समग्रमा बजेट सकारात्मक भएको आर्थिक क्षेत्रका विज्ञहरुको भनाई

  २०७९ जेठ १९ गते ११:००     विकासन्युज

काठमाडौं । बजेट समग्रमा सकारात्मक भएको आर्थिक क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुवले बताएका छन् । नेपाल आर्थिक संघको आयोजना, सिबिफिन र अर्थमन्त्रालयको सहकार्यमा भएको २०७९/८० को बजेटमाथि बहस कार्यक्रममा बोल्दै विज्ञ तथा सरोकारवालाहरुले सो कुरा बताएका हुन् ।

बजेटको आकार ठिकै–ठिकै छ – विश्वम्भर प्याकुरेल

अर्थविद् विश्वम्भर प्याकुरेलले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट ठिकै–ठिकै भएका बताए । उनले कसैले चुनावी र कसैले वितरणमुखी भनिरहेको सन्दर्भ राख्दै बजेटमा अलिकति बढी र कम राजनैतिक पार्टीले गर्ने धारणा राखे ।

सरकारले ल्याएको बजेटको आकार अर्थतन्त्र भन्दा भिन्न छ वा छैन भनेर निष्कर्ष निकाल्नुभन्दा अगाडि अर्थतन्त्रका मुख्य सूचकहरलाई हेर्नुपर्ने अर्थविद् प्याकुरेलको धारणा छ । जिडिपी को वृद्धि धेरै बढेको देखाइएको, मुद्रास्फीति ७ प्रतिशतको सिमामा रहने अनुमान गरिएको, गत वर्षको तुलनामा वैदेशिक सहयोग ५ प्रतिशत कम भएको, आदि लगायतका कुराहरु अर्थविद् प्याकुरेलले औंल्याएका थिए । कहिलेकाहीँ नेपालको तुलना श्रीलंकासँग गरिएपनि नेपालको अवस्था त्यस्तो नरहेको उनको जिकिर थियो ।

बजेटले आर्थिक विचारधारात्मक बहसको अन्त्य गरेको छ – डा पोषराज पाण्डे

सरकारले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेटले आर्थिक विचारधारात्मक बहसको अन्त्य गरेको डा. पोषराज पाण्डेले बताएका छन् । विगतका बजेटहरुको तुलनामा आगामी आवको लागि ल्याइएको बजेट फरक नभएको बताउँदै उनले भने, ‘अब मुलुकमा आर्थिक स्थिरताको प्रारम्भ भएको भन्ने लागेको छ ।’

साम्यवाद स्थापना गर्न बन्दुक उठाएको मान्छेले निजी क्षेत्रलाई आर्थिक इन्जिनको रुपमा राखेर बजेट ल्याउँदा आफु खुसी भएको बताउँदै डा. पाण्डेले भने, उहाँ साम्यवाद स्थापना गर्नको लागि बन्दुक उठाएको मान्छे हो, उनले भने, ‘बजेटमा निजी क्षेत्रलाई इन्जिनको रुपमा अगाडि सारिएको’, विप्पा कार्यान्वयन गर्ने भन्ने रहेको, विदेशीले अपार्टमेन्ट किन्न पाउने भन्ने कार्यक्रम राखिएको छ ।’ डा. पाण्डेले भने, बजेटले इन्ड अफ द इकोनोमिक आइडोलोजिकल डिबेटको अवस्थामा पुर्याएको छ ।

आत्मनिर्भरता र स्वदेशी वस्तुलाई समाजवाद झैं छाडा छोड्न नहुने यसको स्पष्ट परिभाषित गर्नुपर्ने डा. पाण्डेले बताए । अहिलेको बजेटमा सबैभन्दा धेरै खर्च व्यहोर्ने गरिव भएको जसले ५२.७ प्रतिशत, धनीले १९ प्रतिशत, विदेशी अनुदान २.८ प्रतिशत र आगामी पुस्ताले २५ प्रतिशत व्यहोर्ने उनको भनाई छ ।

निर्यात दोब्बर पार्ने तर उपलब्धिमा ३२ अर्ब राख्ने, निर्यात दोब्बर बनाउने तर जिडिपी अवस्था सो अनुपातमा विकास नहुने जस्ता कुराहरु बजेटमा विरोधाभाष रुपमा रहेको डा. पाण्डेले बताए । कृषिजन्य सामाग्रीको आयातमा ओभर भ्यालुएसन भएको आँफुलाई शंका भएको बताउँदै उनले अर्थमन्त्रालयलाई सो विषयमा चासो राख्न आग्रह गरे । साथै उनले निर्यात प्रोत्साहन दिने कुरालाई हेर्नुपर्ने बताए । खासमा वस्तुको उत्पादन गर्नेहरुले भन्दा पनि बिचौलियाहरुले प्रोत्साहन पाएको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताए । तर, बजेटमा सो कुरालाई सम्बोधन नगरिएको उनको भनाई थियो ।

