समग्र लघुवित्तको विषयमा विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् ।
लघुवित्तहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । आरएमडीसी र समग्रमा लघुवित्तहरुको वित्तीय विवरण कस्तो आयो ?
प्रकाशित वित्तीय विवरणहरुका अनुसार सबैको ग्रोथ राम्रै छ । हामी पनि आरएमडीसीको ग्रोथमा सन्तुष्ट नै छौं । रिपोर्टमा कुनै समस्याहरु नदेखिए पनि हामी माझ केही चुनौतिहरुपक्कै पनि छन् । अहिले तरलताको समस्याले पनि लघुवित्तहरुलाई केही गाह्रो भएको देखिन्छ । लघुवित्तहरुमा फण्डको व्यवस्थ नहुँदा आगामी दिनहरुमा समस्या हुने देखिन्छ । लघुवित्तहरुको लगानी बढी जसो विपन्न वर्ग खासगरी महिलाहरुमा बढी जान्छ । ती विपन्न वर्गहरु संलग्न भएको लघुवित्तहरुमा भोलिको दिनमा उनीहरुलाई लगानी गर्न नसक्ने अवस्था आयो भने समस्या सिर्जना हुन सक्छ । अहिलेको तरलताको संकटले लघुवित्तहरुले पनि पैसा पाइरहेका छैनन् ।
नेपालमा लघुवित्तहरुको कर्जाको स्रोत नै वाणिज्य बैंकहरु नै हुन् । अहिले आफ्नो पूँजी र सदस्यहरुको बचत परिचालनबाट ५० प्रतिशत जति र ‘एक्स्ट्रनल बरोइङ’बाट ५० प्रतिशतले जति धानेको छ । श्रोतको व्यवस्थाको लागि सबै स्टेक होल्डर, बैंक तथा वित्तीय संस्थाले सोच्नु पर्छ । नेपालको वित्तीय पहुँच र वित्तीय साक्षरतामा लघुवित्तहरुको ठूलो योगदान छ । अरु बैंक तथा वित्तीय संस्थाले धितोमाा ऋण दिने र लघुवित्तले विनाधितमो कर्जा दिने गरेका छन् । अरुले नपत्याएको क्षेत्रलाई हामीले कर्जा दिइरहेका छौं ।
लघुवित्तहरुले विनाधितो कर्जा दिन्छन् भन्नुभयो, धितो राखेकै कर्जामा त जोखिम हुन्छ भनेपछि विनाधितोमा कर्जामा त झन बढी जोखिम होला नी ?
लघुवित्तहरुले विनाधितो कर्जा दिने भएपनि यसमा सामुहिक जमानी हुन्छ । लघुवित्तहरु ग्रामिण मोडलमा सञ्चालित हुन्छन् ।समूहले निर्णय गरेर आउनुहुन्छ, सो समूहका सबैलाई जमानी राखेर लघुवित्तहरुले ऋण प्रवाह गर्छन् । कर्जा दिँदा पनिसल्लाहमा दिइन्छ । एकले अर्कालाई सहयोग पनि गर्छन् । समूहहरुको नियमित बैठक पनि हुन्छ । यसले पनि नियमित फलोअप गर्न सहयोग पुग्छ । कसले के काम गरिरहेको छ । सोही समूहले पनि जानकारी पाउँछ । उसले ऋण तिरेन भने हामीलाई पनि दवाव पर्छ भनेर उनीहरुले ऋण तिर्ने माहोल सिर्जना गर्छन् । सो समूहले नै एकअर्काबीच समन्वय गर्छन् । यो प्रक्रियाले पनि हामीलाई कर्जा असुलीमा धेरै समस्या हुँदैन । ऋणमा जोखिम पनि कम हुन्छ ।
लघुवित्तको नेपालमाराम्रो अभ्यास छ । लघुवित्तमा वित्तीय अनुशासन राम्रो छ । हाम्रो मेकानिज्म राम्रोे छ । तर, कहिलेकाहीँ केही जोखिम सिर्जना हुने उदाहरणहरु भने हुनु सामान्य नै हो । बैंकिङ व्यवसाय आफैमा जोखिममा आधारित क्षेत्र नै हो ।
लघुवित्तहरुले दिने सबै प्रकृतिको कर्जा विनाधितो नै होकी केही निश्चित ‘अमाउन्ट’ मात्रै हो ?
