सुरक्षित कारोबार र कर्जा विविधिकरण विषयमा सिबिफिन र आईएफसीको कार्यक्रम सम्पन्न

  २०७९ जेठ १८ गते १३:२६     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन) र अन्तर्राष्ट्रिय वित्त निगम आईएफसीको संयुक्त आयोजनमा सुरक्षित कारोबार र कर्जा विविधिकरण विषयमा कार्यक्रम सम्पन्न भएको छ ।

कर्जा विविधिकरणलाई प्रोत्साहन गर्न एवं वित्तिय पहुँच अभिवृद्धिका लागि सिबिफिन र आईएफसीले उक्त कार्यक्रमको आयोजना गरेका जनाएकाे छ । नेपालमा निजी क्षेत्र–विशेषगरी घरेलु, लघु, साना तथा मझौला उद्यमहरुलाई नेपाली अर्थतन्त्रको आधारस्तम्भ मानिन्छ, वित्तीय साधनको पहुँचमा कठिनाइ हुनाले उनीहरुको विकास एवं विस्तारमा बाधा पुगिरहेको आम गुनासो आइरहेको कार्यक्रमको आयोजना गरेकाे सिबिफिनले जनाएकाे छ ।

आईएफसी/विश्व बैंकका नेपालका लागि आवासीय प्रतिनिधि बाबाकर एस. फायले हाल प्रचलित चल धितो सम्पत्तिले वित्तिय एवं आर्थिक विकास र कर्जाको जोखिम एवं कर्जा लागत न्यूनिकरण गर्नुका साथै लघु, घरेलु, साना तथा मझौला उद्यमहरु(एमएसएमई) हरुको वित्तीय पहुँच बढाउन मद्दत पुर्याउने बताए ।

यस्तै सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले चल धितो सम्पत्तिको अवधारणाले लघु, साना तथा मझौला उद्यमी तथा व्यवसायी, कृषि व्यवसायी कारोबारी एवं पूर्वाधार विकास कम्पनीहरुको वित्तीय पहुँचसहित विकास एवं विस्तारमा महत्वपूर्ण सहयोग गर्ने बताए ।

उनले लघु, घरेलु, साना तथा मझौला उद्यम (एमएसएमई) र संस्थागत क्षेत्रको वित्तीय पहुँच बढाउन एवं वित्तीय समावेशीकरण र आयात प्रतिस्थापनको वृहत उद्देश्य प्राप्त गर्न देशका सम्पूर्ण सरोकारवाला निकायले एकजुट भएर चल धितो सम्पतिको अवधारणालाई प्रोत्साहन गर्नुपर्ने बताए ।

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी/विश्व बैंक) का विषयविज्ञहरुले सुरक्षित कारोबार र वित्तीय पहुँच विस्तारका व्यवसायिक उदाहरणहरु प्रस्तुत गर्दै, नेपालमा धितो दर्ताको भूमिका र सुरक्षित कारोबार तथा वित्तीय पहुँचलाई अझ प्रभावकारी र सुदृढ बनाउन के गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट सहभागिता जनाएका प्रतिनिधिहरुले नेपालमा सुरक्षित कारोबार, चल धितो सम्पत्ति र वित्तीय पहुँच अभिवृद्धिका विषयमा थप जानकारी दिएको र कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताएका थिए ।

नेपालमा लघु, घरेलु, साना तथा मझौला उद्यमहरुको क्रेडिट ग्याप करिब ३.६ अर्ब रुपैयाँ रहेको विश्व बैंकको तथ्याङ्कले देखाएको छ । विकास निर्माणको करिब ९८ प्रतिशत हिस्सा ओगटेको र करिब ५७ प्रतिशत श्रमशक्तिलाई रोजगारी प्रदान गरिरहेको यस क्षेत्रको अति महत्वपूर्ण योगदान रहदा रहँदै पनि घरजग्गा धितोको अभावका कारण कर्जा र वित्तीय पहुँचमा समस्या झेल्दै आइरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.