२०७९ पुष २७ गते १०:५५ पृथ्वीबहादुर पाँडे
चार दशक अगाडि देशमा बैङ्कर पाउन सकस थियो । बैङ्क तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैङ्कले पनि चार्टर्ड एकाउन्टेन्ट (सीए) पाउन मुस्किल थियो । मैले भारतबाट सीए गरेँ । सायद म नेपालमा सीए गर्नेमध्ये १२/१३ नम्बरमा पर्छु । त्यतिखेर नेपालमा सीएको धेरै ठूलो माग थियो । सन् १९७८ मा नेपाल राष्ट्र बैङ्कले सीएका लागि दुई जना माग गरेको थियो । तर, एउटा पनि आवेदन परेन । मेरो बुबाको एउटै चाहना मलाई सरकारी जागिरे भएको हेर्ने थियो । नेपाल राष्ट्र बैङ्क वा अर्थ मन्त्रालयमा जागिर खाएको हेर्ने उहाँको इच्छा थियो । त्यतिखेर नेपाल राष्ट्र बैङ्कको गभर्नर थिए कुल शेखर शर्मा । उहाँ मलाई नेपाल राष्ट्र बैङ्कमा आवद्ध गराउनका लागि धेरै प्रयास गर्नु भयो । म पनि नेपाल राष्ट्र बैङ्कमा काम गरेर दक्ष बन्न चाहन्थेँ ।
बुबाको गभर्नर शर्मासँग राम्रो सम्बन्ध थियो । बुबासँग सल्लाह गरेर गभर्नरले धेरै प्रयास गरेपछि सन् १९७८ मा नेपाल राष्ट्र बैङ्कमा जागिर सुरु गरेँ । मेरो मासिक तलब १२७५ रुपैयाँ थियो । राष्ट्र बैङ्कमा काम गर्दै गर्दा म अन्तर्राष्ट्रिय वित्त कोष (आईएमएफ) मा पनि काम गर्न गएँ । त्यहाँ काम गर्ने अवसर पाएँ । त्यतिसम्म धेरै अनुभव बटुलिसकेको थिएँ । मैले त्यसअघि नै नेपालमा निजी क्षेत्रको बैङ्क खोल्नु पर्छ भन्ने सोचिसकेको थिएँ । नेपाल राष्ट्र बैङ्कमा काम गर्दैगर्दा मलाई बैङ्क खोल्ने इच्छा लाग्यो । त्यसका लागि प्रक्रिया पनि सुरु गरेँ । विदेशी लगानीकर्ताको लगानीमा नेपालमा बैङ्क खोल्न सुरु भइसकेको थियो । विदेशी लगानीसहितको ग्रीनलेज बैङ्क र इन्डोस्वेज बैङ्क खुलिसकेका थिए । नेपाल बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्क पहिले नै खुलिसकेका थिए । अमेरिकामा ६ महिना काम गर्दा धेरै अनुभव लिइसकेको थिएँ । धेरैसँग चिनजान पनि भइसकेको थियो । बैङ्क खोल्ने विषयमा राष्ट्र बैङ्ककै साथीहरुसँग पनि सल्लाह सुझाव लिएँ ।
उनीहरुले पनि अगाडि बढ, राम्रो योजना छ भनेर मलाई काम गर्न प्रोत्साहन गरे । उनीहरुले राष्ट्र बैङ्कमै काम गरेर त्यसको प्रक्रिया गर्न सकिँदैन बिदा लिएर काम गर भनेपछि मैले ६ महिनाको बिदा लिएँ । बिदा स्वीकृत पनि भयो । यस विषयमा मैले अर्थमन्त्री भरत बहादुर प्रधानसँग कुरा गरेँ । उहाँले पनि तपाईं गर्नुहुन्छ भने हामी लाइसेन्स दिन्छौं भन्नुभयो । उहाँले ‘ग्रीन सिग्नल’ दिनु भयो । राष्ट्र बैङ्कबाट पास भएर अर्थमन्त्रालय गयो । अर्थमन्त्रालय गएपछि पनि पास भयो । त्यो बेलामा सबै विषयको ‘रेगुलेट’ दरबारबाट हुन्थ्यो । दरबारमा गइसकेपछि केही जवाफ आएन । फाइल अड्कियो । वि.सं. २०४६/४७ मा जनआन्दोलन भयो । आन्दोलन भएपछि केही परिवर्तनको आभास भयो । रामशरण महत र महेश आचार्य अर्थमन्त्रालमा सल्लाहकार भएर आउनु भयो । महतजीसँग अमेरिकामा हुँदा चिनजान थियो । बैङ्कको लाइसेन्सको विषयमा छलफल गरेँ ।