लघुवित्तहरुले कुल लगानीको ३३ प्रतिशत कर्जा धितो लिएर नै ऋण प्रवाह गर्न सक्ने व्यवस्था छ । धितो लिएर ठूलो कर्जा मात्रै जान्छ । त्यसवाहेकको धितोविना नै लगानी हुन्छ ।
अहिले बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको संकट छ, बैंक तथा वित्तीय संस्थाहरुले नै कर्जा लगाी गर्न पैसा नपाइरहेको अवस्थामा तपाईंहरु कसरी लगानी गरिरहनु भएको छ, पैसा कहाँबाट ल्याउँदै हुनुहुन्छ ?
अहिले हामी पनि खुम्चिएका छौं ।हामीले कर्जा लिने भनेको पनि बैंक तथा वित्तीय संस्थाहरुबाट नै हो । हाम्रो लगानी पनि धेरै हुन्छ । त्यस वाट हाम्रो किस्ता तथा व्याज आइरहेको हुन्छ । त्यसबाट नै हामी काम गरिरहेका छौं । धेरैका माग सम्बोधन गर्न त सकेका छैनौं । तर, केहीकामाग पुरा गरिरहेका छौं । फण्डहरु जुटाउन नै हामी प्रयत्न गरिरहेका छौं ।
लघुवित्तहरुले राष्ट्र बैंकबाट पाएको सहुलियतहरु तपाईंहरुका ग्राहक तथा कृषकहरुले पाउँदैनन् भन्ने विषय पनि व्यापक रुपमा सुनिन्छ, तपाईंहरु आफ्नै नाफा मात्रै किन हेर्नुहुन्छ ?
रिटेल व्यवसाय गर्ने संस्थाहरुले बाहिरबाट कतिमा लिएका हुन्छन् ? उनीहरुको कष्ट अफ फण्ड कति छ ?त्यसमा सञ्चालन खर्च जोडेर उनीहरुले लगानी गर्ने हो । यसमा राष्ट्र बैंकले सीमा तोकेको छ । लघुवित्तमा स्वस्थ प्रतिस्पर्धा छ । सोही अनुसार हामीले शुल्क पनि लिने हो । हाम्रो अभ्यास एकदमै फेयर नै छ । नेपालमा लघुवित्तको जस्तो फेयर अभ्यास अरुकमै होला ।
आरएमडीसी लघुवित्तको लगानी कुन क्षेत्रमा बढी छ ?
हामीले लगानी गर्ने भनेको विभिन्न लघुवित्तहरुर सहकारीहरुमा नै हो । उहाँहरुले नै कृषि र पशुपालनामा बढी लगानी गरेका छन् । हामीले हाम्रा ग्राहकहरुलाई पैसा मात्रै दिँदैनौं । उनीहरुको सीप विकास, क्षमता अभिवृद्धिका लागि पनि काम गर्दै आएका छौं । तालिम दिने, फिल्डमा गएर अनुगमन पनि गर्दै आएका छौं ।
विभिन्न व्यक्ति तथा संस्थाहरुले जुन प्रयोजनका लागि लघुवित्तहरुबाट ऋण लिएका हुन्छन् सो प्रयोजनमा त्यो रकम खर्च नभएको विषय पनि बेला बखत उठ्छ, फिल्डमा जाँदा यस्तो परिपाटी कत्तिको देख्नुहुन्छ ?
