२०७९ असोज २७ गते १८:५० विकासन्युज
काठमाडौं । ब्याजदरको विषयमा नेपाल बैंकर्स संघमा विवाद भएको छ । बुधबार बसेको बैंकर्स संघको बैठकमा अधिकांश सीईओले ब्याजदर नबढाउने र केहीले बढाउनु पर्ने अडान राखेपछि सीईओहरुबीच विवाद भएको हो ।
विवाद भएपछि निष्कर्षविहिन रुपमा बैठक सकिएको स्रोतको भनाइ छ । ‘असोज महिनामा ब्याज बढिसकेकोले कात्तिकमा बढाउनु हुन्न भन्ने धेरैको सीईओहरुको मत रह्यो तर केही बैंकका सीईओहरुले ब्याजदर बढाउनु पर्ने अडान राखेपछि केही समय विवाद भयो, पछि कुनै निर्णय नै नभएर बैठक सकियो,’ स्रोतले भन्यो ।
स्रोतका अनुसार अहिले कर्जा–निक्षेप (सीडी रेसियो) अनुपात बढी भएका बैंकहरुले ब्याजदर बढाउनु पर्ने धारणा राखेका थिए । तर, अधिकांश बैंकका सीईओहरुले बढाउन नहुने धारणा राखेपछि बैठक विवादमै टुङ्गिएको हो । त्यसपछि संघको बैठक नै बस्न सकेको छैन । सीईओहरुबीच भर्चुअल माध्यममार्फत् बैठक बसेको थियो ।
संघका अध्यक्ष अनिल कुमार उपाध्याय भने सुदूरपश्चिको भ्रमणमा छन् । कृषि विकास बैंकका सीईओ समेत रहेका उपाध्याय कृषि विकास बैंककै कामको शिलशिलामा सुदूरपश्चिम गएका छन् । उनले ब्याजदरको विषयमा संघको बैठक बसेपनि ब्याज नबढ्ने धारणा राखे ।
‘ब्याज बढाउनु हुन्न भने हाम्रो बुझाइ हो, असोजमा ब्याज बढाउँदा पनि निक्षेप बढेको देखिएन, यस पटक ब्याजदर बढ्दैन, अब बैठक नै बसेर ब्याजदरको विषयमा निर्णय गर्न हामीले आवश्यक देखेका छैनौं,’ उनले भने ।
विगत ७ महिनादेखि निक्षेपको ब्याजदर र राखेका बैंकहरुले गत असोजमा बढाएर १२.१३ प्रतिशत माथि पुर्याएका थिए । अहिले बैंकहरुले रेमिट्यान्स खातामा १५ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । असोज महिनामा बैंकहरुले १० प्रतिशत थप गरेर व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ करिव १०.१३ प्रतिशत ब्याजदर प्रदान गरिरहेका छन् ।
यस्तै, उनले यस पटक अधिकांश बैंकहरुले आधारदर भने बढाउन सक्ने धारणा राखे । उनले राष्ट्र बैंकको नीति अनुसार तीन महिनाको एक पटक आधारदर परिवर्तन गराउन पाइने व्यवस्था अनुरुप बैंकहरुले आधार दर परिवर्तन गराउन पाउने बताए । बैंकहरुले आधारदर परिवर्तन गर्न पाउने अधिकार भएकोले सो निर्णय बैंक आफैले गर्ने धारणा उपाध्ययाले राखे ।
आधारदर बढेपछि बैंकको कर्जाको ब्याजदर पनि बढ्छ । अहिले पनि अधिकांश वाणिज्य बैंकहरुको आधार दर दोहोरो अंकमा छ । दोहोरो अंकमा आधार दर भएका बैंकबाट ऋण लिँदा लागत बढी लाग्ने गर्छ । कात्तिकमा अधिकांश बैंकले आधारदर बढाउने निश्चित छ । ती बैंकले आधारदर बढाएपछि औसत आधारदर १० प्रतिशत बढी पुग्ने देखिन्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.