२०७८ चैत १ गते १०:११ विकासन्युज
काठमाडौं । नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) ले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनी संचालक समितिले गरेको प्रस्ताव अनुसार २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिइनेछ । संचालक समितिको यो निर्णय सम्बन्धित नियामक निकायको स्वीकृत र वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा जानेछ ।
कम्पनीले आगामी चैत २४ गते वार्षिक साधारणसभा बोलाएको छ । टेलिकमको बोनस सेयर चैत ९ सम्म सेयर किनेका सेयरधनीले पाउनेछन् । कम्पनीको अहिले चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । २० प्रतिशत बोनस सेयर दिएपछि कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ पुग्नेछ ।
कम्पनीमा सरकारको ९० प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ । कम्पनीले बोनस सेयर दिएपछि सरकारले पाउने नगद लाभांश कम हुनेछ । सरकारका आम्दानीका स्रोत खुम्चिएर राजस्वले साधारण खर्च पनि धान्न नसक्ने अवस्था भएको समयमा राम्रो नाफा गरिरहेका कम्पनीबाट सरकारले नगद लाभांश नपाउने अवस्था सिर्जना हुँदा सरकारको आम्दानी प्रभावित हुनेछ ।
यद्यपि, टेलिकमले बोनस सेयर दिएको भने यो पहिलो पटक हो । यसअघि कम्पनीले नगद लाभांश मात्रै दिएको इतिहास छ ।
टेलिकमले यसपाली बोनस सेयर दिदैछ भन्ने सु्चना पहिला नै बाहिरिएको थियो । यसरी सुचना वाहिरिएपछि कम्पनीको सेयर मूल्य बढेको देखिन्छ । गत जनवरी २ मा टेलिकमको सेयर मूल्य प्रतिकित्ता १३०३ रुपैयाँ थियो । कम्पनीले बोनस सेयर दिदैछ भन्ने सुचना बाहिरिएपछि मूल्य बढेर २२ फेब्रुअरीमा प्रतिकित्ता १७९९.९ रुपैयाँसम्म पुग्यो । एक वर्षको बीचमा कम्पनीको सेयर मूल्य सबैभन्दा कम प्रतिकित्ता ९७२ रुपैयाँ थियो । मार्च १४ (हिजो) कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७२९.९ रुपैयाँसम्म पुगेको थियो भने प्रतिकित्ता १७१४ मा कारोबार बन्द भएको थियो ।
कम्पनीले बोनस सेयर दिने हल्ला चलेपछि एक वर्षको अवधिमा सेयर मूल्य करिब दोब्बर भएपनि कम्पनीले दिने लाभांश भने घट्न थालेको छ । कम्पनीले यसअघि ५० प्रतिशतभन्दा बढीको लाभांश दिने गरेको भएपनि यसपाली भने ४० प्रतिशत मात्रै दिने घोषणा गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.