२०७९ वैशाख २३ गते १०:४६ विवश कुलङ
काठमाडौं । क्रिप्टोकरेन्सी कारोबार गर्न न वास्तविक नाम चाहिन्छ न कुनै पहिचान खुल्ने कागजात नै । त्यसकारण क्रिप्टोकरेन्सी कारोबार नेपाल प्रहरीको टाउको दुखाइको विषय बनेको छ ।
यो कारोबार गोप्य हुने भएकाले सूचनाहरू त्यति सहज रूपमा नपाइने प्रहरीले जनाएको छ । कारोबार गरिएको पैसा कहाँ प्रयोग भएको छ भन्ने पनि खुल्दैन । साथै कोडमार्फत कारोबार भएको हुँदा समस्या हुने गरेको प्रहरीको भनाइ छ ।
काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले हालसम्म तीन पटक गरी कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरिसकेको छ ।
पहिलो पटक गत माघ पहिलो साता तीन जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा पर्वत घर भई पोखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरीको इटहरी बस्ने २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौं थापाथली बस्ने २७ वर्षीय दिपेनराज श्रेष्ठ छन् ।
उनीहरू पनि अर्कै केसमा मुद्दा पर्दा क्रिप्टो करेन्सीको कारोबार खुलासा भएको हो । सिराहाका एक व्यक्ति अनलाइन ठगीमा परेका थिए । अमेरिकन क्रूजमा जागिर खाने प्रस्ताव आएपछि सिरहाका ती पीडित आकर्षित भए । त्यसपछि ती अनलाइन ठगीमा संलग्नले भनेअनुसार पैसा जम्मा गर्न थाले पटक-पटक गरेर २० लाख जम्मा गरे तर भनेअनुसार महिनाको ५/६ जागिर भएन । आफू ठगिएको भन्दै उनले प्रहरीमा उजुरी दिए ।
प्रहरीले अनुसन्धान अघि बढायो । पीडितलाई पैसा जम्मा गर्न लगाइएका विभिन्न बैंक खाता नम्बरका विवरण प्रहरीले माग गर्यो।
उनलाई विभिन्न बैंकका १० वटा खातामा पैसा हाल्न लगाइएको रहेछ। सबै विवरण हेर्दा पैसा माग्नेहरू क्रिप्टोकरेन्सीका कारोबारी भएको खुलेको अनुसन्धानमा संलग्न प्रहरीले बताए ।
अहिलेसम्मको अनुसन्धानबाट नेपालमै रहेर वा विदेशमा रहेर धेरै नेपालीले यो डिजिटल मुद्राको अवैध कारोबार गरिरहेको प्रहरीको । तर यो कारोबार गोप्य तरिकाले हुने भएकाले कति नेपालीले कति रकम यसमा लगानी गरेका छन् भन्ने तथ्यांक प्रहरीसँग छैन।
गत फागुनमा डेढ करोड रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारतीय नागरिक अमितकुमार अग्रवाल र बिक्की खड्गीलगायतले गैरकानुनी रुपमा वित्तीय कारोबार गर्दै आइरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको थियो ।
अग्रवालको डेरा प्रहरीले खानतलासी गर्दा १ करोड ५० लाख रुपैयाँ फेला पारेको थियो । उनीहरूले क्रिप्टोकरेन्सीसँगै हुन्डी कारोबारसमेत गरेको प्रहरीले जनाएको छ ।
यसरी दुई पटक उजुरीका आधारमा प्रहरीले ५ जनालाई पक्राउ गरिसकेको थियो । त्यसपछि प्रहरीले अनुसन्धानको दायरा बढायो ।
‘कारोबार गर्दा कोडबाहेक केही नहुने रहेछ । न फोटो न डकुमेन्ट, प्रहरीले अनुमानको भरमा केही गर्नै नसक्ने भयो । कुनै आधार नभएपछि हामीले कारोबारमा संलग्नलाई नै प्रयोग गर्यो ’ काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाले भने ।
प्रहरीसँग दक्ष जनशक्ति नहुनु र क्रिप्टोकरेन्सीको कारोबार एउटा डिजिटल कोडबाट मात्र हुँदा समस्या भएपछि प्रहरीले कारोबारमा संलग्नलाई नै प्रयोग गरेको जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपालमा क्रिप्टोकरेन्सी कारोबार गर्ने र व्यवसाय सञ्चालन गर्नेमाथि कारबाही अघि बढाउने चेतावनी दिँदै फागुन १ गते सूचना निकाल्यो । त्यसपछि प्रहरीले निगरानी बढायो । केही क्रिप्टोकरेन्सी कारोबारीहरू आफूलाई कानुनी रुपमा थाहा नभएकोले केही लगानी गरेको अब नगर्ने भन्दै कारोबार नगर्नेहरू साना कारोबारीलाई नै प्रहरीले प्रयोग गरेर अर्को समूहलाई पक्राउ गर्यो
