२०७९ मंसिर १८ गते ११:३३ सन्तोष रोकाया र सीआर भण्डारी
काठमाडौं । हरेक व्यक्तिभित्र कथा हुन्छ । ती व्यक्तिले भोगेका अनुभव र सम्हालेका कहानीहरु पस्किने माध्यम भने जोकोहीले पाउँदैनन् । ती व्यक्तिको सफलताको पछाडि एउटा लामो र गर्व गर्न लायक संघर्षको कथा हुन्छ । जिन्दगीको एउटा अत्यास लाग्दो संघर्षशिल गोरेटोबाट एउटा सुन्दर जीवनशैली पाउने प्रेरणादायी र उदाहरणीय पात्र बन्ने शौभाग्य बिरलै पाइन्छ । एउटा भुइमान्छे बन्दाका पलहरु र सबैको प्रेरणाको स्रोत बन्ने दिनहरुभित्र ठूलो विरासत लुकेको हुन्छ ।
हो, आज हामी यस्तै एउटा गरिमामय गाथा सम्हालेको र संर्घषशील पृष्ठभूमि बोकेको व्यक्तिको संघर्ष, जीवनयात्रा र सफलताको कथा पस्कदैछौं । प्रकाशराज शर्मा । नेपाली लघुवित्त क्षेत्रमा एउटा पृथक पहिचान बोकेको नाम हो प्रकाशराज शर्मा । लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका शर्मा लघुवित्त बैंकर्स संघका अध्यक्ष समेत हुन् ।
दाङको एउटा दुरदराज हेकुली गाविसमा जन्मेका शर्माभित्रको कथा साँच्चिकै हृदयस्पर्शी, उदाहरणीय र धेरैका लागि प्रेरणाको स्रोत बन्न योग्य छ । वि.स २०१४ साल भदौ महिनामा जन्मेका शर्मालाई ६६ वर्ष पुगिसक्दा पनि नेपाली लघुवित्त क्षेत्रमा केही नयाँ काम गरौं भन्ने हुटहुटी ताजै छ । केही पृथक, समाजलाई भलो हुने काम, जसले धेरैलाई सकारात्मक उर्जा दियोस्, शर्मा अझै पनि यस्तै–यस्तै काम गर्न चाहन्छन् ।
हामीले सुरुमै उनलाई प्रश्न गर्यौं, ‘६६ वर्षको भइसक्नु भयो, एउटा लघुवित्तको नेतृत्व गरिरहनु भएको छ, लघुवित्त बैंकर्स संघको पनि अध्यक्ष हुनुहुन्छ, अब आफुलाई बुढो भएँ भन्ने महसुस हुँदैन ? अब आराम गरौं भन्ने सोच आउँदैन ? उनले जवाफमा भने, ‘ज्यान बुढो भएपनि मन बुढो नहुँदो रहेछ, काम गरौं भन्ने मनोबल उच्च छ भने ज्यानको वास्ता नगरिँदो रहेछ, मलाई अझै केही गरौं भन्ने हुटहुटी छ, सकारात्मक सोच राखियो भने काम गर्ने उर्जा आफै आउँदो रहेछ, म नकारात्मक चिजमा पनि सकारात्मक कुरा देख्छु, त्यसले मलाई झन् उर्जा थप्छ ।’
प्रकाशराज शर्मा सानैदेखि राम्रो विद्यार्थी । सानोमा डाक्टर बन्ने सपना । १५ वर्षको उमेरमै एसएलसी (हालको एसईई) दिए । १५ वर्षको उमेरमा एसएलसी दिन नपाइने भएपछि उनले एक वर्ष उमेर बढाएर त्यतिखेर २०१३ सालमा जन्म भएको लेखेको सुनाउँछन् । उनले २०२९ सालमा एसएलसी दिए ।
‘पढ्नको लागि दुइ घण्टाको पैदल यात्रा गर्नु पर्थ्यो, ९ र १० कक्षा डेरा लिएर महेन्द्र हाइस्कुल पढेँ, कहिलेकाँही घोडामा चढेर विद्यालय गइन्थ्यो, विद्यालय जीवन सकसपूर्ण भएपनि पढ्नु पर्छ भन्ने मानसिकता भने ममा सानैदेखि थियो,’ उनले विगत स्मरण गर्दै सुनाए ।
