२०७९ जेठ २५ गते २०:०६ विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्नो वार्षिकोत्सवको अवसरमा चार जनालाई सम्मानित गरेको छ । आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा बोर्डले कार्यकारी निर्देशकसहित चार जनालाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरेको हो ।
जसमध्ये बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ दीर्घकालिन पदकबाट सम्मानित भएका छन् । लामो समयदेखि धितोपत्र बोर्डको विकासको लागि दिएका महत्वपूर्ण योगदानको स्वरुप श्रेष्ठलाई सो पदकबाट सम्मनित गरिएको बोर्डले जनाएको छ ।
साथै, बोर्डले आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीलाई पुँजीबजार पत्रकार पुरस्कारबाट सम्मान गरेको छ । बोर्डले बोधी सञ्चार प्रा.लि. द्धारा सञ्चालित टक्सार म्यागजिनका प्रधान सम्पादक बुढाथोकीलाई ५० हजार रुपैयाँ राशीसहित सो पुरस्कारबाट सम्मानित गरेको छ । पत्रकार बुढाथोकीले लामो समयदेखि पुँजी बजारको क्षेत्रमा उत्कृष्ट समाचार सम्प्रेषण गरेको आधारमा सो पुरस्कार हस्तान्तरण गरिएको बोर्डले जनाएको छ ।
बोर्डले लामो समयदेखि वित्तीय बजार सम्बन्धमा लेखिएका उत्कृष्ट थेसिसलाई पुरस्कृत गर्दै आएको छ । सो अनुसार बोर्डले यो पटक पनि थेसिसको उत्कृष्टताको आधारमा दुई जनालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्वेष्ट इन्टरनेशनल कलेजका आशिष बुढाथोकी र स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन यूनिभर्सिटीका राकेशकुमार राय रहेका छन् ।
बुढाथोकीले ‘अ स्टडी अफ अनलाइन सेलिङ एट नेपाली मार्केट’ को शीर्षकमा थेसिस् गरेका हुन् भने रायले ‘इम्प्याक्ट अफ अडिट कमिटी इनडिपेन्डेन्स कम्पिटेन्स एण्ड डिलिजेन्स अन इन्भेष्टमेन्ट डिसिजन मेकिन अफ नेप्लिज लिष्टेड कम्पनी’ शीर्षकमा थेसिस् गरेका हुन् । बोर्डले बुढाथोकी र राय दुबैलाई जनही ७५ हजार रुपैयाँसहित प्रमाण पत्र प्रदान गरेको हो ।
अनि, तस्विरमा यस्तो देखियो बोर्डको वार्षिकोत्सव
Copyright © 2024 Bikash Media Pvt. Ltd.