उहाँले लाइसेन्स दिनका लागि प्रतिवद्धता जनाउनु भयो । त्यसबेला म वाणिज्य बैङ्कमा काम गरिरहेको थिएँ । अर्थमन्त्रीले त्यतिखेर राष्ट्रिय वाणिज्य बैङ्कको महाप्रबन्धका लागि काम गर्ने आग्रह गरेपछि मैले वाणिज्य बैङ्कमा काम सुरु गरिसकेको थिएँ । वाणिज्य बैङ्कमा बसेर निजी बैङ्कका लागि काम गर्न मिलेन । मैले बैङ्क छोड्न पनि मिलेन । अगाडिका फाइलहरु थन्किसकेका थिए । फाइल फेरि बनाउनु पर्ने भयो । फेरि बनाएर पठाउँदा एक वर्ष समय लाग्यो । अर्थ मन्त्रालयमा हिमालयन बैङ्क प्रस्ताव अगाडि बढ्यो । मैले वाणिज्य बैङ्कबाट राजीनामा दिएँ । त्यतिखेर अर्थ राज्यमन्त्री महेश आचार्य हुनुहुन्थ्यो । तपाईंहरु जस्तो मान्छेले हामीलाई सहयोग गर्नुपर्नेमा राजीनामा किन दिएको भनेर मसँग रिसाउनु पनि भयो । हिमालयन बैङ्कमा मेरो परिवारको सेयर हुन्छ, म वाणिज्य बैङ्कमा बस्यो भने स्वार्थ बाँझिन्छ भनेर कन्भिन्स गरेपछि उहाँ सहमत हुनुभयो । राजीनामा स्वीकृत गर्नु भयो ।
त्यसपछि जन्मियो हिमालयन बैङ्क
हिमालयन बैङ्क नेपालीहरुले नै खोलेको र नेपालीले नै नेतृत्व गरेको निजी क्षेत्रको पहिलो बैङ्क हो । नेपाल राष्ट्र बैङ्कले बैङ्क खोल्दा सबै समुदायलाई समेट्न भनेको थियो । त्यसैले पनि अहिले हिमालयन बैङ्कमा सबै समुदायका व्यक्तिहरु सेयरधनीका रुपमा हुनुहुन्छ । हिमालयन बैङ्क एउटा मात्रै बैङ्क हो जसमा सबै समुदायको लगानी छ । त्यसपछि अरु बैङ्कहरु पनि लाइसेन्सका लागि राष्ट्र बैङ्क गए । हिमालयन बैङ्क स्थापना भएपछि नेपाल एसबिआई, एभरेष्ट, बैङ्क अफ काठमाण्डू लगायतका बैङ्क स्थापना भए । लाइसेन्सका लागि राष्ट्र बैङ्क जानेको भीड बढ्यो । दुई/दुई वर्षमा लाइसेन्स दिएको भए मोनोपोली हुन्थेन । एकै वर्ष ८/१० वटा बैङ्क आए । जसले गर्दा भद्रगोल भयो । बैङ्कहरुबीच स्वस्थ प्रतिस्पर्धाभन्दा पनि अस्वस्थ प्रतिस्पर्धा बढ्यो । प्रतिस्पर्धा हुनु राम्रो हो तर नचाहिने प्रतिस्पर्धा हुनु हुँदैन । नेपाली बैंकिङ अभ्यास ८/१० वर्ष राम्रो भएको थियो । सुरुमा राष्ट्र बैङ्कले जे गरेको थियो सहि थियो । तर, विस्तारै बैङ्कको लाइसेन्सलगायत अन्य विषयमा पनि राजनीतिक हस्तक्षेप बढ्न थाल्यो ।
सन् १९९२ मा नेपालीसँग धेरै पैसा नै थिएन । त्यतिखेर जो कोहीलाई १ करोड निकाल्न पनि सकस हुन्थ्यो । सुरुमा हिमालयन बैङ्कको पूँजी १२ करोड रुपैयाँको थियो । १२ करोड रुपैयाँ जारी पुँजी भनेर चुक्ता पुँजी ६ करोड रुपैयाँबाट सुरु गरेका हौं । त्यसमा प्रमोटरहरुको ३ करोड थियो । अर्थमन्त्रालयका अधिकारीहरुले ५१ प्रतिशत दिनु हुँदैन भनेका थिए । मैले उनीहरुलाई कन्भिन्स गरेपछि