२०७९ असोज ५ गते १५:५९ विकासन्युज
काठमाडौं । सहकारी विभागका सूचना अधिकारी तथा उप–रजिष्टार टोलराज उपाध्यायले सन्दर्भ ब्याजदर बढाउने अवस्था अहिले नभएको बताएका छन् । बुधबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले सहकारीको सन्दर्भ ब्याजदरको विषयमा आयोजना गरेको छलफल कार्यक्रममा उनले सन्दर्भ ब्याजदर बढाउने अवस्था नभएको धारणा राखेका हुन् ।
पछिल्लो समय सहकारीकर्मीहरुले सन्दर्भ ब्याजदर बढाउनु पर्ने माग गरिरहेको बेला उनले विभागको आधिकारिक धारणा भएको भन्दै यस्तो बताएका हुन् । विभाग ऐनको प्रावधानमै रहेर काम गर्ने भएकोले अहिले सन्दर्भ ब्याजदर बढाउने अवस्थामा नरहेको उनको तर्क छ ।
‘सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले एउटा उपसमिति बनाएको छ, हामीले अध्ययन गरिरहेका छौं, तर ऐनमै रहेर कुरा गर्ने हो भने ब्याजदर १६ प्रतिशतभन्दा बढी बढाउन सक्ने अवस्था देखिँदैन, कानुन बाहेकका विषय सिफारिस गर्न हामीलाई गा¥हो छ,’ उनले कार्यक्रममा भने ।
यस्तै, उनले सबैको हितमा राज्य चल्नु पर्ने भएपनि कमजोर वर्गलाई भने बढी प्राथमिकता दिनु पर्ने धारणा राखे । उनका अनुसार सहकारी विभाग सहकारी संस्थाहरुको संख्या घटाउने मनसायमा छ । उनले अहिले आफुखुसी रुपमा ब्याजदर बढाउने सहकारीलाई तत्काल कारवाही गर्ने पनि चेतावनी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.