२०७९ भदौ ३० गते १८:३० विकासन्युज
काठमाडौं । नबिल बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा डाइरेक्ट सेवा शुरु गरेको छ । बैंकले भिसा इन्टरनेशनलको सहकार्यमा उक्त सेवा सुरु गरेको हो ।
यस सेवामार्फत विदेशमा रहेका जो कोहीले नबिल बैंकको भिसा कार्डका ग्राहकलाई बिना झन्झट रेमिटेन्स पठाउन सक्नेछन् ।
यो सेवा लागु भएसँगै भिसा डायरेक्टमा सहभागी १८० भन्दा बढी देशहरूबाट नेट-बैंकिङ, मोबाइल वा एटीएम मार्फत १६ अंकको भिसा कार्ड नम्बरमा रकमान्तर गर्न सकिने भएको हो । नबिल भिसा क्रेडिट, डेबिट (बैंक खाता) र प्रिपेड कार्डमा रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यो सेवा समावेश भएसँगै नबिल भिसाका कार्डधनीहरूले विश्वको जुनसुकै ठाउँबाट आफ्नो कार्ड/खातामा सहज र सुरक्षित रूपमा पैसा प्राप्त गर्न सक्नेछन् ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आफ्ना ग्राहकहरूलाई भिसा डाइरेक्ट सेवा सेवा सुरु गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । ‘यो सेवाको शुरुवातसँगै स्वदेशी र विश्वभरबाट सहज र सुरक्षित तरिकाले रेमिट्यान्स प्राप्त गर्न अर्को एउटा च्यानल खोलेको छ,’ उनले जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.