त्यतिखेर दाङको तुल्सीपुरटाडी गाँउदेखि बाँकेको खजुरासम्म जहाज पनि चल्थ्यो । जहाजको टिकट भने ४० रुपैयाँ । नेपालगञ्जमा कान्छा बाजेको घरमा बसेर नारायण हाइस्कुलबाट एसएलसी परिक्षा दिएको पनि उनी अहिलेसम्म स्मरण गर्छन् ।
उनको एसएलसीको नतिजा पनि आयो । उनको सानैदेखि डाक्टर बन्ने रुची थियो । नेपालगञ्जमा नै बसेर प्लस टुमा विज्ञान विभागमा भर्ना गरेर बायोलोजी विषय लिए । त्यतिखेर नयाँ शिक्षा प्रणाली लागू भयो । डाक्टर पढ्न ६० प्रतिशत अंक आउनु पर्थ्यो तर उनको ५९ प्रतिशत आयो । डाक्टर पढ्ने बुनेका उनको सपना चकनाचुर भयो ।
नेपालगञ्जबाट रक्सौल हुँदै रेल चढेर काठमाडौं
डाक्टर पढ्ने सपना सपनामै सीमित भएपनि शर्माले हार खाएनन् । उनले काठमाडौं जाने योजना बनाए । त्यतिखेर अहिलेको जस्तो सवारी साधन थिएन । काठमाडौं आउनका लागि उनले रक्सौलबाट रेल चढे ।
उनी २०३२ सालमा सपनाको शहर काठमाडौं छिरे । अमृत साइन्स क्याम्पस अस्कलमा बिएस्सीमा भर्ना गरे । तर,अस्कल क्याम्पसबाट ६ महिनापछि उनी त्रिचन्द्र कलेजमा ट्रान्सफर भए । बीएस्सी पढ्दापढ्दै कोलोम्बो प्लानमा बिएस्सी डेरी टेक्नोलोजी छात्रवृत्तिमा आवेदन दिए । उनी बिएस्सी डेरी टेक्नोलोजी भारतको अहमदाबादमा पढ्नका लागि छनोट भए । तर, बिडम्वना, उनी समक्ष कन्फरमेसन आइपुगेन ।
‘कन्फरमेसन आउनु अघि गाउँ गएँ, गाउँको एउटा सरकारी विद्याययमा विज्ञान विषय पढाएँ, तलब २२५ रुपैयाँ, ६ महिनापछि ३२५ रुपैयाँ पुग्यो, सोही समयमा उनले गाउँमा विवाह पनि गरे, ५/६ महिनासम्म कन्फरमेसन नआएपछि काठमाडौं फर्किएँ तर मेरो ठाउँमा वैकल्पिकमा परेको मान्छे गइसकेछन्, भारत जाने कुरा पनि सक्कियो,’ उनले बिएस्सी पढ्दै गर्दाका दिनहरु सम्झिँदै भने ।
एकपछि अर्को ठक्करले उनलाई निरास बनाउँदै गयो । एक दिन केही काम गर्न किर्तीपुर जाँदै थिए । उनले त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा कृषि तथा पशु विज्ञानको डिन कार्यालयमा एउटा भीड देखे । सोधपुछ गर्दा पहिलो पटक बिएस्सी एजिको विज्ञापन खुलेको रहेछ । ‘मैले त्यहाँ आवेदन दिएँ, जुन मेरो अर्काे टर्निङ प्वाइन्ट थियो, प्रवेश परीक्षामा ठूलो प्रतिस्पर्धा भयो, म साइन्स पढेको थिएँ, अरु आइएस्सी एजि, ४० जनाको कोटाका लागि १२ नम्बरमा नाम निकालेँ,’ उनले भने ।
उनले २०३७ सालमा ८३.५ प्रतिशत अंक ल्याएर बिएस्सी एजि पास गरे । उनको प्रतिस्पर्धीले ८४ प्रतिशत ल्याए । उच्च अंक भएकाले गोल्ड मेडल पाउँथ्यो । तर, उनको ०.५ प्रतिशत कम अंक आएर गोल्ड मेडल पाउन सकेनन् । बिएस्सी एजि पास गरेपछि उनी कृषि वैज्ञानिक बने ।