बजेटले सबै क्षेत्रलाई खुसी बनाएको छ – डा गोविन्द नेपाल

कार्यक्रममा वक्ताको रुपमा सहभागी डा गोविन्द नेपालले सरकारले आगामी आवको ल्याएको बजेटले सबै क्षेत्रलाई खुसी पार्ने काम गरेको बताए । उनले भने, ‘यो बजेटले प्रधानमन्त्री शेरबहादुरदेखि अर्थमन्त्री जनार्दन शर्मासम्म सबै खुसी छन् ।’ बजेट राम्रो नियतका साथ आएको र बजेटले केही लोककल्याणकारी र केही रुपान्तरणकारी कार्यक्रमसहित आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न उन्मुख भएको उनको भनाई थियो ।

बजेट महत्वकांक्षी भएको र बजेटमा भएका कुराहरु पुरा गर्न धेरै वर्ष लाग्ने डा नेपालको धारणा छ । बजेटले विगतका कार्यक्रमलाई पनि शमावेश गरेको र यो वर्ष चुनावी वर्ष भएकाले कार्यान्वयन चुनौतिपूर्ण रहेको उनले बताए । बजेट पूर्ण रुपमा कार्यान्वयन नहुने भएकाले सरकारलाई बजेट कार्यान्वयनको लागि पैसाको अभाव नहुने उनको भनाई थियो । प्रगतिशिल अर्थमन्त्रीले गैरप्रगतिशिल ढगले तलब बढाएकोमा भने उनले असहमति व्यक्त गरेका थिए ।

बजेट नयाँ ढंगले डिपार्चर भएको छ – मधुकुमार मरासिनी/सचिव अर्थमन्त्रालय

बजेट औसत रुपमा एउटा अनुशासनको दायरामा नै रहेर निर्माण भएको र विगत ४ वर्षका बजेटहरुको अनुपातमा आकार वृद्धि स्वभाविक भएको अर्थसचिव मधुकुमार मरासिनीले बताए । कार्यक्रममा आफ्नो भनाई राख्दै सचिव मरासिनीले आगामी वर्षमा राष्ट्रिय विद्युत प्रशारण लाइनमा ७१५ मेगावाट विद्युत थपिने बताउँदै त्यसले बजेटको आकारलाई स्वभाविक बनाउन सहयोग गर्ने बताए ।

बजेट भनेको राजनैतिक स्टेटमेन्ट पनि भएकाले यसमा भिजन र मिसनका कुराहरु पनि शमावेश हुनु स्वभाविक भएको उनको तर्क थियो । आगामी आवको ल्याइएको बजेटले निजी क्षेत्रलाई धेरै नै विश्वास गरेको बताउँदै सचिव मरासिनीले बजेट नयाँ ढंगले डिपार्चर भएको बताए ।

बजेटमा नवप्रर्वनमा आधारित उद्यम, कृषिको लागि ५ सय अर्बको कोष निर्माण र आइटी सर्भिस निर्यात जस्ता धेरै नयाँ कार्यक्रम बजेटमा राखिएको उनको धारणा थियो । कार्यान्वयनको कसरी भन्ने कुरा पनि बजेटमा शमावेश गरिएको उनको भनाई थियो ।

बजेटले हामीले उठाएका धेरै विषय सम्बोधन गरेको छ – पवन गोल्यान

आफुहरुले उठाएको धेरै कुरा बजेटले सम्बोधन गरेको सिबिफिनका अध्यक्ष तथा बैंकर्स पवन गोल्यानले बताए । बजेटले कृषिलाई प्राथमिकतामा राखेको उनले बताए । १२ हजार युवालाई तालिम दिएर स्वरोजगार बनाउने कुरामा आफुहरले पनि सरकारसँग सहकार्य गर्न तयार रहेको उनको भनाई थियो ।

बजेटलाई औसतरुपमा स्वागत गर्दै केही कुराहरु भने बजेटले समेटन नसकेको गोल्यानले बताए । बैंकको लिक्विडिटी समस्या, बैंकको ३० प्रतिशत आम्दानी कर, बैंकको सिएसआरलाई सरकार स्वयंले प्रयोग गर्ने कुरा र बैंकका शाखाहरुबाट थप ५ आयोजनामा लगानी गर्ने कुराहरुमा भने बजेट उचित सम्बोधन नगरेको उनको भनाई थियो ।

निर्यातमुखी उद्योगलाई विद्युत छुट दिने कुरा बजेटमा नआएको बताउँदै गोल्यानले सेनेटरी प्याडको आयातमा ९० प्रतिशत भञ्सार छुट दिने कुराले स्वदेशी उद्योगलाई राम्रो नगर्ने बताए । राजस्व चुहावट व्यवस्थापन बजेटले उचित सम्बोधन नगरेको बताउँदै तरपनि बजेट समग्रमा राम्रो भएको उनको तर्क थियो । मुलुकले ५ वर्षसम्म आयातलाई नियन्त्रण गरेर अगाडि बढेमा मात्रै कृषिको विकास गर्न सकिने गोल्यानको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.