आकर्षण पोखरेललाई प्रश्न : व्यवसायबाट राजनीतिमा किन ?

  २०७९ कार्तिक २० गते १७:४४     विकासन्युज

प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन नजिकिँदै छ । निर्वाचन नजिकिएसँगै काठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हाम्रो नेपाली पार्टीका इन्जिनियर आकर्षण पोखरेल पनि घर दैलो अभियानमा व्यस्त छन् । नेपालमा पर्यटन व्यवसायीका रुपमा परिचित पोखरेल निर्वाचित भएर राजनीति र विकासको परिभाषा परिवर्तन गर्ने धारणा राख्छन् । पोखरेलसँग विकासन्युजका लागि राजिव न्यौपाने र रिसव चौधरीले उनको उम्मेदवारी र एजेण्डाको विषयमा कुराकानी गरेका छन् ।

प्रतिनिधि सभाको लागि तपाईंले काठमाडौं क्षेत्र नम्बर ७ बाट उम्मेदवारी दिनु भएको छ, तपाईंको उम्मेदवारी किन ?

निर्वाचन नजिकिएसँगै तपाईंको उम्मेदवारी किन भन्ने प्रश्न उठ्नु स्वाभाविक नै हो । अहिले समाजमा व्याप्त विकृति विसङ्गति छन् । आजका दिनमा पनि हामी विना नक्सा नै अगाडि बढी रहेका छौं । चाहे त्यो पूर्वाधार, सुशासन, सामाजिक लगायतका क्षेत्रमा होस् । हामी अगाडि बढ्नका लागि नक्सा चाहिन्छ । अगाडी बढ्ने मोडल चाहिन्छ । आजको समाजको समस्या के हो ? देखिरहेका समस्या के छन् ? यहाँ सडक, पानी, गुणस्तर शिक्षा आदि छैन ।

यहाँ छैन मात्रै छ । अभाव नै अभाव छ । यस्तो अवस्था किन आयो भने हामी विना नक्सा अगाडि बढ्यौं । त्यस करणले म संरचनात्मक राजनीतिमा विश्वास गर्छु । राजनीतिले एक अर्का बिचमा पर्खाल लगाउने, एकले अर्कालाई निषेध गर्ने जुन परिपाटी छ । त्यसलाई अब हटाउनु पर्छ । राम्रो कामको सुरुवात हामी सबैले गर्नुपर्छ । राम्रो काम गर्नको लागि पार्टी भनेर भएन । विज्ञता सबै ठाउँमा हुनुपर्छ । त्यो विज्ञता पार्टीको हुँदैन । त्यस कारणले राजनीति र विकासको परिभाषा परिवर्तन गर्नको लागि नै मेरो उम्मेदवारी हो ।

तपाईं पेशाले इन्जिनियर, व्यवसायिक क्षेत्रमा लगानी गरेको मान्छे एक्कासी राजनीति तर्फ किन लाग्नु भयो ?

हो, पेशाले म इन्जिनियर । व्यवसायिक क्षेत्रमा पनि मेरो अनुभव राम्रो नै छ । म पनि आजको दिनमा एउटा जनता नै हो । नागरिकका समस्या पनि नजिकबाट नियालेको छु । म पनि जनता भएकै कारण जनताका समस्याहरू बुझेको छु । ती समस्याको समाधान गर्ने उपयाहरु पनि मलै देखेको छु । त्यसै कारणले पेशा र व्यवसाय सँगसँगै राजनीतिमा पनि आउनु पर्छ है भनेर उम्मेदवार बनेको हुँ ।

अहिले समाजमा प्रतिष्ठित अर्थात् समाजमा चिनिएका व्यक्ति ठूला राजनीतिक दलमा प्रवेश गरेर उम्मेदवार बनिरहेका छन्, तपाईं पनि एक व्यवसायी हो, त्यो रहर तपाईंमा आएकन की पत्याएनन् ?

राजनीतिक दलले नपत्याएको हैन । जान नचाहेको हो । म स्वतन्त्र तरिकाले अगाडि बढ्दै थिएँ । तर, पछि मैले हाम्रो नेपाली पार्टीसँग जोडिएर लौरो अभियान अन्तर्गत नै उम्मेदवारी दिएको छु । सो पार्टी स्वतन्त्र उम्मेदवार युवाहरुकै सङ्गठन नै हो । एकैले केहि गर्न सकिँदैन, काम गर्नको लागि टिम चाहिन्छ भनेर नै सो पार्टीसँग जोडिएको हुँ । स्वतन्त्र भएर पनि सो पार्टीको लौरो अभियान अन्तर्गत नै चुनावी मैदानमा होमिएको हुँ ।

तपाईं उम्मेदवार हुनुभएको निर्वाचन क्षेत्रलाई कसरी बुझ्नु भएको छ ? तपाईंले मत पाउने आधारहरु के के छन् ?