हो, कहिले काँही त्यस्तो प्रवृति पनि हामी भेट्टाउँछौं । हामी होलसेल गर्ने संस्था भएकोले हामीले संस्थालाई कर्जा दिने हो । रिटेलबाट प्रवाह हुने कर्जामा त्यस्तो परिपाटी केही मात्रामा भेटिन्छ । व्यापक रुपमा भने छैन ।
सहकारीलाई तपाईंहरु पाटर्नरका रुपमा लिनुहुन्छ । तर, सहकारी र लघुवित्तहरुको काम कारवाही एउटै भयो भनेर पनि विभिन्न समयमा प्रश्न गरिन्छ । यी दुवैको औचित्य किन ?
नेपालमाअझै पनि वित्तीय पहुँच र वित्तीय साक्षरता एकदमै आवश्यक छ । कुनै व्यक्तिसँग सीप छ, क्षमता छ । तर, उसले पैसा पाएको हुँदैन । नेपालमा लघुवित्त र सहकारीहरुको विकासले वित्तीय पहुँचमा ठूलो सहयोग पुगेको छ । यो प्रतिस्पर्धा हो । सेवाग्राहीलाई यो ‘च्वाइस’ गर्न मिल्ने अवसर पनि हो । पहिले थोरै बैंक हुँदा कर्जा पाउन पनि गाह्रो थियो । तर अहिले ऋण पाउन पनि सजिलो छ । यो सहरकारी र लघुवित्तहरुको कारणले सम्भव भएको हो ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर तथा एक्विजिसन गर्ने विषयलाई प्राथमिकता दिइहरेको छ । लघुवित्तहरु पनि दिनप्रतिदिन घटिरहेको छन् । लघुवित्तहरु कतिसम्म हुनु पर्छ भन्ने तपाईंहरुको माग हो ?
मर्जर तथा एक्विजिसन स्वभाविक हो । पूँजी कम भयो भने संस्थामा समस्या हुन्छ । एउटा संस्थामा समस्या हुने वित्तीकै प्रणालीमै समस्या आउँछ । सानो डुङ्गा छ, तर, नदिमा ठूलो छाल आयो भने डुङ्गा डुब्न सक्छ । संस्था हरेक किसिमबाट बलियो बनाउन र सुदृढ गर्नको लागि नै राष्ट्र बैंकले यो नीति ल्याएको हो । यसमा हामी सबैले सहयोग गर्नुपर्छ । नेपालमा ४०/५० लघुवित्त आवश्यक छ जस्तो मलाई लाग्छ ।
वित्तीय तथा लघुवित्तहरु ‘कोर बैंकिङ’ भन्दा पनि सेयर कारोबारमै व्यस्त भए भन्ने आरोप पनि आउँछ नी ?
होइन, आफ्नो मुख्य काम छोडेर सेयरमा कारोबार गरेका छैनन् । पुँजी कम भएको र कारोबार धेरै भएको हुनाले लघुवित्तहरुको लाभांश बढी छ । यसले पनि सेयरको मूल्य बजारमा बढी छ । लघुवित्त नै गर्ने काम छोडेर सेयर कारोबार भने गरिरहेका छैनन् ।
अहिले राम्रा–राम्रा वाणिज्य बैंकहरुको सेयर मूल्य कम छ । तर, सानो लघुवित्तको सेयर मूल्य राम्रो बैंकको भन्दा लगभग दोव्वर नै देखिन्छ, तपाईंले यसको कारण के देख्नु भएको छ ?
