२०७९ वैशाख ११ गते ११:३६ विकासन्युज
काठमाडौं । आइएमइ पे क्यान इन्फोटेक २०२२ मा अन्य दिनको तुलनमा शनिबार अवलोकनकर्ता बढेको छ । बुधबारदेखि सुरु भएको क्यान इन्फोटेकको २७औं संस्करणमा शनिबार सार्वजनिक बिदा रहेका कारण र मौसम सफा रहेका कारण पनि अन्य दिनको तुलनमा सरकारी तथा गैर-सरकारी क्षेत्रमा कार्यरत कर्मचारी तथा विद्यार्थीहरूको भिड रहेको थियो ।
कोरोना महामारीका कारण प्रदर्शनी यस अघि २ पटक स्थगित भएको थियो । कोरोना महामारी पछि सुरु भएको प्रदर्शनीमा आफूलाई उपयोगी हुने धेरै स्टलहरू रहेको र सुचना प्रविधिको बारेमा नेपालमा उपलब्ध पछिल्लो प्रविधिहरूमा जानकारी लिएको अवलोकनकर्ताहरूको भनाइ छ ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)का अध्यक्ष नवराज कुँवरका अनुसार यो वर्षको इन्फोटेक विगतको भन्दा धेरै फरक रहेको छ । आयोजकको उद्देश्यअनुसार इन्फोटेकमा प्रदर्शनीकर्ताको सहभागिता र अवलोकनकर्ताको चाहना अनुसारका प्रविधि प्रदर्शनमा राखिएको छ ।
कोभिड–१९ महामारीका कारण बढेको सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यवस्थित र थप प्रभावकारी बनाउने ज्ञान र दक्षताको खोजीमा मानिसहरू रहेको र आईसीटी एक्सेसेरिजमा भन्दा ब्राण्डिङ, फिन्टेक र स्टार्टअपमा दर्शकको भीड लागेको अध्यक्ष कुँवरको भनाइ छ । उनका अनुसार रोबोटिक, इमर्जिङ टेक्नोलोजी, वाईफाई तथा इन्टरनेटलगायत प्रडक्टहरूमा पनि अवलोकनकर्ताको उल्लेख्य सहभागिता छ । त्यसैगरी सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोलुशन, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, सेक्युरेटी सोलुशन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, एन्टिभाइरस र बैंकिङ लोलुशनसम्बन्धी सफ्टवयरलगायतका स्टलमा पनि अवलोककर्ताहरूको उल्लेख्य भीड लागेको छ ।
प्रविधिको प्रयोगबाटै टिकट काटेर अवलोककर्तालाई इन्फोटेक भ्रमण गराउने क्यानको योजनाअनुसार नै दर्शकहरूले इन्फोटेक भ्रमण गरिरहेको इन्फोटेकका सह–संयोजक समेत रहेका महासंघका उपाध्यक्ष रञ्जित कुमार पोद्दारले जानकारी दिए । उनका अनुसार आईएमई–पेमार्फत दैनिक हजारौँ मानिसले टिकट खरीद गरेर इन्फोटेक भ्रमणमा आएका छन् । त्यस्तै प्रविधिको प्रयोग गर्न नचाहनेहरूले सय रुपैयाँ तिरेर इन्फोटेक भ्रमण गरिरहेको उपाध्यक्ष पोद्दारको भनाइ छ ।
शनिबार इन्फोटेकमा लोकप्रिय गायक सुशान्त केसी, र्यापर गिरीस खतिवडा, गायक स्वप्न सुमन, पब्जी खेलाडी इन्दु मल्ल लगायत समाजमा चर्चित ब्यक्तित्वहरूको सहभागिता रहेको थियो । इन्फोटेकमा आएका अवलोकनकर्ताहरू आफुसंगै चर्चित ब्यक्तित्वहरू पाउदा झनै उत्साहित देखिन्थे ।
शनिबार नै डिस होमले नयाँ प्रडक्ट ‘क्याम्पस वाईफाई’ सार्वजनिक गरेको छ साथै शनिबार नै रमाइलो गेमले ‘ब्रान्ड च्यालेन्ज’ प्रतियोगिता आयोजना गरेका कारण यी स्टलहरूमा अवलोकनकर्ताको अत्यधिक आकर्षण देखिन्थ्यो ।
नास्टका प्रविधि संकाय प्रमुख डा. रविन्द्र ढकालका अनुसार सूचना प्रविधिमा पहुँच नभएका क्षेत्र र समूहलाई लक्षित गर्दै यो सूचना प्रविधिमैत्री बस तयार गरिएको हो र प्रदर्शनीमा सर्वसाधारणको जानकारीका निम्ति यसको प्रदर्शनी गरिएको हो ।
सूचना तथा सञ्चार प्रविधि सम्बन्धि व्यवसायी र सम्बन्धित पक्षहरूलाई सहयोग पुग्ने उद्देश्यसहित गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको प्रदर्शनी आगामी सोमबारसम्म जारी रहने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.