उपहारमा नेपाली ब्राण्डका रक्सी

  २०७९ भदौ १५ गते ९:३०     राजिव न्यौपाने

काठमाडौं । गत साता संखुवासभाका सुमन कोइराला कोरिया जाने तरखर गर्दै थिए । उनी कोरियो जानुभन्दा अघिल्लो दिन नेपाली ब्राण्डका रक्सीहरु खोज्न दिनभर बजारमा भौतारिए । उनलाई उनका साथीहरुले नेपाली ब्राण्डको रक्सी उपहार ल्याउन आग्रह गरेका थिए । उनले पनि छानीछानी नेपाली ब्राण्डका ५/६ बोतल रक्सी जम्मा गरेर र सुटकेसमा सुरक्षितका साथ प्याक गरे ।

धेरै मानिसहरु रक्सीका सौखिन् हुन्छन् । कतिपय रक्सी नपिउनेहरु पनि घरको दराजमा सजाउन रुचाउँछन् । कतियले साथीहरु भेट्टिने बित्तीकै रक्सी पिउने चाहना व्यक्त गर्छन् । साथीभाई विदेश जाँदा या फर्कदा रक्सीको गिफ्ट (उपहार) ल्याउन आग्रह गर्छन् । पछिल्लो समय यही अभ्यास व्याप्त छ ।

विदेशी होस् वा नेपाली किन नहुन् नेपालबाट विदेश जानेले नेपाली ब्राण्डका रक्सी उपहारका रुपमा लिन थालेका छन् । नेपाली कोसेलीको संज्ञा दिँदै उनीहरु साथीभाई या आफन्तलाई रक्सी उपहारका लागि आग्रह गर्दै आएका छन् । विदेशबाट नेपाल आउनेहरुले फिर्ता जाँदा नेपालबाट नेपाली ब्राण्डका रक्सी उपहार लिने गरेका छन् भने नेपालबाट विदेश जानेहरु पनि विदेशमा रहेका आफन्तहरुलाई नेपाली ब्राण्डको रक्सी उपहार लिइरहेका भेटिन्छन् ।

केही वर्ष अगाडि केही सीमित मान्छेहरुले मात्रै विदेशको रक्सी नेपाल ल्याउँथे । प्रायः लाहुरे, एनआरएनएले नेपाल फर्किँदा विदेशी ब्राण्डका रक्सीहरु ल्याउँथे । तर, पछिल्लो समय भने नेपाली र विदेशीका लागि पनि स्वदेशी ब्राण्डका रक्सीहरु रुचाउने गरेका छन् ।

पछिल्लो समय नेपालमा पनि विभिन्न नेपाली ब्राण्डका रक्सी व्यापक रूपमा उत्पादन भइरहेको छ । तर, उत्पादन भए पनि रक्सीको आयातमा कमि आउन भने सकेको छैन । दिनप्रतिदिन रक्सीको आयात बढ्दो छ । विदेशी रक्सी आयात मात्रै नभई मुद्रा पनि बढ्दो रूपमा निर्यात भइरहेको छ ।

नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष शोनाम शेर्पा अहिले विदाको समयमा नेपाल आएका नेपालीहरुले पनि विदेशमा रहेका साथी तथा आफन्तहरुलाई उपहारको रुपमा नेपाली ब्राण्डको रक्सी लिने गरेको बताउँछन् । स्वदेशी ब्राण्डका अहिले धेरै रक्सी अन्तर्राष्ट्रिय बजारमा पनि लोकप्रिय बन्न पुगेको उनको बुझाइ छ ।

रक्सी उत्पादन गर्ने कम्पनीहरू पनि अहिले स्वदेशी रक्सीको उत्पादन गरी ब्राण्ड गरी रहेको शेर्पाले जानकारी दिए । उनका अनुसार विदेशमा पनि नेपाली ब्राण्डको रक्सी भनेर नेपालीहरूले खाने चलन बढेको छ । तर, स्वदेशी रक्सीको ब्राण्डिङ गर्न नसक्दा भने केही समस्या भएको उनको धारणा छ ।

