२०७८ फागुन २८ गते ११:५९ विकासन्युज
काठमाडौं । पछिल्लो समय कनेक्ट आईपिएस मार्फत हुने कारोबार रकममा उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार एक वर्षको अवधिमा कनेक्ट आईपिएम मार्फत १ खर्ब ३२ अर्ब २ करोड ९० लाखबढी कारोबार भएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको (गत साउनदेखि माघसम्म) वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७८ अनुसार कनेक्ट आईपिएस मार्फत २ खर्ब ३६ अर्ब ४२ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । गत वर्षको माघ महिनामा एक खर्ब ४ अर्ब ३९ करोड ४० लाख बराबरको मात्र कारोबार भएको थियो ।
बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार पुस महिनासम्म बढेको डिजिटल भुक्तानी प्रणाली मार्फत हुने कारोबारमा माघ लागेपछि कमी आएको छ । गत पुस महिनाको तुलनामा माघ महिनामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट र अनलाइन (इ–कमर्श) बाट हुने कारोबारमा कमी आएको छ ।
पुस महिनामा डिजिटल वालेटमार्फत १६ अर्ब २७ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा माघ महिनासम्म १४ अर्ब ५३ करोड ६० लाख रुपैयाँमा सिमित भएको छ ।
यस्तैगरी, पुस महिनामा मोबाइल बैैंकिङ मार्फत ९४ अर्ब ४० करोड ९० लाख र इन्टरनेट बैंकिङ मार्फत ९२ अर्ब ७६ करोड ६० लाख बराबरको कारोबार भएको छ । पुस महिनासम्म इन्टरनेट बैंकिङ मार्फत १३ अर्ब ४९ करोड ६० लाख भएकोमा माघ महिनासम्म १२ अर्ब ८९ करोड ९० लाख बराबर मात्र कारोबार भएको छ ।
यस्तै, पुस महिनासम्म इ–कमर्श मार्फत ३४ करोड ९० लाख भएकोमा माघ महिनामा ३४ करोड ६० लाखमा सिमित बनेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.