जिल्ला अस्पताल सुनसरीकाे आम्दानी मासिक ५० लाख

  २०७९ कार्तिक १३ गते ११:४५     विकासन्युज

सुनसरी । कुनैबेला प्राथमिक उपचार गराउनसमेत बिरामी जान नचाहने अस्पतालमा यतिबेला सेवा लिनेको भीड हुने गरेको छ । जिल्ला अस्पताल सुनसरीले आफ्नो धुमलिँदो छविलाई सुधार्दै सेवा प्रवाहलाई प्राथमिकता दिएसँगै अस्पताल पुग्ने बिरामीको संख्या बढ्न थालेको हो । जहाँ एका बिहानै पूर्जा काटेर पालो पर्खनेको भीड थामी नसक्नु छ । पालो कुरेरै भएपनि उपचार गराउनेको संख्या दिनानुदिन बढ्दो छ ।

लामो समय स्वार्थगत राजनीति र आर्थिक अनियमितता बाहेक नचाहनेहरुको चङ्गोलबाट उम्कन नसकेको इनरुवा अस्पतालबाट यतिबेला भने सेवाग्राहीले परिवर्तनको अनुभुति गर्न पाएका छन् । स्रोत साधनको उपलब्धताको आधारमा अस्पतालले २४ सै घण्टा विशेषज्ञ डाक्टर सहितको सेवा थालेसँगै अस्पतालप्रतिको आम सर्वसाधारणको धारणा समेत बदलिएको छ । अस्पतालको सेवाप्रति विश्वास जगाएको छ । जसको पछाडी एक जिद्दी डाक्टरको भुमिका अहम रहेको स्थानीयहरु बताउँछन् ।

नाम बदनाम अनि गुमनाम बन्न पुगेको अवस्थाबीच कार्यक्षेत्र रोजेर आएका डाक्टर देवराज घिमिरेको जिद्दीपनले नै यतिबेला अस्पताल कायापलट भएको हो । डाक्टर घिमिरेको साथमा यतिबेला सारा गाउँ नै लागिपरेको बताउँछन्, सञ्चारकर्मी राजेन्द्र पोखरेल । उनले डाक्टर घिमिरेले आफ्नो जिद्दीपना त्यागेको भए अस्पतालको दुरावस्था यतिबेला पनि रहीरहने बताए । उनले स्थानीयहरु अहिले व्यापक भ्रष्टाचारको ठाउँमा उपचार पाएसँगै खुशी भएको बताए ।

त्यस्तै सामाजिक अभियन्ता विनिता दाहालको अनुभव पनि सञ्चारकर्मी पोखरेलको भन्दा फरक छैन । उहाँ मानिसले गर्न चाहेको खण्डमा असम्भव नहुने बताउँछन् । अस्पतालमा बिरामीको चाप बढ्दै जानुमा अस्पताल सुविधा सम्पन्न हुँदै जानु र चिकित्सकको पर्याप्तता, सरल र सहज सेवा प्रवाह प्रमुख कारकका रुपमा हेरिएको छ । कुनै सयम औषधि खरिद लगायता प्रशासनिक खर्च अपार्दर्शीता जस्ता आर्थिक अनियमिततामा रुमल्लिएको अस्पतालले यतिबेला मासिक ५० लाख बढी आम्दानी गरिरहेको छ ।

प्राथमिक उपचार गराउनसमेत बिरामीहरु जान नचाहने अस्पतालले यतिबेला इको, इसीजी, इन्डोस्कोपी, मुटु, हाडजोर्नी, स्त्री तथा प्रसूति, मानसिक रोग तथा दाँतको विशेषज्ञ सेवा लिनको लागि इनरुवा अस्पताल पुग्ने गरेका छन् । जसले अस्पताल प्रतिको विश्वसनियता दर्शाएको सहजै अनुभुति गर्न सकिन्छ ।

जिल्ला अस्पताल सुनसरीका मेडिकल सुपरिटेन्डेन्ट डा. देवराज घिमिरे जिद्दी डाक्टरको रुपमा आफू चिनिए पनि आफूले स्वास्थ्य सेवा नागरिकले पाउनका लागि २४ सै घण्टा अस्पताल खुल्नुपर्ने माग गर्दै आएको बताए । उनले सबै उपचार अस्पतालमा नै हुनुपर्छ र नागरिकले सहज उपचार पाउनुपर्छ भन्नेकुरामा जिद्दी रहेको बताए ।

सदरमुकाममा रहेको जिल्ला अस्पतालमा इनरुवावासी र जिल्लाका कोशी, हरिनगर, गढी, देवानगञ्ज, रामधुनी लगायतका क्षेत्रबाट बिरामीहरु उपचार गराउन आउने गरेका छन् । अस्पतालले ब्लड बैंकसमेत सञ्चालनमा ल्याउन लागेको डाक्टर घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.