२०७९ चैत ९ गते १२:३४ नारायण अर्याल
‘शङकरलाल केडिया उद्योगपति र सामाजिक व्यक्ति हुनुहुन्थ्यो, उहाँका तीन छोराहरुमध्ये कान्छो छोराको १७ वर्षको उमेरमा निधन भयो’, डीएभी स्कुलका उप–प्रधानाध्यापक रामचन्द्र खनालले स्कुल स्थापनाको विषय कोट्याउँदै भने, ‘छोरा गुमाइसकेपछि छोराको नामलाई कसरी अमर राख्न सकिन्छ भनेर उहाँले विद्यालय खोल्नुभएको हो ।’
उप–प्रधानाध्यापक खनालका अनुसार केडियाले एउटा अभियानको रुपमा देशभरि नै विद्यालय खोल्ने विचार बनाए । खासगरी नेपालको संस्कृति तथा पूर्वीय वैदिक दर्शनको संरक्षण गर्ने उद्देश्यले उनले स्कुलहरुको सुरुवात गरेका हुन् ।
भारतको डिएभी विद्यालय अभियानले सनातन धर्ममा भएका सकारात्मक पक्ष र पूर्वीय वैदिक दर्शनलाई संरक्षण गर्दै पुस्तान्तरण गर्ने काम गरेको र सोही अभियानसँग जोडिएर अगाडि बढ्नेगरि केडियाले पनि नेपालमा विद्यालय खोल्ने अभियानको सुरुवात गरेको उप–प्रधानाध्यापक खनालले बताए ।
सन् १९९३ मा काठमाडौंको कालिमाटीमा १२ जना विद्यार्थीलाई भर्ना गरेर डीएभी सुशील केडिया विश्व भारती स्कुलको सुरु भयो । त्यसको तीन वर्षपछि ललितपुरको झम्सीखेलमा आधुनिक भौतिक पूर्वाधार संरचनासहित डिएभी स्थानान्तरण भयो ।
स्कुलको नाम विभिन्न अर्थ दिने धेरै शब्दहरु जोडेर बनाइएको छ । यो विषयमा पनि धेरैले धेरै कोणबाट अर्थ लगाउने गरेको तर यसको पछाडि दार्शनिक तथा वैचारिक विषय रहेको खनाल बताउँछन् । ‘पूर्वको वैदिक ज्ञानले विश्वलाई जीवन दर्शन सम्बन्धी एउटा दृष्टिकोण दिएको छ, एङ्लो भनेपछि आजको दिनमा पाश्चात्य जगतले जुन उपलब्धि हासिल गरेको छ, त्यसलाई पनि हामीले सँगै लिएर जानुपर्छ’, खनालले भने, ‘त्यही दर्शनका आधारमा दयानन्द एङ्लो वैदिक रहन गएको हो ।’ स्कुल केडियाको स्वर्गीय छोराको स्मृतिमा खोलिएको हुनाले सुशील केडिया र विश्व भनेको संसार र भारती भनेको सरस्वतीको एउटा नाम रहेको उनले प्रस्ट पारे ।
केडियाले नेपालका डीएभी केडिया विश्व भारती सबैै जिल्लामा स्कुल खोल्ने अभियानको सुरुवात गर्ने तयारी गरे । त्यसको उनले एउटा छाता संस्था पनि निर्माण गरे । उनले नेपालका विभिन्न जिल्लामा डीएभीसँग जोडिएका विराटनगर, विरगञ्ज, हरिऔन, सर्लाही र काठमाडौंमा चारवटा विद्यालय खोले । तर, अभियानले पूर्ण साकार रुप लिन नपाउँदै उनको मृत्यु हुन पुग्यो ।
डिएभी अभियानसँग जोडेर छोराको स्मृतिमा केडियाले खोलेको स्कुल अहिले देशकै एउटा प्रतिष्ठित एवं आदर्श स्कुल बन्न सफल भएको छ । डीएभीमा अहिले किन्डर गार्डेन तहदेखि स्नातकोत्तरसम्मको पढाइ हुने गर्छ, जहाँ ७ हजार भन्दा धेरै विद्यार्थीहरुले पढ्छन् । जसमध्ये १० कक्षासम्म मात्रै ३ हजार विद्यार्थी छन् । सिबिएसई, राष्ट्रिय परीक्षा बोर्डको कक्षा ११ र १२, स्नातक र स्नातकोत्तर तहमा गरेर ७ हजार भन्दा धेरै विद्यार्थी भएको खनाल बताउँछन् ।
काठमाडौं उपत्यकाभित्र साना ठुला गरेर तीन हजार विद्यालयहरु छन् । उप–प्रधानाध्यापक खनालका अनुसार विशेष गरी विद्यालय तहमा डिएभीले यी सयौं विद्यालयहरुमध्ये प्रिथक र विशिष्ट पन बोकेको छ, त्यसैका कारण हजारौं विद्यार्थीहरुको आकर्षण डिएभिप्रति छ ।
