२०७८ फागुन ३० गते १२:५९ विकासन्युज
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपालपे क्यूआरको सुरुवात भएको छ । अब नेपालपे क्यूआरपेमार्फत पनि नेपाल सरकारको राजस्व भुक्तानी समेत गर्न मिल्ने भएको छ । यसअघि कनेक्ट आईपीएसमार्फत मात्रै तिर्न सकिने अवस्था थियो ।
एनसीएचएलले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्यूआर स्ट्याण्डराइजेसन एन्ड गाइडलाइन्स (नेपाल क्यूआर मापदण्ड तथा मार्गदर्शन) अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याएकाे हो ।
हाल उपलब्ध पेमेन्ट गेटवेमा समेत नेपालपे क्यूआर थप गरिएको छ, जसअन्तर्गत उक्त क्यूआर स्क्यान गरी मोबाइल बैंक, वालेट, कनेक्ट आईपीएस लगायतबाट सजिलै राजस्व भुक्तानी गर्न सकिने भएको छ ।
हिमालयन बैंक र फोकसवान सोलुसन्सबीच भने मर्चेन्ट स्तरको अन्तरआबद्धता कायम गर्नेगरी व्यवस्था मिलाइएको छ, जस अन्तर्गत एउटै क्यूआरलाई स्क्यान गरी भिसा, युनियन पे, अलीपे र नेपाल पे क्यूआर लगायतका विभिन्न नेटवर्कबाट भुक्तानी गर्न सकिन्छ । हाल उक्त बैंक वित्तीय संस्था र पीएसपीले नेपाल पे क्यूआरमा ५ हजारभन्दा बढी मर्चेन्टहरु आवद्ध गरिसकेका छन् ।
हालसम्म हिमालय बैंक, सानिमा बैंक,, समृद्धि फाइनान्स, कनेक्ट आईपीएस लगायतका मोबाइल एपबाट क्यूआर स्क्यान गरी कारोबार गर्न सकिनेछ । यी सबै एपहरूको हाल कूल १४ लाखभन्दा बढी प्रयोगकर्ता रहेका छन्, जसले सोझै यो सेवा प्राप्त गर्न सक्दछन् ।
नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले कनेक्ट आईपीएसमा आवद्ध भएका बैंक वित्तीय संस्था यसमा आवद्ध भएर काम गर्न सक्ने बताए । ‘अहिले लागु भएको एउटै क्यूआरभित्र मल्टिपल क्यूआर सञ्चालन गर्न सकिनेछ, यसले ग्राहकलाई पनि सहज हुन्छ, बैंक तथा वित्तीय संस्थाले धेर्रै क्यूआर दिन आवश्यक हुँदैन, यो अनलाइन अनलाइन पेमेन्ट गेटवेमा पनि लागु हुन्छ, पछि गएर अन्य नेटवर्कमा पनि चल्नेछ,’ उनले भने ।
उनका अनुसार यसमा हालसम्म ४० वटा बैंक तथा वित्तीय संस्था बैंक ६ वालेट जोडिसेकेका छन् भने ६ संस्थाले काम पनि सुरु गरिसकेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.