सुरुमा त लघुवित्तहरुमा सेयरधनी थोरै हुन्छन् । कारोबार धेरै छ । पूँजी पनि कम भएपछि लाभांश पनि राम्रै दिन्छन् । लाभांश धेरै आउने रहेछ भनेर पनि लगानीकर्ताहरु लघुवित्ततर्फ आएका हुन सक्छन् । सेयरको मूल्य मार्केटले बढाएको हो ।संस्थाका विभिन्न सूचक तथा स्ट्रेन्थभन्दा पनि सर्टटर्मकै फाइदा हेर्न भएकोले पनि सेयर मूल्यमा यस्तो भएको हुनसक्छ ।
वाणिज्य बैंकहरुको न्यूनतम ८ अर्ब पँजी भइसक्यो । उनीहरुले लाभांश वितरण गर्दा त्यसको आधारमा लाभांश वितरण हुन्छ । लघुवित्तहरुको पुँजीको तुलनामा कारोबार बढी छ । सेयरधनीको पुँजी कम तर कारोबार बढी भएको कारणले उनीहरुले लाभांश बढी दिन सक्ने भए । लाभांशकै कारणले लघुवित्तहरुको मूल्य बढेको हुनसक्छ ।
लघुवित्तहरुको अहिलेको सेयर मूल्य स्वभाविक हो ?
यसलाई म स्वभाविक पनि भन्दिन । मार्केटले लाभांश हेरेर लगानी गरेको होला । नेपाली सेयर बजार त्यति परिपक्क भइसकेको छैन । दीर्घकालीनभन्दा पनि अल्पकालीन रुपमासेयर बजार चलेको छ । हल्लाको भरमा सेयर लगानीकर्ताले लगानी गरिरहेको अवस्था छ । लघुवित्तहरुको दीगो विकासका लागि पूँजी आवश्यक छ । सेयर बजार पूँजी निर्माणको महत्वपूर्ण क्षेत्र हो । यसमा सबै नियकाहरुले ध्यान दिनु पर्छ । हाम्रो हेर्ने दृष्टिकोण परिपक्क नभएको कारणले पनि केही समस्या आएको हुन सक्छन् । समग्रमा सेयर बजार विकासको क्रममा छ ।
नेपाल राष्ट्र बैंकले लघुवित्तको सेयर खरिद गर्न नपाउने व्यवस्था गरेसँगै नाफा घट्यो भन्ने विषय छ नी, यो कति यर्थाथ हो ?
यसले खासै असर गरेको छैन । राष्ट्र बैंकले जुन संस्थाहरु जुन उद्धेश्यका लागि स्थापना भएका हुन् तिनीहरुको प्राथमिकता त्यसैमा होस् भन्ने किसिमबाट यस्तो गरेको हालो । त्यो व्यवस्था नै नाफा घटेको हो जस्तो मलाई लाग्दैन
अहिले बैंक तथा बीमा क्षेत्रमा पूँजी वृद्धिको चर्चा छ, लघुवित्तहरुको पूँजी बढाउन आवश्यक छ कि छैन ?
लघुवित्तहरुको पूँजी बढाउन एकदमै आवश्यक छ । यति नै पूँजी बढाउनु पर्छ भन्दा पनि पूँजी वृद्धि हुुनु भनेको संस्था बढ्नु हो । संस्थासँग जति धेरै पूँजी छ कारोबार पनि बढ्छ । संस्था बलियो र सुदृढ बनाउनका लागि संस्था हरेक तबरबाट सक्षम हुनुपर्छ ।नाफा बढाउनेभन्दैमा पनि निक्षेपभन्दा बढी लगानी गर्नु भएन । आफ्नो मापदण्डमा बस्नु पर्छ । सधैं नाफा मात्रै हेरेर पनि हुँदैन । संकटको बेला बाँच्न सक्नु नै ठूलो कुरा हो ।
आरएमडीसीको अहिलेको नाफालाई नै आधार मानेर हेर्दा यस लघुवित्तका सञ्चालकले यो वर्ष कतिसम्म लाभांश पाउन सक्छन् ?