डिएभी यस्तो स्कुल हो, जहाँ नेपाल सरकारको एसईई बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड र सिबिएसई बोर्डको शिक्षा विद्यार्थीले रोजेर पढ्न पाउँछन् । नेपाली पाठ्यक्रम र भारतीय पाठ्यक्रमका आ–आफ्नै विशेषता छन । संख्यात्मक रुपमा नेपाली पाठ्यक्रमको शैक्षिक कार्यक्रममा भन्दा भारतीय शैक्षिक कार्यक्रममा केही कम विद्यार्थीले पढ्ने गर्छन् । अध्ययन प्रव्रिmयामा भने सिबिएसई कार्यक्रममा विद्यार्थीहरुलाई सहज र विशिष्ट भएको खनालको भनाइ छ ।
‘सिबिएसईको कार्यक्रममा विद्यार्थीको क्षमता अनुसारको सामग्री राखिएको छ, नेपाली पाठ्यक्रममा विषयवस्तु बढी छ, जस्तो सिबिएसईमा विद्यार्थीले ५ वटा विषय पढे पुग्छ भने नेपाली पाठ्यक्रममा ७ वटा विषय पढ्नुपर्छ’, उनले भने, ‘तर, नेपाली पाठ्यक्रम राम्रोसँग पढ्न सक्यो भने विद्यार्थीले भविष्यमा धेरै राम्रो गर्न सक्छन् ।’
अनिवार्य संस्कृत शिक्षा
स्कुलले भाषा अध्ययनलाई विशेष जोड दिएको खनालको भनाइ छ । पछिल्लो समयमा अधिकांश सरकारी विद्यालयले हटाएको र निजी विद्यालयले मतलब नै नगर्ने संस्कृत भाषालाई डिएभी स्कुलले प्राथमिकताका साथ विद्यार्थीलाई पढाउने गरेको छ । कक्षा ५ देखि ८ सम्मको अध्ययनमा विद्यार्थीलाई संस्कृत भाषा पढाउने गरिएको छ । जसको लागि स्कुलले विशेष कक्षाको व्यवस्था गरेर सो भाषा सिक्ने व्यवस्था गरेको खनालको भनाइ छ ।
संस्कृत भाषालाई नेपाली र हिन्दी लगायत धेरै भाषाहरुको जननी भाषाको रुपमा मानिन्छ । संस्कृत भाषाको अध्ययन गर्दा विद्यार्थीको नेपाली तथा अंग्रेजी दुबै भाषा र अन्य विषयको अध्ययनमा समेत सघाउ पुर्याउने र विद्यार्थीको क्षमतामा वृद्धि हुने खनालले बताए ।
उनका अनुसार स्कुलले वैदिक परम्पराको संरक्षण गर्नको लागि पनि विद्यार्थीहरुमाझ विशेष अभ्यास गर्ने गरेको छ । जुन सामान्यतया अन्य स्कुलहरुले गर्दैनन् । स्कुलको शैक्षिक सत्रको सुरुवात, विशेष कार्यक्रमको सुरुवात र वा दैनिक शैक्षिक क्रियाकलापको शुरुवातमा वैदिक सांस्कृतिक परम्परालाई अवलम्बन गर्ने गर्छ ।
‘हामीले हवन कार्यक्रम गरेर प्रत्येक शैक्षिक सत्रको सुरुवात गर्ने गर्छौं, त्यस्तै अन्य कुनैपनि मत्वपूर्ण कामको सुरुवात गर्नुपर्यो भने हामी हवन गर्छौं, कक्षाहरुको शुरुवात गर्दा वैदिक मन्त्रबाट सुरु गर्छौं’, उनले भने, ‘यसमा हामीले सबै विद्यार्थी र अभिभावकहरुलाई सहभागी गराउँछौं ।’ वैदिक ज्ञानलाई विद्यार्थीसम्म पुर्याउन साथै पुस्तान्तरण गर्नका लागि संस्कृत विषय पढाइएको उप–प्रधानाध्यापक खनालले बताए । साथै स्कुलले संस्कार सहितको शिक्षाको लागि जोड दिएको उनको भनाइ छ ।
‘हामीले योगलाई पनि विषयको रुपमा राखेका छौं, सानो कक्षादेखि १२ कक्षासम्म नै हामीले योग शिक्षा दिने गरेका छौं’, उनले भने । स्कुलले दिनमा विद्यार्थीहरुलाई आठ प्रियड पढाउने गर्छ । जसमा नियमित कक्षाको अलावा, भाषा, योग, कला, खेलकुद, पुस्तकालय अध्ययन, गीतसङ्गीत, चित्रकला, लगायतका विषयहरुलाई विशेष ढंगले समेटिएको छ ।
