२४ वर्षकै उमेरमा गाविस अध्यक्ष बनेका सरोजकुमार यादव मधेस प्रदेशका मुख्यमन्त्री

  २०७९ पुष २८ गते ९:००     विकासन्युज

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पटकपटक कार्यकारी पदमा रही अनुभव बटुलिसकेका छन् । यसअघि मधेस प्रदेशको सभामुखको भूमिका निर्वाह गरिसकेका मुख्यमन्त्री यादव सङ्घीय सरकारमा दुईपटक राज्यमन्त्री बनिसकेका छन् ।

वि.सं. २०३० मा जन्मेका यादव सिम्रौनगढ नगरपालिका–३ नयका टोला निवासी हुन् । भारतीय सीमावर्ती क्षेत्र भारत विहारका नेतासँग उनको राम्रो सम्बन्ध छ । गाउँ आसपासमा धार्मिक, शिक्षा, सामाजिक र स्वास्थ्य क्षेत्रमा उहाँको परिवारले जग्गा र नगद दान गरेकाले यस क्षेत्रमा उनको परिवारको योगदानको चर्चा हुने गर्दछ ।

धनाढ्य परिवार (जमिन्दार) उनका स्व.पिता परमानन्दप्रसाद यादव पनि पञ्चायतकालमा गाउँ पञ्चायतका मुखिया हुँदै प्रजातन्त्रपछि सद्भावना पार्टीका नेता थिए । मुख्यमन्त्री यादव सद्भावना पार्टीका महासचिव थिए । जसपा, लोसपा, सद्भावना लगायतका मधेस केन्द्रित दल एकीकरण भएर राजपा बन्दा उनी राजपाका राष्ट्रिय उपाध्यक्षसमेत भएका थिए । उनले प्रवीणता प्रमाणपत्र तह (आइएससी)सम्म अध्ययन गरेका छन् । माध्यमिक शिक्षा गाउँ नजिकै सिम्रौनगढस्थित कङ्काली माविबाट प्राप्त गरेका हुन् ।

२४ वर्षकै उमेरमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पढ्दापढ्दै तत्कालीन हरिहरपुर गाविसको अध्यक्षमा पहिलो पटक निर्वाचित हुँदै उनले राजनीतिक यात्रा थालेका थिए । वि.सं. २०५९ सम्म उनी गाविस अध्यक्ष हुँदा लोकप्रियता कमाउन सफल भएका थिए ।

वि.सं. २०६४ को पहिलो संविधानसभा सदस्यमा बारा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ सद्भावना पार्टीबाट निर्वाचित हुँदै उनले संसदीय यात्रा सुरु गरेका थिए । तत्कालीन मधेसी जनाधिकार फोरमका उम्मेदवार रामबाबु यादवलाई पराजित गरी यादव विजयी भएका थिए ।

त्यसबेला नेकपा माओवादीको सरकार थियो । पुष्पकमल दाहाल प्रचण्ड र डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा सद्भावना पार्टीबाट उनी पहिलो पटक सङ्घीय स्वास्थ्य राज्यमन्त्री र दोस्रोपटक उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका थिए ।

वि.सं. २०७० मा भने फेरि यसै क्षेत्रबाट दोस्रोपटक संविधानसभा सदस्यमा उम्मेदवार बन्दा कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए । वि.सं. २०७४ मा बारा निर्वाचन क्षेत्र १ को (२) बाट प्रदेशसभा सदस्यमा तत्कालीन राजपाबाट विजयी भई मधेस प्रदेशका सभामुख बनेका थिए ।

मुख्यमन्त्री यादव एमाले र जसपाबीचको चुनावी तालमेलमा बारा निर्वाचन क्षेत्र नं १ को (२)बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर दोस्रो पटक निर्वाचित भएका हुन् । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट राजनीति यात्रा सुरु गरेका यादवले पहिलो पटक तत्कालीन राजपाबाट चुनावी प्रतिस्पर्धा गरेका थिए भने यसपटक जसपामा प्रवेश गरी उम्मेदवारी दिएका थिए । दोस्रो पटकको चुनावमा उनको क्षेत्रमा गत मङ्सिरको चुनावमा वाम लोकतान्त्रिक गठबन्धन थिएन ।

यादवले ४ हजारभन्दा बढी मतान्तरले निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नागेन्द्र साह पराजित गर्दै विजयी भएका हुन् । यसरी ५ वर्षसम्म सभामुखको अनुभव बटुलेका यादवले २०७९ को चुनावमा सोही क्षेत्रबाट एमालेको तालमेलमा जसपाका तर्फबाट उम्मेदवार भएर विजयी भई मुख्यमन्त्री भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.