२०७९ कार्तिक १६ गते १४:११ विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबार रोक्का सम्बन्धि निर्देशिका शुक्रबारदेखि लागू गर्ने भएको छ । बोर्डले यसअघि सल्लाह सुझावका लागि सार्वजनिक गरेको मस्यौदालाई अन्तिम रुप दिई सञ्चालक समितिबाट पास गराई लागू गराउने भएको हो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शुक्रबार पास भएर निर्देशिका लागू हुने बताए । मंगलरबार बसेको बोर्डको सञ्चालक समितिले मस्यौदामाथि छलफल गरेको थियो भने शुक्रबार पुुनः बसेर त्यसलाई अन्तिम रुप दिएर लागू गर्ने बोर्डको योजना छ । हमालका अनुसार मस्यौदामा उल्लेख गरिएका अधिकांश विषयहरु यथावत राखिएको छ । मस्यौदालाई धेरै परिवर्तन गरिएको छैन । सर्वसाधारण तथा लगानीकर्ताका सुझाव सल्लाहहरुलाई पनि निर्देशिकामा समेटिएको उनले बताए ।
बोर्डले अब मर्जर तथा एक्विजिसनमा जाने कम्पनीको सेयर कारोबार १५ दिनमात्रै रोक्का गर्नु पर्ने विषयलाई निरन्तरता दिएको थियो । मस्यौदामा मर्जर तथा एक्विजिसन गर्ने कम्पनीहरुको सेयर कारोबार १५ दिन मात्रै रोकिने मस्यौदा सार्वजनिक गरेको थियो । अब मर्जर तथा एक्विजिसन गर्ने कम्पनीको एकिकृत कारोबार भएपछि १५ दिनमात्रै सेयर कारोबार रोक्का हुनेछ ।
‘एकीकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्नेछ,’ निर्देशिकामा भनिएको छ ।’
यस्तै, बोर्डबाट गाभ्ने/गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनी सम्बन्धी कानून बमोजिम एकीकृत व्यवसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात् सो को जानकारी सहित एकीकृत व्यवसायिक कारोबार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनु पर्ने व्यवस्था निर्देशिकामा छ ।
नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जाने कम्पनीले ६ महिनाभित्र एकिकृत कारोबार गर्नु पर्ने व्यवस्था पनि गरेको छ । ‘संगठित सस्थाको गाभ्ने र गाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र सम्पन्न गरि सक्नुपर्नेछ,’ निर्देशिकामा लेखिएको छ ।
मर्जर तथा एक्विजिशनमा जाने संस्थाले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना चुहाउन नपाउने भएका छन् । ‘गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी जानकारी राख्ने संगठित संस्थाका संचालक, कर्मचारी, तथा अन्य सम्बन्धित पक्षले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना तथा जानकारी सार्वजनिक गर्न पाइने छैन,’ उक्त निर्देशिकामा भनिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.