स्कुलले बौद्ध महिला संघसँग समन्वय गरेर विद्यार्थीहरुलाई बौद्ध दर्शन र पालीको पनि ज्ञान दिने व्यवस्था मिलाएको छ । त्यसको लागि हप्तामा एक दिन सो भाषाको विषयमा विद्यार्थीलाई अध्ययनको व्यवस्था मिलाइएको उप–प्रधानाध्यापक खनालले बताउँछन् । हप्ताको एक दिन विहानको प्रार्थना गर्दा विद्यार्थीलाई पालीमा प्रार्थना गर्न लगाउने व्यवस्था समेत मिलाइएको उनको भनाइ छ । बुद्ध दर्शन भनेको पनि पूर्वी दर्शनको विशेष आयाम भएकाले सो विषयलाई प्राथमिकता दिएको उनले बताए ।
स्कुलले कक्षा ६ देखि ९ सम्म विद्यार्थीलाई जर्मन, फ्रेन्च र चाइनिज भाषा अध्ययन गर्ने व्यवस्था मिलाएको छ । विद्यार्थीले यी तीन भाषामध्ये कुनै एक भाषा रोजेर पढ्नुपर्ने उप–प्रधानाध्यापक खनालले बताए । त्यसको लागि सोही भाषाका शिक्षकको व्यवस्था गरिएको उनी बताउँछन् । भाषाले नै मानिसलाई विचार दिने र धेरै विषयमा जानकारी दिने हुँदा स्कुलले भाषालाई विशेष जोड दिएको उनको तर्क छ ।
विद्यार्थीलाई अनुशासनमा राख्ने भन्ने विषय निकै महत्वको विषय भएको तर त्यसको लागि अनुशासनमा बस भनेर मात्रै अथवा दण्ड जरिवाना गरेर, विशेष अनुशासनका नियम बनाएर अनुशासनमा राख्न नसकिने खनालको भनाइ छ । त्यसको लागि विद्यार्थीहरुलाई विभिन्न मोटिभेसनल कार्यक्रमहरुमार्फत् अनुशासनको दायरामा ल्याउने अभ्यास स्कुलले गरेको उनले बताए ।
विद्यार्थीहरुलाई पारिवारिक तथा सामाजिक रुपमा अनुशासित बनाउन सो अनुसारको उत्प्रेरणामुखी कार्यक्रम गर्नेगर्छ । जसको लागि आमा, बुवा, विभिन्न क्षेत्रका परिचित व्यवसायी लगायतसँग विद्यार्थीहरुलाई साक्षात्कार गराउने गरिन्छ । अनुशासनमा बस्ने, नियमित विद्यालय आउने, आफ्नो काम समयमै गर्ने, जिम्मेवार, सहयोगी, विनयी, विद्यार्थीहरुलाई विभिन्न पुरस्कार र हौसला दिएर अनुशासित र मर्यादित बनाउने गरेको कुरा खनालले बताए ।
यसले कक्षामा एउटा विद्यार्थी मात्र होइन कक्षाको र समग्र विद्यालयकै अनुशासन अब्बल रहने गरेको खनालको अनुभव छ । विद्यार्थीहरुबीचमा अतिथिहरुले आफ्नो अनुभव बाँड्दा विद्यार्थीको ज्ञान बढ्ने उप–प्रधानाध्यापक खनालको भनाइ छ । ‘मि एन्ड माई प्यारेन्ट्स’, ‘मि एन्ड माई प्रोफेसन’, र ‘मेरो बुवा’ मेरी आमा विद्यार्थीलाई अनुभव बाँडनको लागि स्कुलका चर्चित कार्यक्रम हुन् ।
त्यस्तै स्कुलले वैदिक संस्कृतिको पक्षलाई संरक्षण गर्ने उद्देश्यले सनातनी चाडपर्वहरुलाई विशेष उत्सवका साथ मनाउने तालिका नै बनाएको छ । पठन संस्कृतिको लागि पनि स्कुलले विद्यार्थीहरुलाई विशेष कार्यक्रम बनाएर महिनाको एउटा स्कुलमा पढाइ हुने बाहेकका पुस्तक पढ्नैपर्ने नियम बनाएको छ । किताबहरु पढिसकेपछि सो विषयलाई सेयर, चर्चा परिचर्चा गर्ने र उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने व्यवस्था गरेको खनालले बताए ।