थोत्रो मोटरसाइकलले तानेको ध्यान
नेपालगञ्जमा आइएस्सी पढ्दा उनको मनमा एउटा कुराले कृषि विज्ञान पढन् आकर्षित गरेको थियो । नेपालगञ्जमा हजुरमुवाको घरबाट रुपडिया रोडमा महेन्द्र बहुमुखी क्याम्पस छ । त्यहाँबाट उनले आइएस्सी पास गरेका थिए । साइकल चलाएर क्याम्पस जानुपर्थ्यो । बाटोमा कृषि विकास कार्यालय थियो । कार्यालयको अगाडि उनले सधैं मोटरसाइकल देख्थे । साइकल चढ्ने मान्छे मोटरसाइलक चढ्न पाएपछि कस्तो हुन्थ्यो भन्ने उनले मनमा कुरा खेलाइ रहन्थे । सानो बुवाको छोरा दाइले यो कृषि कार्यालय हो । कृषि विषय पढ्यो भने मोटरसाईकल चढ्न पाइन्छ भनेपछि त्यो कुरा उनको मस्तिष्कमा रहिरह्यो ।
‘मलाई त्यो मोटरसाइकलले कृषि पढ्न लोभ्यायो, आइएस्सी एजी पास गरेपछि शाखा अधिकृत भएर नियुक्ती लिएँ, नारायाणी अञ्चल सिँचाई विकास आयोजना विरगञ्जमा पठाइयो, त्यहाँबाट बाराको कृषि विकास कार्यालयमा सहायक कृषि विकास अधिकृतमा खटायो, त्यसपछि मेरो फर्मल जागिर सुरु भयो २०३७ सालमा, कृषि विकास कार्यालयमा काम गरेपछि मोटरसाइलक पाइन्छ भनेर ठ्याक्कै त्यहि कार्यालयमा जागिर पाएँ, मोटरसाइकल पनि पाएँ, लाग्यो म जति भाग्यमानी त कोही रहेनछ,’ उनले त्यो पल स्मरण गर्दै भने ।’
उनले कृषि विकास कार्यालयमा एक वर्ष जति काम गरे । पछि लोकसेवाले विज्ञापन नखोलेपछि उनले बैंकमा काम गर्ने योजना बनाए ।
१३ वर्ष बैंकमा काम
वि.स.२०३८ सालमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले सघन बैंकिङ्ग कार्यक्रम (प्राथमिकता क्षेत्र कर्जा कार्यक्रम) का लागि कृषि अधिकृतका विज्ञापन निकाल्यो । कृषि विकास कार्यालयमा हुँदा रजिष्टर्ड तहको ७५० रुपैयाँ तलव र प्रोजेक्ट भत्ता ३० प्रतिशत थियो । जम्मा एक हजार रुपैयाँ बराबर तलव हुन्थ्यो ।
उनले दुईवटै बैंकमा आवेदन दिए । लिखित परिक्षाको दुवैमा पास भएपछि नेपाल बैंकमा पहिला अन्तवार्तामा दिए । पास पनि भए । उनी सातौं तह अर्थात् सहायक प्रबन्धकमा नियुक्त भए । एक महिनाको तालिम पुरा गरेपछि उनलाई नेपालगञ्जको क्षेत्रिय कार्यालयमा खटाइयो । उनले तत्कालिन मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल हेर्नुपर्थ्यो । उनले त्यहाँ हुँदा अछामको विनायक पञ्चदेवल, बझाङको बुंगल, बैतडीको पुर्चाैडी हाट, कञ्चनपुरको झलारी, कैलालीको चौमालालगायत थुप्रै ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याए ।
