२०७९ चैत २० गते १४:५४ विकासन्युज
काठमाडौं । यहि चैत १३ गते विकासन्युज डटकममा ‘जसलाई सहकारीले अर्बपति बनाएर सडकमा पुर्यायो’ शिर्षक राखेर प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै खोजतलास मिडिया प्रालिले खण्डन पठाएको छ ।
खोजतलास मिडियाका सञ्चालक राजु बस्तेतले चैत २० गते विकासन्युजलाई पठाएको खण्डन पत्रमा भरत महर्जन उक्त मिडियाको अध्यक्ष भएको उल्लेख गरेका छन् ।
सुमेरु बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष रहेका भरत महर्जन लगातार १७ वर्षसम्म अध्यक्ष रहेका थिए । सहकारीको १७ औं साधारण सभापछि सम्पूर्ण स्वामित्व छाडी कुनै पनि सरकारी पदमा आवद्ध नभएको खण्डन पत्रमा उल्लेख गरिएको छ ।
सहकारीबाट व्यवसायिक यात्रा शुरु गरेका महर्जनले पछि शिक्षा, स्वास्थ्य, घरजग्गा, व्यापार, पर्यटन क्षेत्रमा लगानी विस्तार गरेका थिए । उनी अध्यक्ष रहेको सुमेरु ग्रुपमा सुमेरु बचत तथा ऋण सहकारी, सुमेरु हस्पिटल, सुमेरु सिटी हस्पिटल, सुमेरु डास्नेष्टिक, एशियन कलेज फर एडभान्स स्टडी, सुमेरु मेडिकल कलेज, सुमेरु मार्ट, सुमेरु मनि एक्चेज, सुमेरु हाउजिङ एण्ड डेभलपर्स, सुमेरु टुर एण्ड ट्राभल्स लगायत करिब एक दर्जन कम्पनी खुलेका थिए ।
सुमेरु सहकारीको पैसा चलाएर महर्जनले दर्जनभन्दा बढी कम्पनी खोलेको र अहिले ती सबै कम्पनीहरु आर्थिक संकटमा फसेको जानकारहरु बताउँछन् । हाल महर्जन विदेशमा बस्छन् । बचतकर्ताहरुको पैसा डुबाएर महर्जन विदेश भागेको सुमेरु सहकारी पीडितहरुको आरोप छ ।
तर खोजतलास मिडियाका सञ्चालक राजु बस्तेतले विकासन्युजलाई पठाएको खण्डन पत्रमा महर्जन व्यक्तिगत तथा पारिवारिक कामले विदेशमा बस्दै आएको बताएका छन् । सुमेरु सहकारीले बचतकर्ताको निक्षेप फिर्ता गर्न नसक्दा हजारौं बचतकर्ता पीडित भएका छन् ।
सुमेरु ग्रुपको अध्यक्ष अहिले पनि भरत महर्जन नै छन् । ग्रुप सञ्चालक समितिको उपाध्यक्ष विकास महर्जन, महासचिव हेमराज दाहाल, कोषाध्यक्ष सुनिल ढंगोल, सदस्यहरुमा दिलिप ढंगोल, रमेश महर्जन र स्वच्छन्द मानन्धर रहेको ग्रुपको वेवसाइटमा उल्लेख गरिएको छ ।
ग्रुपका महासचिव दाहालले अहिले सुमेरु बचत तथा ऋण सहकारीको अध्यक्षता गरिरहेका छन् । सिभिल बचत तथा ऋण सहकारीका अध्यक्ष इच्छाराज तामाङले पनि आफू आर्थिक संकटमा परेपछि र सहकारीको निक्षेप फिर्ता गर्न असफल भएपछि केशव लाल श्रेष्ठलाई सहकारीको अध्यक्ष बनाएका थिए ।
बस्तेतले ‘जसलाई सहकारीले अर्बपति बनाएर सडकमा पुर्यायो’ शिर्षकका समाचारमा प्रकाशित ग्रुप फोटोबाट भरत महर्जनलाई हटाउन माग गर्दै आएका छन् ।
उक्त समाचारमा सहकारीबाट उठेर व्यवसायिक सफलता हासिल गरेका तर पछि सहकारीसँग आफ्ना अरु व्यवसाय पनि संकटमा परेको व्यवसायीहरु इच्छाराज तामाङ, राजेन्द्र शाक्य, सुधीर बस्तेत, सुरेन्द्र भण्डारी, भरत महर्जन, रामबहादुर गौतम र सुशील बानियाँको बारेमा लेखिएको छ । उक्त समाचारमा भरत महर्जनको व्यक्तिगत चरित्र हत्या भएको बस्तेतको खण्डन पत्रमा उल्लेख गरिएकाे छ ।
विकासन्युजमा प्रकाशित समाचारकाे पनि पढ्न सक्नुहुनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.