टेलिकमले शुक्रबारदेखि निःशुल्क ई-सिम बाड्ने

  २०७९ भदौ ३० गते १८:५३     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले भदौ ३१ गतेदेखि ग्राहकलाई निःशुल्क ई-सिम वितरण गर्ने भएको छ । कम्पनीले सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकलाई निःशुल्क ई-सिम (इम्बेडेड् सिम कार्ड) वितरण गर्ने भएको हो ।

ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन् ।

हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी, नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई-सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ ।

ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिले देखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ ।

ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

ई-सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस (वेयरएबल डिभाइस) हरुमा समेत प्रयोग गर्न सकिन्छ ।

हालका सबै प्रयोगकर्ताले समेत ई-सिम प्रयोग गर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई-सिम लिन सक्ने टेलिकमले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.