अध्यक्ष शेर्पाका अनुसार स्वदेशी ब्राण्डका ९० वटा रक्सीउत्पादन गर्ने कम्पनी छन् । बियरका ३६ वटा र वाइनका ६० वटा कम्पनी दर्ता भएका छन् । ती कम्पनीहरुले फरक-फरक पेय पदार्थ उत्पादन गर्छन् ।

नेपालदेखि विदेशी बजारसम्म स्वदेशी ब्राण्डका रक्सी ८८४८ भोड्का, वल्र्ड दरबार, यार्चागुम्बा लगायत चर्चित ब्राण्ड कोसेलीका रुपमा विदेश लिइरहेका छन् । उनका अनुसार ठूलो संख्यामा निर्यात हुन नसके पनि सामान्य सो ब्राण्डका रक्सी अमेरिका, जापान र अस्ट्रेलिया निर्यात भइरहेको छ । यस्तै गोल्डेन ओक नेपाली बजारमा धेरै बिक्री वितरण हुने सस्तो मूल्यमा पाइने स्वदेशी ब्राण्ड हो । यस ब्राण्डको रक्सी विदेशी बजारमा निर्यात नहुने पनि शेर्पाले बताए । उनका अनुसार सस्तो मूल्य भएको कारण धेरैको रोजाइमा पनि गोल्डेन ओक पर्छ ।

स्वदेशी ब्राण्डमध्ये सबैभन्दा बढी मूल्य पर्ने रक्सीमध्ये यार्चागुम्बा रहेको उनको भनाइ छ । उक्त रक्सी स्वदेशी कच्चा पदार्थबाट बनेको हो । शेर्पाका अनुसार यार्चागुम्बा रक्सी सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी पनि हो । अरू रक्सी विदेशीबाट ल्याएको कच्चा पदार्थबाट नेपालमा तयार पारिने पनि शेर्पाले बताए । यस्तै, स्वदेशी ब्राण्डका बियरमा गोरखा स्ट्रङ, नेपाल आइस, अर्ना बियर रहेका छन् । सो ब्राण्डका बियर अहिले नेपाली बजारमा चर्चित छन् ।

अन्योलमा अन्तर्राष्ट्रिय बजार

नेपाली ब्राण्डको रक्सी विदेशी बजारमा विज्ञापन गर्न नसक्दा व्यापार अन्योलमा परेको पनि शेर्पाले बताए । विज्ञापन गर्न नसक्दा अन्तर्राष्ट्रिय बजारमा स्वदेशी रक्सी बेच्न मुस्किल परेको उनको भनाइ छ ।

स्वदेशी रक्सीको माग विदेशी बजारबाट पनि अपेक्षाकृत माग नआएको र माग आए पनि थोरै आउने शेर्पाले जानकारी दिए । ‘विदेशीले पनि नेपाली ब्राण्डका रक्सी खाएको देखिँदैन, मलाइ खुकुरी रम नै चाहियो यो ब्राण्डका रक्सी चाहियो भन्ने चलन छैन, नेपाल आएको बेला चाहिँ स्वदेशी नै खाएको देखिन्छ,’ उनले भने ।

‘प्रायः सबै देशमा रक्सीको उत्पादन हुन्छ, नचिनेको ब्राण्डको रक्सी बिदेशमा खाँदैनन्, स्वदेशी ब्राण्ड उनीहरुको रोजाइमा पर्छ, चाइनाबाट कुनै एउटा ब्राण्डको रक्सी आयो भने हामी त्यसको बारेमा थाहा नपाई सेवन गर्दैनौं, २५/३० बोतल स्वदेशी रक्सी विदेशमा बेच्न पनि एक महिना लाग्छ, नाम नसुनेको ब्राण्डको रक्सी खान मान्दैनन्,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.