‘अहिले धेरै अभिभावकहरुले मेरो छोराछोरीले मोबाइल हेयोर्, पढ्न मान्दैन भन्ने गुनासो गरेको सुनिन्छ, तर, हामीले एउटा किताब पढ्नैपर्ने बनाएको तालिकाले विद्यार्थीमा पठन संस्कृतिको विकास भएको छ’, उनले भने, ‘एक जना विद्यार्थीले वर्षमा २० वटा सम्म पुस्तक पढेको पाइएको छ ।’ यसले गर्दा सम्बन्धित भाषाको मात्र होइन समग्र विषयकै उपलब्धी राम्रो भएको खनालको दाबी छ ।
विद्यार्थीहरुमा कहिलेकाहीँ आउने समस्याको लागि स्कुलले काउन्सिल टिम बनाएको छ । यदि कुनै विद्यार्थीमा धेरै थोरै समस्या देखिएमा सो टिमले सम्बन्धित विद्यार्थी र अभिभावकलाई काउन्सिल गर्ने गरेको उनले बताए ।
भाषाहरुको साथै अतिरिक्त क्रियाकलाप संगित, खेलकुद, योगा, आइटी लगायतका क्रियाकलापहरुको लागि छुट्टै जनशक्तिको व्यवस्था गरेको छ । साथै क्रियाकलापको अनुसन्धान र कार्यान्वनको लागि पनि स्कुलले छुट्टै जनशक्तिको व्यवस्था गरेर अनुसन्धानका आधारमा वार्षिक रुपमा कार्यक्रम थपघट गर्दै लैजाने व्यवस्था गरेको खनालले बताए ।
साथै उनका अनुसार पछिल्लो समयमा विकास भएको सूचना तथा प्रविधिलाई पनि स्कुलले उत्तिकै प्राथमिकता दिएर पढाउने गरेको छ । अन्य स्कुलहरुमा जस्तै आइटी लाइब्रेरी र कम्प्युटर कक्षा डिएभीमा पनि छ । त्यसबाहेक डिएभीले कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई अनिवार्य पेनलेस विधिबाट पढाउने अभ्यास गरेको छ । जसको लागि सो स्कुलमा पढ्ने सबै विद्यार्थीले हप्ताको एकदिन अनिवार्य ल्यापटप लिएर आउनुपर्ने हुन्छ र सो दिन पूर्ण प्राविधिक माध्यमबाट पढाउने खनालले बताए ।
सिबिएसई कार्यक्रममा अब्बल
नेपालमा १६ वटा स्कुलहरुले सिबिएसई कार्यक्रम सञ्चालन गर्ने गर्छन् । त्यसमध्ये कक्षा १० र १२ का सधैंका परीक्षामा डिएभी पहिलो हुने गरेको छ । खनालका अनुसार भारतकै सिबिएसई बोर्डमा पनि डिएभीको अवस्था उत्कृष्ट रहेको उनले बताए । चालु शैक्षिक सत्रबाट सिबिएसईमा ९९ प्रतिशत ल्याउने गरी स्कुलले नयाँ कार्ययोजना सहित अगाडि बढाएको उनको भनाइ छ ।
अहिले स्कुलको अध्यक्ष अनिल केडिया र प्रधानाध्यापक डा. भुवनेश्वरी राव रहेकी छन् । विद्यालयले एकसय ९० भन्दा बढी शिक्षक र कर्मचारी समेत गरेर २५० भन्दा धेरैलाई रोजगार समेत दिएको छ । स्कुल भने निजी ट्रस्टको विधिमा सञ्चालन भइरहेको छ । तल्लो तहको कक्षादेखि कक्षा १२ सम्मको मासिक ट्युशन शुल्क १० हजारको हाराहारीमा मात्रै रहेको छ ।
स्कुलको एकेडेमिक शुल्कबाट भएको आम्दानीलाई ट्रस्ट सञ्चालक पक्षले अन्यत्र लगानी नगरेर सोही स्कुलको स्तरोन्नतिका लागि खर्च गरेको खनालले बताए । अभिभावकसँग लिएको शुल्कको तुलनामा गुणस्तर बढी दिएको कारण स्कुलमा विद्यार्थीको आकर्षण बढी भएको उनले बताए । उनका अनुसार डिएभीबाट अध्ययन गरेका विद्यार्थीहरु अमेरिकाको नासा, माइक्रोसफ्टदेखि विभिन्न प्रतिष्ठित उद्यम क्षेत्रमा पुगेका छन् । त्यतिमात्र होइन प्रविधिक र व्यवसायिक क्षेत्रमा यहाँ बाट पढेर उत्तीर्ण गरेका विद्यार्थीले राम्रो गरेको कुरा खनालले उल्लेख गरे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.