उनीहरुले दिन मान्नु भयो । हिमालयन बैङ्क सञ्चालन गर्दा मैले मेरो सम्पत्ति बिक्री गरेँ । भैसेपाटीको ४० रोपनी जग्गा बेचेँ । हेटौंडाको डेढ बिघा जग्गा बिक्री गरेँ । त्यो सबै २७ लाखमा बिक्री गरेको थिएँ । अहिले त्यो सम्पत्ति राखेको भए आज मेरो बैङ्कको सेयरभन्दा २० गुणा माथि हुन्थ्यो । तर पनि त्यो बेला मेरो त्यो सही निर्णय थियो । सन् १९९२ अगाडि नै मैले हबिब् बैङ्क ल्याएको थिएँ । मैले जुन सेयर होल्डर ल्याएँ, उहाँहरुलाई हाम्रो सेयर लकिङ हुनुपर्छ, ५ वर्षभित्र तपाईंले बेच्न पाउनु हुन्न भनेर ‘जेन्टलमेन एग्रिमेन्ट’ गराएँ ।
त्यतिखेर त्यस विषयमा नियम कानुन पनि खासै थिएन । पछि राष्ट्र बैङ्कले त्यसमै चढेर संसारमा नभएको नियम बनायो । प्रमोटर सेयरमा अनिश्चितका लागि लकिङ पिरियड तोक्यो । ३० वर्षसम्म प्रमोटर भएर बस्नु पर्ने नीति कुनै पनि ठाउँमा छैन । प्रमोटरले बैङ्कबाट बाहिरिन खोजेको अवस्थामा जान सक्नु पर्छ । लकिङको व्यवस्था भए पनि केही निश्चित समयको लागि हुनु पर्छ । म हिमालयन बैङ्कमा कार्यकारी निर्देशक थिएँ । कार्यकारी निर्देशकको कार्यकाल हुन्थ्यो । हमालयन बैङ्क सञ्चालन भएको ८ वर्षपछि मैले छोड्ने निर्णय गरेँ । तर, सञ्चालक समितिले मानेन । त्यतिखेर विकास बैङ्क वा पूर्वाधार बैङ्कमा काम गर्ने मेरो सोच थियो । तर, बैङ्कको सञ्चालक समितिले एक कार्यकाल पुनः गर्नुपर्ने भनेपछि काम गरेँ । साढे ११ वर्ष हिमालयन बैङ्कमा काम गरेपछि बैङ्क छोडेँ । हिमालयन बैङ्क खोलेर नेपालीले पनि बैङ्क खोल्न सक्दो रहेछ । नेपालीले पनि बैङ्क चलाउन सक्दो रहेछ भन्ने सन्देश मैले दिन सकेँ । यसमा म गर्व गर्छु । बैङ्कमा ६० प्रतिशत सेयर नेपालीको थियो । प्रतिफलको हिसाबमा पनि अगाडि देखियौं । यो नेपाली बैङ्करका लागि राम्रो हो ।
इन्भेष्टमेन्ट बैङ्कमा अप्रत्यासित प्रवेश
हिमालयन बैङ्क छोडेको पछिल्लो दिन ठमेलमा एउटा कार्यक्रममा गएको थिएँ । ठमेलमा भएको कार्यक्रममा इन्डोस्वेज बैङ्कका कार्यकारी निर्देशकले मलाई आफु बैङ्कबाट बाहिरिने कुरा राख्नु भयो । उहाँले मलाई सेयर खरिद गर्न आग्रह गर्नुभयो । मैले प्रतिसेयर २८० मा खरिद गर्न सकिने बताएँ । उहाँले ३ सयमा दिनु भनेपछि कुरा मिल्यो । त्यतिखेर बैङ्कको सेयर मूल्य ६ सय रुपैयाँ थियो । सन् २००२ बाट आफ्नो सेयर बिक्री गरेर सो समूह बाहिरियो । हामीले पछि नेपाल इन्भेष्टमेन्ट बैङ्क नाम राख्यौं । फ्रेन्चले छोड्नुको कारण फ्रान्सको केन्द्रीय बैङ्कले नेपाल, बंगलादेश, श्रीलंका लगायतका देशको बैंकिङ बजारलाई जोखिमपूर्ण ठहर गर्याे, धेरै कडा नियमन बनायो । धेरै प्रोभिजनिङ व्यवस्था गरिदियो । उनीहरुले जोखिम देखे र नेपाल छोड्ने निर्णय गरे ।
