नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो

  २०७९ मंसिर १९ गते १८:१८     विकासन्युज

एजेन्सी । नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो । त्यहाँको प्रदुषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा सडकमा भ्याकुम क्लिनरले सफा गर्ने काममा प्रतिबन्ध लगाइएको बताइएको छ ।

त्यहाँको वायु गुणस्तर व्यवस्थापन आयोग, सिएक्युएमले आइतबार प्रकाशन गरेको एक प्रेस विज्ञप्तिमा सो कुराको जानकारी दिइएको हो । उक्त विज्ञप्तिमा वायु प्रदुषणको मात्रा पछिल्ला दिनमा बढ्दै गएको र आइतबार यो मात्रा गम्भीर तहमा पुगेकाले सतर्कता अपनाउन आग्रह पनि गरिएको छ ।

सो प्रतिवेदनमा नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा गम्भीर तहमा पुगेकाले यसलाई कम गर्नका लागि आवश्यक सबै प्रकारका उपायहरु अपनाउन सरकारसँग आग्रह पनि गरिएको छ ।

सो आयोगको आइतबार अपराह्न ४ बजेको रिपोर्टमा वायु प्रदुषणको मात्रा (एक्युआई) गम्भीर तह अर्थात् चार सय सातमा पुगेको देखाइएको छ । यो एक्युआई तह दुई सय एक देखि तीन सयसम्म कमजोर अर्थात् खराब, तीन सय एकदेखि चार सयसम्म झन् खराब र चार सय एकदेखि माथि पाँच सयसम्मलाई गम्भीर तह अर्थात घातक मानिएको छ ।

नयाँ दिल्लीमा प्रायः जाडो समय (नोभेम्बरदेखि फेब्रुअरी) सम्म वायु प्रदुषणको मात्रा बढ्ने गरेको पाइन्छ । यसवर्ष अहिले नै त्यहाँको प्रदुषणको मात्रा गम्भीर तहमा पुगेकाले यस मौसममा वायु प्रदुषणको मात्रा निकै नै बढ्ने संकेत देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.