नाकामै थन्किएका सुन्दरका विद्युतीय बस ४ करोड कर छुटपछि भित्रिए, साउनदेखि काठमाडौंमा गुड्ने

  २०७९ असार ९ गते १८:०४     विकासन्युज

काठमाडौं । भन्सार शुल्कमा विवाद भएर रोकिएका सुन्दर यातायातको विद्युतीय गाडी नेपाल भित्रिएका छन् । सरकारले विद्युतीय सवारीमा सहुलियतको घोषणा गरेतापनि चर्काे भन्सार शुल्क भएको भन्दै फिर्ता पठाउने तयारीमा रहेको सुन्दरले सरकारले छुट दिएपछि ६ वटा विद्युतीय गाडी नेपाल भित्र्याएको हो ।

२० वटा विद्युतीय गाडीमध्ये सुरुवाती चरणमा ६ वटा भित्र्याइएको र बाँकी १४ वटा भन्सारपासको क्रममा रहेको सुन्दर यातायातले बताएको छ । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा सरकारले भन्सारमा छुट दिएपछि विद्युतीय गाडी भित्र्याइएको बताउँछन् ।

उनले सरकारी नीति अनुसार नै कम्पनीले छुट पाएपछि विद्युतीय गाडी भित्र्याएको बताए । सुन्दर यातायातले ल्याएको विद्युतीय गाडीमा सरकारले भन्सार तथा सडक यातायात दस्तुरमा केही छुट र बीमा कम्पनीले नै गर्नेगरी सहमति भएपछि गाडी ल्याएकाे बताए ।

यसअघि विद्युतीय सवारी ल्याउँदा १.५ प्रतिशत रहेको भन्सार शुल्कमा १ प्रतिशत र ५ प्रतिशत रहेको सडक यातायात शुल्कमा सुन्दरले २.५ प्रतिशत तिनु पर्ने सहमति भएपछि विद्युतीय गाडी भित्र्याएको अध्यक्ष थापाले बताए ।

सरकारले भन्सार तथा सडक यातायात शुल्कमा छुट दिँदा प्रति गाडी २० लाख रुपैयाँसम्म छुट पाएको उनको भनाइ छ । एउटा गाडीमा २० लाख छुट पाउँदा २० वटा गाडीको ४ करोड रुपैयाँ छुट सुन्दर यातायातले पाएको छ । यसअघि सुन्दरले चर्काे भन्सार तथा सडक शुल्क रहेको भन्दै प्रति गाडीमा ४० लाख रुपैयाँसम्म महँगो भएको भन्दै फिर्ता पठाउने चेतावनी दिएको थियो ।

‘सरकारको नीति अनुसार नै हामीले २० वटा विद्युतीय बस ल्याउने तयारी गरेर सुरुवाती चरणमा ४ वटा गाडी वीरगन्ज भन्सार कार्यालयमा ल्याएका थियौँ, ‘वीरगन्ज भन्सार कार्यालयमा कर विवाद भएपछि लामो समय ४ बस भन्सारमै रोकिए’, उनले भने, ‘हामीले पटक/पटक सरकारी अधिकारीलाई भन्सार छुट दिन आग्रह गरेपछि छुट पायौँ, छुट नपाएपछि हामीले भारतमा बिक्री गर्ने तयार गरेका थियौँ, अब सबै गाडी ल्याउँछौं,’ उनले विकासन्युजसँग भने ।

सुन्दर यातायातले जर्मनबाट खरिद गरेर ल्याएको २० वटा विद्युतीय बसमध्ये ४ वटा बस वीरगन्ञ भन्सारमा थन्किएका थिए । १६ वटा भारतमै थिए । सुन्दर यातायातले प्रति बस एक करोड ८५ लाख रुपैयाँका दरले २० वटा विद्युतीय बस खरिद गरेको थियो । भन्सारका अधिकारीहरुले खरिद मूल्यमा २६ प्रतिशत भन्सार शुल्क तोकेका थिए ।

भैरहवामा गुडे ४ गाडी

सुरुवाती चरणमा सुन्दरले ४ वटा विद्युतीय बस भैरहवा रुटमा सञ्चालन गरेको छ । पहिलो चरणमा भित्रिएका ती विद्युतीय बस भैरहवाको सुनौलीदेखि कपिलवस्तुको चारजितपुरसम्म सञ्चालन गरिएको अध्यक्ष थापाले बताए ।

‘भैरहवामा ६ थान बस सञ्चालन गरिसकेका छौँ, साउन १० गतेभित्र हामीले १६ वटा विद्युतीय गाडी ल्याएर काठमाडौं उपत्यकामा सञ्चालन गर्ने तयारीमा छौँ’, उनले भने ।

यस्तै, सुन्दर यातायातले सरकारसँग विद्युतीय गाडी चार्जिङ स्टेशन र पार्किङका लागि स्थान उपलब्ध गराउन माग गरेको छ ।

‘हामीले पार्किङ स्थल र चार्जिङ स्टेशन बनाउन आग्रह गरेका थियौँ, तत्काल सरकारले ठूलोे जग्गा उपलब्ध गराउन नसक्ने र कति सार्वजनिक जग्गा भए खोजी गरेर ल्याउन हामीलाई भनेको छ’, उनले भने, ‘हामीले काठमाडौं उपत्यका भित्र वा नजिकै रहेका सरकारी जग्गा हेरिरहेका छाैं, भेटिपछि निवेदन दिन्छौँ ।’

One comment on "नाकामै थन्किएका सुन्दरका विद्युतीय बस ४ करोड कर छुटपछि भित्रिए, साउनदेखि काठमाडौंमा गुड्ने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.