उनले राम्रो काम गरेपछि राष्ट्र बैंकको सघन बैंकिङ्ग राष्ट्रिय पुरस्कार समेत पाए । राष्ट्र बैंकले अगुवा बैंक (लिड बैंकिङ्ग प्रोग्राम) सार्वजनिक गर्याे । राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकको समन्वयमा सिराहको हाकिम भएर गए ।
‘२०४६ सालको आन्दोलन हुँदा म दाङमा थिए, आन्दोलन सफल भएपछि अगुवा बैंकलाई सरकारले हटायो, मलाई नेपाल बैंकको क्षेत्रीय कार्यालय नेपालगञ्जमा पठाइयो, ८ औं तहको प्रमोशन भएपछि म हेड अफिस तानिएँ, हेड अफिसमा हुँदा केही समय मेरो पुरुषोत्तम पाण्डे हाकिम हुनुहुन्थ्यो, पुरुषोत्तम पाण्डे महाप्रबन्धक भएपछि मलाई डिपार्टमेन्टको जिम्मेवारी दिइयो,’ उनले भने ।
उनी १३ वर्ष नेपाल बैंकमा काम गरेपछि बाहिरिने सोच बनाए ।
निरन्तर छ लघुवित्तको यात्रा
वि.स. २०४९ सालमा धनगढी र विराटनगरमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र केही निजी बैंकको लगानीमा ग्रामीण विकास बैंक स्थापना भयो । बझाङका शेर बहादुर थापा नेपाल बैंकको सिनियर हाकिम थिए । उनी पनि कृषि विषय पढेका थिए । नेपाल बैंकमा काज राखेर कार्यकारी निर्देशक भएर धनगढी र रमेश पौडेल विराटनगर गए । नेपाल राष्ट्र बैंकका तत्कालिन डेपुटी गभर्नर डा. हरिदेव पन्त लघुवित्तका विज्ञका रुपमा परिचित । उनी ग्रामीण विकास लघुवित्तका अध्यक्ष थिए ।
शर्माले नेपाल बैंकमा १३ वर्ष काम गरिसकेका थिए । उनले नेपाल बैंक छोडेर ग्रामीण विकास लघुवित्तको सहायक निर्देशक (सेकेण्ड) बनेर धनगढी जाने निर्णय गरे । वि.स. २०३८ देखि २०५१ साल बैशाखसम्म नेपाल बैंकमा काम गरेर राजीनामा दिए । त्यसपछि ग्रामीण विकास लघुवित्तबाट औपचारिक रुपमा उनको लघुवित्तको यात्रा सुरु भयो । उनका लागि ग्रामीण विकास लघुवित्त प्रथम पाठशाला बन्यो र लघुवित्त सिके ।
ग्रामीण विकास लघुवित्तमा ५/६ वर्ष काम गर्दा गर्दै २०५५ सालमा लघुवित्तको कार्यकारी प्रमुख अधिकृत (सीईओ) बने । उनी सीईओ भएका बेलामा भरतकृष्ण शर्मा नेपाल राष्ट्र बैंकबाट अध्यक्ष चुनिएका थिए ।
ग्रामीण विकास लघुवित्तमा काम गर्दा गर्दै उनको मनमा फेरि खुलदुली बढ्यो । त्यहि बेलामा निर्धन उत्थान लघुवित्त स्थापना भयो । ग्रामीणमा छोड्न चाहेको भन्ने थाहा पाएपछि नेपालमा लघुवित्तका गुरुका रुपमा परिचित डा. हरिदेव पन्तले फोन गरेर निर्धन उत्थान लघुवित्तमा आउन आग्रह गरे । सरकारी लगानी भएको ग्रामीण लघुवित्त छाड्ने निर्णय गरे । तत्कालीन गभर्नर गणेश बहादुर थापा र हिमालयन शमसेर राणा निर्धनको बोर्डमा भएकाले उनको अन्तवार्ता लिए ।
