पोहोर एनटीसीको सेयर बेच्छु भनेर झुक्याएको सरकारले यसपाली बेच्ला त प्राधिकरणको सेयर ?

  २०७९ जेठ १६ गते ११:५१     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमार्फत् सरकारले नेपाल विद्युत् प्राधिकरणको सेयर बिक्री गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्दै प्राधिकरणको सेयर प्रिमियम मूल्यमा सर्वसाधारणलाई निष्काशन गर्ने व्यवस्था मिलाउने बताएका छन् । प्राधिकरणको क्रेडिट रेटिङ्ग भइसकेकोले सेयर जारी गर्ने व्यवस्था गरिएको समेत उनले बताए ।

‘नेपाल विद्युत प्राधिकरणको क्रेडिट रेटिङ्ग भइसकेको सन्दर्भमा प्राथमिक निष्काशन मार्फत प्रिमियम सहितको सेयर सर्वसाधारणलाई समेत जारी गर्ने प्रबन्ध गरिनेछ,’ बजेटमा भनिएको छ ।

साथै, उक्त सेयर जारी गरेपश्चात उठेको रकम भने आयोजना निमार्णमा लगानी गरिने सरकारको लक्ष्य छ ।

‘उक्त सेयर विनिवेशबाट प्राप्त रकम जलाशययुक्त आयोजना निर्माण लगायत ऊर्जा पूर्वाधार निर्माणमा लगानी गरिनेछ,’ बजेटमा उल्लेख छ ।

सरकारले विद्युत प्रसारण लाइन विस्तारको लागि निजी लगानीमा समेत आयोजनाहरू प्रवर्द्धन गरिने कार्यक्रम ल्याएको छ । र, विद्युत आयोजनाको प्रवर्द्धकले आयोजना स्थलदेखि सबस्टेशनसम्म प्रसारण लाइन निर्माण गरेमा लागतको ७५ प्रतिशतसम्म शोधभर्ना उपलब्ध गराउने सरकारको योजना छ ।

चालु आव २०७८/७९ को बजेटमार्फत् सरकारले नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को सेयर बिक्री गर्ने घाेषणा गरेकाे थियो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएकाे उक्त बजेटले एनटीसीको २२ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने भनेको थियो ।

‘नेपाल दुरसञ्चार कम्पनीको स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच-विस्तार गर्न कम्पनीका मोवाइल, ल्याण्डलाइन र इन्टरनेट सेवा उपभोग गर्ने प्राकृतिक व्यक्तिलाई कम्पनीको २२ प्रतिशत सेयर विनिवेश गरिनेछ,’ चालु आवकाे बजेटमा उल्लेख छ ।

तर, बजेट सार्वजनिक भएको एक वर्षबित्दा पनि एनटीसीको सेयर बिक्रीको प्रकृया अघि बढेको छैन । जबकि उक्त बजेटले २०७८ पुससम्म कम्पनीको सेवा लिनेले सेयर किन्न पाउने र सेयर मूल्यको विवरण २०७८ असोज मसान्तभित्र तय गरिसक्ने भनेर पनि प्रष्ट रुपमा खुलाएको थियो ।

‘हाल कम्पनीको सेवा उपयोग गरिरहेका र आगामी २०७८ पुष मसान्तसम्म थप हुने ग्राहकले समेत सेयर खरिदमा सहभागी हुनसक्ने व्यवस्था मिलाइनेछ । कम्पनीको सेयर विनिवेश सम्बन्धी विस्तृत प्रक्रिया र सेयर मूल्यको विवरण आगामी २०७८ असोज मसान्तभित्र तय गरिनेछ,’ सोही बजेटमा भनिएको छ ।

गत वर्ष एनटीसीको सेयर बेच्ने कार्यक्रम ल्याएको सरकारले एक वर्ष बित्दा पनि कार्यान्वयन त के प्रकृयामा समेत गएको छैन । त्यस्तै, यो वर्ष विद्युत प्राधिकरणको सेयर बिक्री गर्ने भनेर ल्याइएको कार्यक्रम पनि कतै एनटीसीको जस्तै अवस्था नहोला भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.