अहिले बैङ्कहरुको नाफा घटिरहेको छ । धेरै बैङ्कले सम्पत्ति बेचेर नाफा देखाएका छन् । बैङ्कहरुको औसत प्रतिफल ११ प्रतिशत मात्रै छ । व्यवसायमा जोखिम लिन सक्नुपर्छ । तपाईंले एक पाइँला अगाडि बढाउँदा अर्कैले तीन पाइला अगाडि बढाउन सक्छ । भएको पैसालाई दोब्बर–तेब्बर बनाएर काम गर्न सकिन्छ । बिजनेशम्यान जोखिम लिन्छन् । जसले जोखिम लिएर नयाँ आइडियामा लगानी गर्छ उसैले पैसा कमाउँछ । मैले हिमालयन बैङ्क छोडेर इन्डोस्वेज बैङ्क लिँदै गर्दा यो बैङ्कको बिजनेश हिमालयन बैङ्कको तुलनामा एक तिहाई मात्र थियो । मैले बैङ्कको विस्तार गर्न सुरु गरेँ । किनकी मसँग भिजन थियो । बिजनेशसँग पुँजी वृद्धिमा जोड दियौं । धेरै पटक हकप्रद हालियो । सुरुमा धेरै अभाव खेप्नु पर्याे । जग्गा/मोटर बेचेर सेयर किनियो । त्यतिखेर नगद हुन्थेन । राष्ट्र बैङ्कले ८ अर्बको पुँजीको व्यवस्था गर्दा हामीले करिब ७ अर्ब बनाईसकेका थियौं । कतिपयले मलाई राष्ट्र बैङ्कसँग लबिङ गरेर बैङ्कको पुँजी ८ अर्ब पुर्याउन लगायो भनेर आरोप पनि लगाए । तर, मैले रिजर्भ र पुँजी गरेर १० अर्ब रुपैयाँ हुनु पर्ने व्यवस्था हुनुपर्छ भन्ने कुरा राखेको थिएँ । पछि पुँजी मात्रै ८ अर्ब बनाउनु पर्ने नीति आएको देखेर म समेत सरप्राइज भएको थिएँ ।
धेरै साथीहरु बैङ्कमा लगानी गर्ने इच्छा देखाउनु हुन्छ । ७/८ प्रतिशत प्रतिफल भए पनि हुन्छ भन्नुहुन्छ । तर, गाह्रो छ । हिमालयन बैङ्कमा हुँदा मेरो श्रीमतीले कहिल्यै लाभांश देखिएन भनेर गुनासो गर्थिन् । स्थापनापछिको ५/६ वर्ष लाभांश दिन सकेको थिएन । बिजनेसमा आजको भोलि पैसा कमाउन सकिन्न । पर्खिनु पर्छ । मैले जलविद्युतमा पनि लगानी गरेको छु । त्यसमा पनि प्रतिफल अहिलेसम्म आएको छैन । म पर्खिरहेको छु । इन्भेष्टमेन्ट बैङ्कहरुले हालसम्म उच्च रुपमा ४० प्रतिशतसम्म लाभांश दिएको छ । एउटा नर्मल बिजनेसम्यानले न्यूनतम २० प्रतिशत प्रतिफल हेर्छ । सुरुमा हाम्रो बैङ्कको औसत २५ प्रतिशत प्रतिफल थियो । अहिले सबै बैङ्कहरुको औसत प्रतिफल ११/१२ प्रतिशत छ । अहिले लगानीकर्ताहरु बोनस सेयरमा खुसी हुन्छन् । बोनस सेयर दिएपछि रिटर्न घट्छ । सेयर मूल्य घट्छ । यस विषयमा हामीले सोच्नुपर्छ । विदेशमा नगद बढी दिने अभ्यास छ । इन्भेष्टमेन्ट बैङ्क सधैं टप थ्रीमै रहिरह्यो । अन्य धेरै बैङ्क मर्ज भए । त्यसकारण पनि हामी अलि तल रह्यौं ।
कर्मचारीका लागि उत्कृृष्ट बैङ्क
नेपाल इन्भेष्टमेन्ट बैङ्क कर्पोरेट बैंकिङमा बढी फोकस छ । मेगा बैङ्कसँग आज (बुधबार) एकीकृत कारोबार हुँदैछ । अब नेपाल इन्भेष्टमेन्ट मेगाच बैंक एक उत्कृष्ट बैङ्कका रुपमा देखिन्छ । हामी कर्पोरेट बिजनेस गर्ने बैङ्क हो । मेगाले एसएमईलाई बढी फोकस गर्छ । यो हाम्रो लागि राम्रो कम्बिनेसन हुन सक्छ । शाखाको हिसाबले पनि हामी राम्रो छौं । सिजर्नी आउँछ भन्नेमा म विश्वस्त छु । कुनैमा नम्बर वान, कुनैमा दोस्रो र कुनैमा तेस्रो नम्बरमा छौं । मर्जरपछि पनि उत्कृष्ट हुने हाम्रो लक्ष्य रहन्छ । इन्भेष्टमेन्ट बैङ्कमा कर्मचारीको तलब तथा अन्य सेवा सुविधा राम्रो छ । हाम्रो बैङ्कको सञ्चालन नाफा कम छ । मर्जरपछि अहिलेको भन्दा राम्रो प्रतिफल हुन्छ ।
