२०७९ भदौ २२ गते ११:३८ विकासन्युज
कास्की । धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान रोपेको दुई महिना बितिसक्दा पनि किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ ।
सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट टेडिङले कर्पोरेशनले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव जेल्नुपरेको हो । धान रोपेको एक महिनामा पहिलो पटक र दुई महिनापछि दोस्रो पटक धानमा युरिया मल प्रयोग गरिन्छ तर यस वर्ष दोस्रो पटक छर्ने बेलामा मात्र मल आएको छ, त्यो पनि न्यून मात्रामा । रासायनिक मलकै अभावमा यस वर्ष धान उत्पादनमा १५–२० प्रतिशत कमी आउने किसान बताउँछन् ।
कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख ठाकुरप्रसाद बाँस्तोलाले कास्की, मुस्ताङ र मनाङका लागि धान तथा तरकारीमा प्रयोग गर्न भदौमा मात्र चार सय ६५ टन आवश्यक पर्नेमा केन्द्रवाट एक सय ६० टन मात्र छुट्याइएकाले किसानले पर्याप्त मात्रामा मल पाउन नसकेको बताए । कास्कीका ६५ कृषि सहकारीलाई समान रुपमा रासायनिक मल वितरण गरिएको उनले जानकारी दिए । सरकारी अनुदानमा र सरकारी निगरानीमै कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ३० प्रतिशत रासायनिक मल खरिद गरी किसानलाई सस्तो मूल्यमा बिक्री गर्ने जिम्मा पाएका छन् । अनुदानको युरिया मलमा सरकारको ८६ दशमलव सात र किसानको १७ दशमलव तीन प्रतिशत मूल्य पर्छ । किसानको राहतका लागि सरकारले अनुदान रकम छुट्याएको भए पनि यस वर्ष ४५ प्रतिशत अनुदान रकम घटाइ दिएको छ ।
विदेशबाट रासायनिक मल खरिद गरी सस्तो मूल्यमा बिक्री गर्ने जिम्मा लिएका ती कम्पनीले समयमै ल्याउन नसक्दा किसानले अभाव मात्र खेपेनन्, धान उत्पादनमा नोक्सान व्यहोर्नुपर्ने भएको छ । अघिल्लो आर्थिक वर्षमा सरकारले रासायनिक मल युरिया, डीएपी र पोटास खरिदका लागि २८ अर्ब रुपैयाँ अनुदान रकम छुट्याएकामा यस वर्ष १५ अर्ब रुपैयाँ मात्र छुट्याइएको सम्बन्धित कम्पनीका अधिकारी बताउँछन् ।
कास्कीमा साउनका लागि मात्र तीन सय टन युरिया मल आवश्यक पर्छ । हाल १६० टन मात्र छुट्याएर पठाएको छ । यसले किसानलाई पुग्दैन । कास्की, मुस्ताङ र मनाङका लागि छुट्याएको एक सय ६० टन युरिया मल यहाँका किसानलाई प्रर्याप्त छैन । “मल छिट्टै ल्याउने तयारीमा छाँै”, प्रमुख बाँस्तोालाले भने । साल्ट ट्रेडिङ कर्पोरेशन गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख वासुदेव उपाध्यायले अन्तर्राष्ट्रिय बजारमै रासायनिक मलको अभाव हुँदा समयमै ल्याउन नसकेको स्वीकार गरे । कोरोनाकै कारण विदेशका केही रासायनिक मल उद्योग बन्द भएको र उनीहरुले आफँैलाई मात्र मल उत्पादन गरेका कारण खरिद गरेर ल्याउन कठिन भएको उनको भनाइ छ ।
खरिद गरेर ल्याएको रासायनिक मल बिक्रीका लागि कृषि सहकारीमा पठाउने गरिएको उपाध्याय बताउनुहुन्छ । सम्बन्धित किकायबाट अनुगमन नभएकै कारण ती कृषि सहकारीले आफूखुसी मूल्य निर्धारण गर्ने गरेको पाइएको छ । रासायनिक मलमा केही सहकारीले बढी मूल्य लिएको भन्दै किसानले पोखरा महानगरीय कृषि महाशाखामा उजुरी दिएका छन् । महाशाखाका अनुसार कास्कीमा मात्र २५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिँदै आएको छ ।
पोखरा–१३ का विष्णु अधिकारीले रासायनिक मल अभावकै कारण किसान यतिबेला छटपटाइरहेको बताउनुभयो । किसानले समयमा मल नपाउँदा उत्पादन नै घट्ने अवस्था भएको उनी बताउँछन् । तरकारीमा छर्नका लागि मल नहुँदा उत्पादन घटेको छ । धान रोप्दा हिलोमा छर्ने डीएपी अभाव नभए पनि युरिया अभाव हुँदा किसान मर्कामा परेका हुन् । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.