प्रत्येक वर्ष हाम्रो लाभांश राम्रो रहेको छ । हामीले गत वर्षको नाफाबाट २५ प्रतिशत दिएका छौं । अब यो वर्ष यति नै दिन्छौं भनेर अहिले नै भन्न सकिने अवस्था छैन । भोलिको दिनमा नियामकले कुनै नयाँ व्यवस्था गर्ला वा अझै कुनै संकट आउन सक्ला । त्यसैले अहिले यति नै दिन सक्छौं भन्न सकिन्न ।
लघुवित्त र सहकारीहरुको व्याजदरको विषयमा समय–समयमा प्रश्नहरु उठ्छन्, विपन्न नागरिकहरुबाट नै चर्को व्याज लिने गुनासो तपाईंहरुमाथि छ, लघुवित्तहरुको व्याजदर कम गर्न सकिँदैन ?
संसारकै लघुवित्तहरुको व्याजदर हेर्ने हो भने सायद नेपालमै सबैभन्दा कम होला । यो विषयमा ठूलो भ्रमबीच हामी बाँचिरहेका छौं । लघुवित्तहरुमा व्याजभन्दा पनि भनेको बेला र चाहेको जति पाउने विषय महत्वपूर्ण हो । लघुवित्तहरुले घरमै गएर ऋण दिइरहेका छन् ।
लघुवित्तहरुको विकास र व्यवस्थापनका लागि सम्बन्धित निकायहरुबाट के कस्तो पहल हुन आवश्यक छ ?
सरकार, नियामक र लघुवित्तहरुले पनि अब स्रोतसाधनकोउपलब्धतामा ध्यान दिनु पर्छ । लघुवित्त फण्ड स्थापना गरेर कर्जा प्रवाह गर्न सकिन्छ कि भन्ने तर्फ हामीले सोच्नु पर्छ । त्यससँगै लघुवित्तको नियमन पनि चुस्त बनाउन आवश्यक छ । यो क्षेत्रमा केही समस्या पनि छन् । एउटै व्यक्ति ५÷६ संस्थाबाट ऋण लिने परिपाटी छ । यस्ता विभिन्न समस्याहरु समाधानका लागि सम्बन्धित निकायबाट पहल हुन जरुरी छ । लघुवित्तहरुले अब पैसा दिने मात्रै भन्दा पनि त्यससँगै वित्तीय साक्षरता र क्षमता अभिवृद्धिको विषयमा प्राथमिकता दिनु पर्छ । तब मात्र लघुवित्तहरु प्रभावकारी हुन सक्छन् ।
आरएमडीसीमा तपाईं सीईओको रुपमा आइसकेपछि संस्थाको मुहार कत्तिको फेकियो ?
आरएमडीसी थोक कर्जा प्रवाह गर्ने संस्था हो । म २०७१ सालबाट यसमा आवद्ध भएँ । हामीले यसलाई व्यापकप्रभावकारी बनाउने तर्फ काम गरिरहेका छौं । हाम्रा पाटर्नर र कारोबारको वृद्धि सँगै विभिन्न निकायको समन्वयमा क्षमता विकास र लुघवित्तको विकासका लागि पनि हामीले काम गरिरहेका छौं । यो संस्थामा म आवद्ध भइसकेपछि राम्रै रिजल्ट दिएँ जस्तो मलाई महसुस हुन्छ । ग्राहकहरुले चाहेको बेलामा थोक कर्जा दिएका छौं । उहाँहरुको कामको फिल्डमा अनुगमन गरेका छौं । उनीहरुलाई बेला–बेला सहयोग र सल्लाह दिइरहेका छौं । विभिन्न तालिम पनि दिँदै आएका छौं ।
यो संस्थालाई थप परिस्कृत बनाउन आगामी योजना के कस्ता छन् ?
यसलाई अझै व्यापाक रुपमा देशधर नेटवर्क बढाउने र स्थानीय लेभलका सहकारी र वित्तीय संस्थाहरुलाई पाटर्नरका रुपमा अगाडि लैजानेतर्फ हाम्रो ध्यान हुनेछ । हाम्रा ग्राहकहरुको कामलाई स्तरिय वनाउन तर्फ पनि हाम्रो जोड रहनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.