निजी क्षेत्रको लगानी रहेको निर्धन उत्थान लघुवित्तका सीईओ डा.हरिदेव पन्त निर्धनको प्रमुख कार्यकारी प्रमुख थिए । उनी निर्धनमा जाने भएपछि एउटा शर्त राखे डा.हरिदेव पन्त बाहेक अरुको सेकेण्ड म्यान बन्दैन । डा.पन्तको १० हजार रुपैयाँ तलब थियो । उनको ग्रामीणमा हुँदा साढे १२ हजार रुपैयाँ तलब थियो । सेकेण्ड म्यान भएपनि सीईओको तलब भन्दा धेरै थियो । सीईओ भन्दा तल्लो तहको कर्मचारीको तलब बढी हुँदा रोचक बन्यो । पछि उनले पाएको तलब भन्दा सीईओको तलब एक सय रुपैयाँ बढी बनाइयो ।
निर्धनल घुवित्तलाई यो उचाइमा पुर्याउनमा ठुलो योगदान भने शर्माको छ । लघुवित्तमा आधुनिकीकरण र इनोभेसनका काम उनै शर्माले गरे । उनले निर्धनलाई एउटा हाइटमा पुर्याए । त्यहि बेलामा उनले देशविदेश घुम्ने अवसर पाए । उनले हार्वड विजनेश स्कुलबाट ट्रेनिङ लिए, एशियन इन्स्च्युट अफ म्यानेजमेन्ट फिलिपिन्सबाट म्यानेजमेन्ट डेभलपमेन्ट कोर्स गरे, माइक्रोफाइनान्सका लागि संसारको प्रशिद्ध कोर्समा भाग लिए, अन्तर्राष्ट्रिय वक्ता भएर अमेरिका, कोलम्बिया लगायत २० भन्दा बढी देशमा अतिथि भएर आफ्नो अनुभव बाँडेका छन् ।
कुनै पनि संस्थामा ५ वर्ष पुरा नभई विदेश जान पाउँदैनथ्यो । तर, उनले नेपाल बैंकमा ४ वर्ष गर्दागर्दै विदेश (मनिला) जाने अवसर पाए । उनी फिलिपिन्समा मात्रै ५ पटक जति गएको अनुभव सुनाउँछन् । आजका दिनमा अधिकांश सीईओहरु उनका शिष्य भएकोमा उनी गर्व गर्छन् ।
निर्धन उत्थानमा उनले ११ वर्ष बढी काम गरे । निर्धनमा काम गर्दा पनि उनलाई आफू ओझेलमा परेको महसुस भयो । ‘मैले जति काम गरेपनि नाम अर्कैको आउँछ,डा. हरिदेव पन्त ठूलो रुख हो, म जहिले पनि ओझेलमा छु, ममा एउटा हुटहुटी थियो, नयाँ कुरा गर्न पाए हुन्थ्यो, स्वतन्त्र रुपमा काम गर्न पाए हुन्थ्यो भन्ने महत्वकांक्षी, सबै काम मैले गर्नुपर्ने नाम अर्काको आउने हुन्थ्यो, माओवादी जनयुद्धमा चारैतिरबाट बन्दुकको घेराबन्दीमा म पर्थें, मलाई आफै केही गर्ने हुटहुटी भयो, पछि त्यहाँ पनि छोडेँ,’ उनले भने ।
लक्ष्मी लघुवित्तमा कर्मचारी बिनाको सीईओ
वि.स.२०६७ सालमा लक्ष्मी लघुवित्त दर्ता भयो । बैंकले मान्छे खोज्न सुरु गरेको थियो । शर्माले अब लक्ष्मी लघुवित्तमा काम गर्ने भए । ‘निर्धनमा छोड्दा धेरैले मलाई बौलायो भने, धेरैले रोक्ने प्रयास पनि गरे, तर मलाई मेरो चाहेको काम हुनु पर्छ, मैले निर्धन छोडेँ, कुनै संरचना र कर्मचारी पनि नभएको लक्ष्मी लघुवित्तमा आएँ,’ उनी भन्छन्, ‘म जहाँ काम गरेपनि केही आधारशिला निर्माण गर्न मन पराउँछु ।’
