२०७८ चैत ३० गते १३:३३ विकासन्युज
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही वैशाख ७ देखि १२ गतेसम्म आयोजना हुने क्यान इन्फोटेक २०२२ को मुख्य प्रायोजकमा आईएमई पे रहने गरी सम्झौता भएको छ ।
आइएमई पे आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट हो । क्यान इन्फोटेक यसअघि कोभिड–१९ कारण नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै दुई पटक स्थगित भएको थियो ।
विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाडौंमा मात्र हुने भएको हो । विगत वर्षहरूमा आयोजना हुन नसकेका कारण पनि यो पटक सम्बन्धित सरोकारवालाहरूमा प्रदर्शनीप्रति उत्साह देखिएको छ ।
आयोजनाले कोभिड– १९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ ।
ब्राण्डिङ खण्डमा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धि कम्पनी एवम् उत्पादनहरूको सहभागिता रहनेछ ।
फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा वित्तीय एवम् सम्बन्धित संस्थाहरूको सुचना तथा संचार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यस सम्बन्धि उत्पादनहरू रहने छन ।
स्टार्टअप र इनोभेशन खण्डमा २६ वटा स्टार्टअप र इनोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडियाको प्रदर्शनी गर्ने छन् ।
सुचना तथा संचार प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इनोभेटिभ आइडियाहरूको प्रवर्द्धन गर्ने आफ्नो योजनानुरुप क्यान महासंघले स्टार्टअप र इनोभेशनलाई विशेष प्राथमिकतामा राखेको हो ।
आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ खण्डमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् ।
यस बाहेक क्यान इन्फोटेक २०२२ मा रोबोटिक्स, इमर्जिङ टेक्नोलोजि, वाइफाइ तथा इण्टरनेटलगायत कुराहरू रहनुका साथै व्यवसायीहरूले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशनजस्ता उत्पादनहरू प्रदर्शनी तथा बिक्रीमा राख्नेछन् ।
त्यसैगरी, आर्टीफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् ।
अघिल्लो पटक करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इन्फोटेकको यो संस्करणमा सोभन्दा बढी संख्यामा अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.