जसले नेपाली रुपैयाँ चलनचल्तीमा ल्याए, पहिलो निजी बैंक स्थापनाको श्रेय पाए

  २०७९ माघ २२ गते ११:०१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाको आइतबार बिहान निधन भएको छ । उनको आइतबार बिहान ८ बजे ९७ वर्षको उमेरमा निधन भएको हो ।

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर समेत रहेका उनी सन् १९५६ अप्रिलदेखि सन् १९६१ फेब्रुअरीसम्म नेपाल राष्ट्र बैंकको गभर्नर भएका थिए । नेपाली अर्थतन्त्रमा उनको ठूलो योगदान छ ।

नेपाली बजारमा दबदबा राखेको भारतीय रुपैँया विस्थापित गर्न उनको भूमीका अनुकरणीय छ । भारतीय रुपैयाँ विस्थापित गरेर नेपालको तराई क्षेत्रमा अप्रत्याशित सहजताका साथ नेपाली रुपैयाँलाई चलनचल्तीमा ल्याएर नेपालीलाई नेपाली नोट सहज रुपमा उपलब्ध गराउन उनले अहम भूमीमा खेलेका छन् ।

त्यसबेला नेपाल राष्ट्र बैङ्क स्थापना गर्नुको मुख्य उद्देश्य एउटा मुलुकमा एउटै मुद्रा चलनचल्तीमा हुनुपर्छ भन्ने थियो । काठमाडौँ उपत्यका र पहाडमा नेपाली रुपैयाँ चलनचल्तीमा हुने, झापादेखि कन्चपुरसम्मको तराई र भित्री मधेशमा भारतीय मुद्रा चलनमा थियो ।  भारुमै मालपोत उठाउँथ्यो, भारुमै खर्च गरिन्थ्यो । त्यो परिपाटीको अन्त्य उनै राणाले गरेका हुन् ।

त्यो बेला भारुलाई नेपालीमा परिवर्तन गर्दा सटही दर निर्धारण गर्न पनि निकै कठिन काम थियो । उनै राणाले तीन वर्ष लगाएर त्यसमा अनुसन्धान गरे । कैलालीदेखि इलामसम्म रहेका राष्ट्र बैंकको शाखाबाट त्यो क्षेत्रमा चलनचल्तिमा रहेका भारुको तथ्यांक निकाले । पछि १ सय रुपैयाँ भारुको १६० रुपैयाँ नेपाली विनिमय दर निकाले । विस्तारै भारु नेपाली बजारबाट विस्थापित हुँदै गयो ।

जब महेन्द्र महाराजधिराजले संसद विघटन गरेर सत्ता लिए । बहुदलीय व्यवस्थामा विश्वास गर्नेहरु सबैलाई राजा महेन्द्रले अपदस्थ गरे । त्यो अपदस्थमा उनी पनि परे ।

पहिलो अर्थसचिव पनि

१४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको पहिलो अर्थसचिव बने । आफु अर्थ सचिव हुँदा नेपालको अर्थतन्त्रमा धेरै परिवर्तन भएको उनले विगतका विभिन्न सार्वजनिक कार्यकक्रममा बोल्दै आएका थिए ।

राणा शासनकालमा देशमा अर्थ मन्त्रालय नै थिएन । आम्दानी–खर्च गोप्य राख्ने चलन थियो । उनी अर्थसचिव भएपछि सरकारको आयव्यय सार्वजनिक हुन थाल्यो । बजेट ल्याउने अभ्यास पनि उनकै पालामा सुरु भएको हो । उनी अर्थसचिव हुँदा भएको महत्वपूर्ण अर्को काम भनेको नयाँ आर्थिक नियमावलीहरु बने ।

हिमालयन बैंक पनि स्थापना 

उनी नेपाल राष्ट्र बैंकबाट बाहिरिएपछि निष्कृय भएर बसेनन् । नेपाली लगानीसहितको पहिलो बैंक हिमालयन बैंक स्थापना गर्ने पनि उनै राणा हुन् । उनकै नेतृत्वमा सन् १९९३ मा पाकिस्तानको हबिब बैक लिमिटेडसँगको संयुक्त लगानीको रूपमा सुरू भएको हो । यो नेपालको पहिलो निजी बैक पनि हो । अहिले हिमालयन बैंक निजी बैकहरूमध्ये आफुलाई अग्रस्थानमा राखेर काम गरिरहेको छ ।

हिमालयन बैंकसँगै हिमालयन डिस्टिलरी पनि उनल नै स्थापना गरेका हुन् । हिमालय शमशेर राणा प्रधानमन्त्री श्री ३ देव शम्शेरको नाती हुन् । उनी वि।स २००८ देखि २०१३ सम्म अर्थसचिव थिए । उनी पछिल्लो समय किताब लेखिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.