मैले मत आर्जन गरेर भोलि परिवर्तन गर्न सकिन भने मत पाएर कुनै अर्थ हुँदैन । यस पटकको प्रतिनिधिसभाको चुनावमा जनताको समस्यालाई नै बढी फोकस गरिरहेका छौं । धारा छन् पानी छैन, पानी छ, धारा छैन, पानीको पर्खाइमा हामी छौं । यस्ता किसिमका समस्या समाधान गर्नतर्फ मेरो ध्यान केन्द्रित छ । जनताले यो मान्छे योग्य छ, हाम्रो समस्याको समाधान गर्छ भन्ने लाग्छ भने मलाई मत दिनु होला । नभए म उम्मेदवार बन्दै गर्दा म पनि जनता हो । यहाँ मेरो जित र हार भन्दा समग्र जनताले जित्नु पर्छ । मभन्दा योग्य छ भने अर्कोलाई जिताउनुस् । सम्भवतः कसैले पनि आफूभन्दा योग्य उम्मेदवार अर्को छ भने उसलाई मत हाल्नुहोस् भनेर कोही उम्मेदवारले भन्दैन होला । त्यस कारणले फन्डा गरेर नराम्रो काम गरेर मत आर्जन गर्छु भन्दा पनि म यथार्थ छु । यथार्थ के हो भने बिग्रिएका भत्किएका चिजहरू बन्नु पर्छ । त्यो चिज बनाउने क्षमता र योग्यता मसँग छ ।

तपाईंले पनि अन्य राजनीतिक दलका उम्मेदवारहरूले भोट माग्ने तरिका जस्तै स्वास्थ्य, शिक्षा, खानेपानी, सम्पदा संरक्षण लगायतका विषयमा यी कामहरू गर्छु भन्नुभएको छ । सांसदहरुले नीति निर्माणमा पैरवी गर्ने हो की यो काम गर्छु भनेर भोट माग्ने हो ? तपाईंको पनि अन्यको जस्तै तरिका भएन र ?

हामीले काम गर्छौं भन्दा पनि काम हुनुपर्छ भनेर भोट माग्ने हो । नीति र नियम नबनेको र भएका नीतिको कार्यान्वयन हुन नसक्दा आज हामी पछि परेका छौं । आज एउटा बाटो पिच गर्छौं, पिच गरेको २ महिनापछि भत्कन्छ । हामीले त्यो सडक दीगो हुने गरि बनाउने खालको नीति र नियमको निर्माण गर्नु पर्यो । देखिने कुरा चाहिँ म सडक बनाउँछु, यो काम गर्छु, त्यो कुरा हुनुपर्छ भन्ने भयो । तर, काम गर्ने निकायहरु धेरै छन् । काम गर्नको लागि हामीसँग स्थानीय तह लगायत धेरै संघ संस्थाहरु छन् । त्यसको लागि चाहिने आवश्यक पर्ने नीति नियम संसदमा गएर बनाउने कुरा गर्दै छु ।

तपाईंको क्षेत्रका अन्य उम्मेदवार पनि बलिया नै देखिन्छन्, उनीहरूलाई हराएर तपाईंले चुनाव जित्ने आधार के छन् ?

मैले कसैलाई हराउने भन्ने छैन । जित्ने नजित्ने भन्ने कुरा भोलिका दिनमा मत परिणाम आइसकेपछि थाहा हुन्छ । क्षेत्र नं. ७ मा २९ जना उम्मेदवारहरू हुनुहुन्छ । यी सबैका साझा समस्या छन् । त्यो समस्याको समाधान नै जित हो । उम्मेदवार उठ्दै गर्दा उहाँहरूले यी समस्यामा कत्तीको ध्यान दिई रहनु भएको छ भनेन कुराको घोषणापत्र हेरेर अध्ययन गरिरहेको छु । ताकी उहाँहरूले भोलिका दिनमा चुनाव जित्दै गर्दा पनि मैले उहाँहरूलाई छुटेका कुरा जानेका कुरा भन्न सक्ने भएँ ।

मैले जित्दै गर्दा पनि आज उम्मेदवार उठ्ने व्यक्तिहरूले पनि केही सोच बिचार लिएर उठ्नु भएको छ । हामी सबै मिल्नु पर्याे । साझा एजेण्डा हुनु पर्याे । समस्या सबैको एउटै हो । त्यो समस्यालाई समाधान गर्नको लागि मिलेर अगाडि बढ्नु पर्छ । त्यस कारणले यहाँ हामीले कसैलाई हराउने भन्दा पनि आफू पृथक यथार्थमा रहेर आफ्नो क्षमताको उपयोग गरेर आफू जित्ने हो । आफू जित्दै गर्दा यहाँ हराउने भन्ने कुरा हुँदैन । नियम कागजमा हैन कार्यान्वयन लिएर गएर समस्याको समाधान हुनपर्छ ।

तपाईंले उठाउनु भएका एजेण्डाहरु के के हुन् ?