इक्विटीमा १५ प्रतिशतभन्दा बढी रिटर्न हुन्छ । यो बैङ्कले सेयरधनीलाई ठीकै प्रतिफल दिएको छ । अहिले धेरै बैङ्कले यति कमायौं भनेर हल्ला गर्नु हुन्छ । १ अर्ब कमाउने बित्तिकै बैङ्कले यति कमायो भनेर हल्ला हुन्छ । लगानी ३० अर्ब हुन्छ तर त्यसमा १ अर्ब कमायो भने पनि हल्ला फैलिन्छ । बैङ्कहरु पारदर्शी छन् । इक्विटीमा प्रतिफल हेर्नुपर्छ । बिजनेसम्यानले पनि बुझ्नु पर्छ । बैङ्करले पनि बुझाउन सक्नु पर्छ ।
अझैं बैंकिङमा रहन्छु
मेरो करियर नै बैंकिङदेखि सुरु भएको हो । रिटायर्ड पनि यही पेशाबाट हुन्छु । हुन त मैले आजभन्दा १० वर्ष अगाडि नै बैङ्कको सीईओ छोडेको हुँ । तर, म अझै काम गर्न चाहन्छु । मानिसको सबैभन्दा प्रोडक्टिभ उमेर भनेको ६० देखि ७० वर्ष हो । त्यसपछि दोस्रो सबैभन्दा प्रोडक्टिभ उमेर ७० देखि ८० वर्ष हो । यो अध्ययनले पुष्टि गरेको तथ्य हो, मेरो भनाई होइन । अहिले म ६८ वर्षको मात्रै भएँ । अझै १०/१२ वर्ष राम्रोसँग काम गर्न सक्छु । अब पछि के कसरी अगाडि बढ्न सकिन्छ समय र परिस्थितिले निर्धारण गर्दै जानेछ । म बैङ्कको आम्दानीसँग निर्भर छैन ।
विस्तारै हामीले लगानीमा विविधीकरण गर्दै गयौं । हाइड्रोपावर, होटल, रिर्सोट, रियलस्टेट लगायत क्षेत्रमा लगानी गरिरहेका छौं । मसँग नेटवर्क छ । ज्ञान छ । सबै क्षेत्रमा सम्भावना छ । मिहिनेत गर्नु पर्छ । बिजनेसम्यानले ६/७ वर्षसम्म पर्खिनु पर्छ । बैङ्कमा धेरै मिहिनेत छ तर पनि रिटर्न ११/१२ प्रतिशत मात्रै छ । जुनसुकै बिजनेसमा पनि मिहिनेत चाहिन्छ । मैले पनि कुनै दिन बुबासँग पैसा लिनु पथ्र्यो । १२७५ रुपैयाँमा परिवार पाल्नु पथ्र्यो । एक रातमै धनी बन्छु भन्ने सपना कसैले देख्नु हुँदैन ।
म मैले गरेको कामप्रति सन्तुष्ट छु । मान्छेले मलाई विश्वास गरेका छन् । धेरैलाई मैले सहयोग गरेको छु । सन्तुष्टि पैसा कमाएर प्राप्त हुँदैन । मैले जग्गा बेचेर काम गर्नु त्यतिबेलाको लागि राम्रो निर्णय थियो । व्यवसायमा जोखिम लिन सक्नु पर्छ । जोखिम नलिएर कमाउन सकिँदैन । नेटवर्क निर्माण गर्नु पर्छ । मान्छेलाई चिन्नु पर्छ । तब मात्रै व्यक्ति सफल बन्न सक्छ । मैले त्यतिखेर जग्गा बेचेर बैङ्क नखोलेको भए बैंकिङमा एक पायोनियर बैङ्कर भनेर नचिनिन पनि सक्थेँ । प्रस्तुती : सन्तोष रोकाया
(पाँडे नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष हुन् । देशविकास पत्रिकाको वर्षअङ्क बाट)
सम्बन्धित सामग्री :
Copyright © 2024 Bikash Media Pvt. Ltd.