त्यसपछि गत वैशाख ५ मा प्रहरीले विनाउजुरी करिब ६७ करोडको कारोबार गरेको आरोपमा पक्राउ गरेको हो । उनीहरूले बिटक्वाइन, युएसडिटी सोलाना, इथेरियमलगायत विभिन्न करेन्सीको अवैध कारोबार गरेको भन्दै पक्राउ गरेको हो । कारोबार गरेर छोडेकाको सहयोगमा उनीहरूलाई करोड कारोबार हजारौं पटक कारोबारसहित पक्राउ गरिकएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाले बताए ।
प्रहरीका अनुसार उनीहरूले ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ बराबरको कारोबार गरिसकेका थिए । झापा बिर्तामोड घर भई काठमाडौं महानगर-१६ सोह्रखुट्टेका २२ वर्षीय अनुप मिश्र, काभ्रे घर भई क्षेत्रपाटी बस्ने २४ वर्षीय दिपेश थापा र बाफल बस्ने २७ वर्षीय राहुल चचानलाई पक्राउ गरेको थियो ।
उजुरी वा सूचना नि नपर्नु अनि आफ्नै प्रयासमा प्रकाउ गरिएको भन्दै अपराध अनुसन्धान कार्यालय प्रहरी उपरीक्षक कोइराला यसलाई ठूलो सफलता मान्छन् ।
यसअघि दुई पटक पक्राउ परेकासँग प्रत्यक्ष संलग्नता कतै नभेटिएकोले यस्ता समूह धेरै हुनसक्ने प्रहरीको अनुमान छ । तर बैंक खाता वा रेमिट्यान्सजस्तो कुनै कागजात पेस गर्नु नपरेकोले प्रहरीलाई यसबारे अनुसन्धान गर्न चुनौती छ ।
क्रिप्टोकरेन्सी वा डिजिटल अपराधसम्बन्धी नेपालमा स्पष्ट कानुन नभएकोले प्रहरीले बैंक तथा वित्तीय संस्थासम्बन्धी २०७३ बमोजिम थप कारबाही र अनुसन्धान गर्दै आएको छ ।
पक्राउ परेका, अनुप मिश्रले सन् २०२१ देखि हालसम्म बाइनान्स एकाउन्ट प्रयोग गरी विभिन्न २० प्रकारका क्रिप्टोकरेन्सीको कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले ३५ करोड ४६ लाख ८३ हजार बराबरको कारोबार थिए ।
त्यस्तै, दिपेश थापाले पनि सन् २०२१ देखि हालसम्म विभिन्न ७ प्रकारका क्रिप्टोकरेन्सीमार्फत जम्मा २४ करोड २९ लाख ५६ हजार बराबरको कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै, राहुल चचानले करिब १ वर्षअघिदेखि हालसम्म विभिन्न २० प्रकारका क्रिप्टोकरेन्सीबाट ६ करोड ५३ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार गरेको देखिको छ ।
उनीहरूलै दैनिक ५ हजार देखि ५० हजार अमेरिकी डलरसम्मको बिटक्वाइनको कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।
क्रिप्टो करेन्सीबारे चिन्ता गर्दै यसअघि पूर्वअर्थमन्त्री तथा राष्ट्र ब्याङ्कका पूर्वगभर्नर युवराज खतिवडाले एक कार्यक्रममा क्रिप्टोकरेन्सीका कारण विप्रेषण अर्थात् रेमिट्यान्स घटेको हुनसक्ने बताएका थिए । साथै क्रिप्टोकरेन्सीमा लगानी भइरह्यो भने भोलिका दिनमा रेमिट्यान्स समेत नभित्रिने सम्भावना रहेको राष्ट्र बैंकले जनाएको छ ।
क्रिप्टोकरेन्सी भर्चूअल मुद्रा हो । भौतिक रूपमा देख्न वा छुन नसकिने तर पनि मूल्य तोकिएको हुन्छ ।
साथै यस मुद्राको कुनै केन्द्रीय बैंक वा नियमन गर्ने कुनै निकाय हुँदैन। डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुन्छ।
तर यही डिजिटल क्रिप्टोकरेन्सीको प्रयोग गरेर सामान किन्न वा भुक्तानी गर्न सकिने भएकोले संसारभर यसमा लगानी गर्नेहरू बढ्दो । कुनै देशले पूरै प्रतिबन्ध लगाएको छ भने कुनै देशले वैधानिकता दिएको छ ।
एल साल्भाडोरल भन्ने देशले क्रिप्टोकरेन्सीलाई मुद्राको रुपमा नै कानूनी मान्यता दिइसकेको छ ।
अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, डेनमार्क, स्पेन, फ्रान्सलगायतका देशले यसलाई डिजिटल रकमको रुपमा स्वीकार्न थालेका छन् ।
तर संसारका नेपालसहित ९ देशमा यो प्रतिबन्धित छन् । अवैध धन्दाको रुपमा लिने देशहरूमा चीन, बङ्गलादेश, अल्जेरिया, इजिप्ट, इराक, मोरोक्को, कतार र ट्युनिसिया छन् भने ४२ वटा देशले क्रिप्टोकरेन्सी कारोबारलाई निहित प्रतिबन्धको रुपमा उपयोग गरिरहेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.