म निर्वाचित भएपछि नीतिगत काम गर्छु भनेको छु । ‘जब सरल हुन्छ प्रशासन तब हुन्छ सुशासन’ भन्ने नारा सहितको घोषणपत्र सार्वजनिक गरेको छु । घोषणपत्रमा १० संकल्प सहितको एजेण्डा सार्वजनिक गरेको छु । प्रशासनिक निकायमा हामीलाई झन्झट पर्ने मात्र काम छन् । त्यही भएर सरल प्रशासनले सुशासन हुन्छ । जहाँ छ खाली त्यहाँ सुरु गरौं हरियाली भनेको छु । काठमाडौं आजको दिनमा कंक्रिट नै कंक्रिटको शहरको रूपमा परिणत भइसकेको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका कुरा समावेश गरेको छु । कृषिमा एपीपीएको अवधारणा लिएको छु । अहिले देखिएका समस्याहरू नै मेरो संकल्पहरु हुन् । यी समस्याको समाधान म गर्छु । एउटा क्षेत्रका लागि होइन, देशकै लागि काम गर्छु भनिराखेको छु । व्यवहारिक समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्नुपर्छ भनेर संकल्प प्रस्तावहरू तयार पारेर मतदाता समक्ष गएको छु ।

तपाईं केही समय अगाडि क्षेत्र नं. ४ वटा निर्वाचन लड्ने भनेर घोषणा गर्नु भएको थियो, तर अहिले ७ बाट उठ्नु भयो, यति अस्थीर किन ?

हो, मैले पहिले क्षेत्र नं. ४ वटा निर्वाचन लड्ने भनेर घोषणा गरेको थिएँ । मेरो बसोबास क्षेत्र नं. ७ मा थियो । पछि म लौरो अभियानसँग जोडिएँ । लौरो अभियानमा जोडिएपछि उहाँहरूले पनि क्षेत्र नं. ७ नै तपाईंको लागि उपयुक्त हो भन्ने खालका सल्लाह दिनु भयो । मेरो पनि घर यही भएको कारण यहाँका स्थानीय नागरिकले पनि यसै क्षेत्रबाट तपाईं उम्मेदवारीको रूपमा उठ्नु पर्छ भन्ने प्रतिक्रिया दिन थाल्नु भयो । त्यहाँ कसैको दबाब प्रभाव भन्ने छैन । म जब ४ बाट उठ्ने भनेर घोषण गरेपछि ७ मा जदापनि कसैले उम्मेदवारीको घोषणा गरेको थिएनन् । काठमाडौंको एउटा क्षेत्रलाई मात्र सोचेर मात्र हुँदैन । समग्र काठमाडौंको एउटा मास्टर प्लान बन्न जरुरी छ । उपत्यका भरको एउटा साझा विकासका योजना हुनु पर्छ । त्यसले गर्दा ४/७ भन्दा पनि समग्र उपत्यकाका भरको नै मास्टर प्लानको विषयमा कुरा लिएर अगाडि बढि रहेको छु ।

अन्त्यमा, क्षेत्र नं. ७ का मतदानकर्तालाई के भन्न चाहनुहुन्छ ?

सही नेतृत्व चुन्न नसक्दा आज हामी सबै हारिरहेको छौं । एउटा व्यक्ति जितेर जान्छौं । सम्पूर्ण जनता हारिरहेका छौं । मेरो क्षेत्रमा जति पनि उम्मेदवार हुनु हुन्छ, उहाँहरूको बारेमा बुझ्नुहोस् । यो एउटा अवसर पनि हो । तपार्इंहरुको हातमा एउटा ठूलो तागत छ । यो तागतलाई तपाईंहरु सबैले बुझिदिनुहोस् । हामीले छानेर नै प्रतिनिधि पठाउने हो । त्यो प्रतिनिधि पठाउनको लागि त्यो मान्छे योग्य छ कि छैन भन्ने कुरा बुझिदिनुहोस् । आज हामीले उसको योग्यता क्षमतालाई कदर नगरी गलत मानिसलाई जिताएर पठायौं भने फेरी भोलि ५ वर्ष पनि हामी यही अवस्थामा हुन्छौं । हामीले धेरै हार्यौं, अब हामी सबैले जित्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.