उनी लक्ष्मी लघुवित्तमा आउँदा कर्मचारी बिनाको सीईओ बने । लक्ष्मी लघुवित्तको कुनै पनि कार्यालय थिएन । ‘लक्ष्मी लघुवित्तमा आउँदा एउटा सिंगल मान्छे, कर्मचारी बिनाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएँ, अफिस कहाँ हो, घर छैन, कर्मचारी छैन, लक्ष्मी बैंकको सेकेण्ड फ्लोरमा एउटा कोठामा मलाई राखियो,’ शर्माले भने, ‘मेरो काम भनेको पोलिसी प्रक्रिया पुर्याएर लाइसेन्स लिने थियो, लक्ष्मी माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक दर्ता भयो, पछि लक्ष्मी लघुवित्त नामाकरण गरियो, लक्ष्मी बैंकबाट एक जना साथी सहयोगी दिइयो, अल्फाबिटा कम्प्लेक्समा रहेको लक्ष्मी बैंकको पछाडी ९ सय स्क्वायर फिटमा कार्यालय स्थापना गरियो, त्यसपछि के-के काम गर्ने भनेर योजना बनाइयो ।’
आगामी बैशाखमा लक्ष्मी लघुवित्तमा काम गरेको उनलाई १२ वर्ष पुग्दैछ । वि.स २०३७ सालदेखि उनी अनवरत रुपमा काम गरिरहेका छन् । ‘मैले जेजे काम गरेको छु सबैमा सन्तुष्ट छु, म कमर्सियल बैंकर भएको भए म त्यति सन्तुष्ट हुँदैनथे होला, समावेशी वित्तीय पहुँचमा ठूलो योगदान पुर्याएँ जस्तो लाग्छ, निम्न वर्गले सजिलै कर्जा पाएका छन्, साहु महाजनबाट मुक्त भएका छन्, एउटा सचेतना, इम्पावरमेन्टमा कुनै न कुनै रुपमा मेरो इट्टा परेको छ,’ उनी आफुले गरेका संघर्षका गाथाहरु सुनाउँदै भन्छन् ।
उनी अझै पनि जबसम्म शरिर र दिमागले साथ दिन्छ तबसम्म लघुवित्तमै सक्रिय रहने बताउँछन् । अब बैशाखदेखि रिटायर्ड हुन्छु, अहिलेको प्रावधानले पनि विदा हुनु पर्छ, अब कार्यकारी भूमिकाबाट बिदा लिन्छु, ‘टेन टू फोर’ काम गर्दिन तर यहि क्षेत्रमा रहिरहने छु, उनी भन्छन्, यो क्षेत्रले मलाई नाम, दाम, इज्जत, पोजिशन, एक्सपोजर दियो, रिटायर्डपछि पनि नीति नियम र लेखन तथा पठन पठनमा रहन्छु होला ।’
छोराको जन्मले दिएको खुसी
हामीले शर्मालाई सोध्यौं, तपाईंको जीवनमा त्यस्तो अविस्मरणीय कुनै क्षण छ ?, उनले जवाफमा भने, ‘मेरो लागि सबै अविस्मरणीय क्षण छन्, तर एउटा जब मेरो छोराको जन्म भयो त्यो मेरो लागि निकै अविस्मरणीय रह्यो ।’
उनी थप्छन्, १९/२० वर्षको उमेरमा मेरो विवाह भयो तर १० वर्षपछि मात्रै छोरा जन्मियो, त्यो क्षण मेरो लागि निकै अविस्मरणीय र सुखद बन्यो ।’
शर्माका दुईटा आमा । ५ भाई र ६ दिदीबहिनी गरी ११ जना भाइबहिनी । उनी जेठो छोरा । उनकी आमा अहिले पनि ८१ वर्षको पुगिन् । अहिले उनी भैंसेपाटीमा बस्छन् । अहिले धेरै जसो समय नातीसँगै खेलेर बित्ने गरेको उनी सुनाउँछन् । उनी थप्छन्, जीवनमा जति गरेँ, यसमा मेरो श्रीमतिको ठूलो हात छ, श्रीमतिबाट यति साथ र सहयोग नमिलेको भए म यो अवस्थामा हुन्थेन की ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.
प्रेरणादायक