दरबार हाई स्कुलमा विद्यार्थीको सङ्ख्या बढ्दै

  २०७९ पुष १२ गते १४:४४     विकासन्युज

काठमाडौं । कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित ऐतिहासिक धरोहरको दरबार हाई स्कुल भानु माध्यमिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको छ ।

भूकम्प जानुअघि उक्त विद्यालयमा ७१ विद्यार्थी अध्ययनरत रहेकामा अहिले बढेर पाँच सय ९१ पुगेको छ । अझै पनि आफ्ना छोराछोरीलाई यसै विद्यालयमा भर्ना गराउन आग्रह गर्दै अभिभावक विद्यालय आउने क्रम रोकिएको छैन । हरेक वर्ष कक्षा सुरु हुने बेलामा मात्र भर्ना लिन सकिने र सबै कक्षामा विद्यार्थी सङ्ख्या पूर्ण रहेकाले तत्काल नयाँ विद्यार्थी भर्ना लिन सक्ने अवस्था भने छैन ।

गोर्खा भूकम्पकले पूर्णरुपमा क्षति भएकोे यस विद्यालयमा नयाँ भवन निर्माणसँगै विद्यार्थी आउने क्रम रोकिएको छैन । राजधानीको मुटुमा रहेको यस विद्यालयको अहिले सबै कक्षामा विद्यार्थी भरिभराउ छ । विद्यार्थीको सङ्ख्या अत्यधिक रहेकाले कक्षा ७, ८ र ९ लाई विभाजन गरेर सेक्सन बनाएर सञ्चालन गर्नुपरेको विद्यालयका प्रधानाध्यापक शारदा पौडेलले बताइन् । यहाँ ३० शिक्षक कार्यरत छन् ।

कुनै कक्षामा पनि विद्यार्थीको कमी छैन । विद्यार्थीको सङ्ख्या बढिरहेकाले ३६ सिट क्षमता भएको एउटा कक्षामा हामीले ४९ जनासम्म विद्यार्थी राखेर पढाइरेहका छौँ प्रधानाध्यापक पौडेलले भनिन् ।’नयाँ भवन, सुविधायुक्त प्रयोशाला, सफा खाजा घर तथा अङ्ग्रेजी माध्यममा पढाइ हुने यो सामुदायिक विद्यालयमा हरेक दिन विद्यार्थी बढिरहेका छन् । अब नयाँ भर्ना हुन आउने विद्यार्थीका लागि स्थान छैन’, उनले भनिन् ।

आगामी आर्थिक वर्षका लागि अहिले नै आउँछन्

यस विद्यालयमा अहिलेका लागि मात्रै होइन आगामी शैक्षिक सत्रका लागि पनि सिट सुनिश्चित गर्नुपर्यो भन्दै अभिभावक आउने गरेका छन् । अहिले सबै कक्षा भरिभराउ भएको र तत्काल भर्ना गर्न नसकिने कुरा विद्यालयले भनेपछि आगामी वर्षका लागि सिट रोक्नका लागि अभिभावकबाट अहिले नै अनुरोध हुने गरेको छ ।

ऐतिहासिक र पुरानो विद्यालय भएकाले सुरुको समयमा सम्पन्न परिवारका छोराछोरीले मात्र अध्ययन गर्ने गरेका थिए । कुनै समय श्रमिकका छोराछोरी मात्र पढ्ने गरेको यस विद्यालयमा अहिले सरकारी कर्मचारी, स्थानीयवासीका छोराछोरी बढी छन् ।

हाल शिशु कक्षादेखि कक्षा १० सम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा आगामी वर्षदेखि १२ कक्षासम्म पढाउने गरी तयारी भएको कामपाले जनाएको छ ।

विद्यालय भवन ठूलो रहेको हुँदा सहयोगी कर्मचारी एकजना मात्रले सरसफाइको काम गर्न भने समस्या भएको बताइएको छ । त्यसैगरी विद्यार्थीको सङ्ख्याका आधारमा सम्बन्धित विषय शिक्षकको पनि अभाव रहेको प्रध्यानाध्यापक पौडेलले बताइन् । निकट भविष्यमै ललितकला क्याम्पससँग सहकार्य गरेर आर्ट कक्षा सञ्चालन गर्नेतर्फ छलफल भइरहेको पनि उनले सुनाइन् ।

नमुना विद्यालय दरबार हाई स्कुल

हाल कामपामा ८९ वटा सामुदायिक विद्यालय सञ्चालित रहेकामा नमुना विद्यालयका रुपमा दरबार हाई स्कुलसहित अन्य दुई विद्यालय परेका छन् । ती विद्यालयलाई अन्यभन्दा थप व्यवस्थित रुपमा सञ्चालन गर्न चालू आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरिएको कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए ।

यस विद्यालयमा हरेक दिन विद्यार्थीको सङ्ख्या बढिरहेकाले कामपाले आवश्यकअनुसार दरबन्दी थप गर्ने विषयमा पनि छलफल गरिरहेको उनले जानकारी दिए। प्रमुख सुवेदीले भने,  ‘नमुना विद्यालय भएसँगै उक्त विद्यालय अन्यभन्दा फरक र गुणस्तरीय हुन जरुरी छ त्यसका लागि कामपा लागिरहेको छ ।’ नौ रोपनी जमिनमा निर्माण गरिएको चार तले सो विद्यालय भवनमा ४० कक्षाकोठा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.