महासंघको निर्वाचन : चन्द्रको झिमिक्क र पैसाको प्रभाव

  २०७९ चैत २८ गते १५:५२     रामकृष्ण पौडेल

काठमाडौं । चैत २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन र त्यसको सम्भावित परिणामबारे निजी क्षेत्रमा धेरैको चासो छ । धेरै विषय प्रष्ट हुँदै गएका छन्, केही विषय अन्योलामा छन् ।

विधानअनुसार बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल स्वतः अध्यक्ष बन्दैछन् । लुम्बिनी प्रदेश र द्विराष्ट्रिय उद्योग वाणिज्य संघ सदस्य पदमा सर्वसहमति भएको छ । बाँकी ६१ पदमा लागि ११६ जनाको उम्मेदवारी परेको उद्योग वाणिज्य महासंघले जनाएको छ ।

बरिष्ठ उपाध्यक्ष पदमा रामचन्द्र संघई, अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको उम्मेदवारी दिएका छन् । तिनै जनाले प्यानलसहित चुनावी प्रचारप्रसारमा अन्तिम चरणमा छन्। प्यानल निर्माणको क्रममा उमेशलाल श्रेष्ठ सबैभन्दा अगाडि, अञ्जन श्रेष्ठ दोस्रो र रामचन्द्र संघई तेस्रो देखिए । तीनमध्ये कसले जित्ला भन्नेमा मानिसहरुको फरक फरक विश्लेषण रहेको छ ।

वस्तुगतमा ढकाल र प्रधानबीच प्रतिष्पर्धा

वस्तुगत तर्फको उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेद्वारी परेको छ । हेमराज ढकाल, मनिषलाल प्रधान र सुकुन्तलाल हिराचनले वस्तुगत तर्फको उपाध्यक्षका लागि मनोनयन दर्ता गरेका छन् ।

अहिले पनि महासंघको कोषाध्यक्ष रहेका हिराचनले चुनाव हार्न सक्ने अनुमान गरेका छन् । उनको प्रचारप्रसार, उनले विभिन्न व्यक्तिहरुसँग गरेको लविङ र उनको टीममा उनको निकट समूहका सदस्यहरुको उपस्थितिले पनि धेरैको त्यो अनुमान सही सावित हुन सक्छ ।

वस्तुगत समूहबाट १४ सदस्य निर्वाचित हुनुपर्ने विधानमा व्यवस्था छ । हिराचनको समूहबाट सदस्यमा एक जनाको पनि उम्मेद्वारी परेन । महासंघको वर्तमान कार्यसमितिका कोषाध्यक्ष समेत रहेका हिराचन उपाध्यक्षका लागि योग्य उम्मेद्वार मात्र होइन, एक सक्षम व्यक्ति पनि हुन्, उनी एक परिचित अनुहार पनि हो । तर पनि उनले सबैभन्दा थोरै मत पाएर पराजित हुने आकंलन व्यवसायीहरुले गरेका छन् ।

अरु पक्ष जति सबल भएपनि निर्वाचनमा एक्लै जितिँदैन । हिराचनले ६ वर्षअघि स्वतन्त्र उम्मेद्वार रहेका अनुपबहादुर मल्लको जति पनि भोट नपाउने सम्भावना रहेको धेरैको दाबी छ । वस्तुगत उपाध्यक्षका अन्य दुई उम्मेद्वार मनिषलाल प्रधान र हेमराज ढकालले हिराचनलाई प्रतिस्पर्धीको रुपमा लिएकै छैनन् । ढकाल र प्रधानबीच भने प्रतिस्पर्धा राम्रो हुने देखिएको छ । उनीहरुले सदस्यहरुमा पनि १४/१४ जनाको समूह बनाएर प्रतिस्पर्धामा होमिएका छन् ।

ढकाल उमेशलालको टिमबाट र प्रधान अञ्जनको टिमबाट प्रतिस्पर्धा गर्दैछन् । उमेशलाल यसअघि दुई कार्यकाल वस्तुगत तर्फको उपाध्यक्ष निर्वाचित भइसकेका व्यक्ति हुन् । तर, पछिल्लो निर्वाचनमा अञ्जनसँग उमेशलाल पराजित भएका थिए । वस्तुगत संघहरुमा दुबैको प्रभाव र पकड उत्तिकै बलियो भएको अनुमान छ । बोलिचाली, आनीबानी र मतदातासँगको सम्बन्धका आधारमा प्रधानले भन्दा ढकालले बढी मत पाउन सक्ने धेरैको अनुमान छ ।

जिल्लामा अरुण र दिनेशबीच प्रतिस्पर्धा

उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा पनि तीन जनाले प्रतिस्पर्धा गर्दैछन् । रामचन्द्रको समूहबाट सुरकृष्ण वैद्य, अञ्जनको समूहबाट अरुणराज सुमार्गी र उमेशलालको समूहबाट दिनेश श्रेष्ठको उम्मेद्वारी परेको छ ।

चुनावी दौडधूपको बेलामा करिब दुई महिनासम्म उमेशलालको समूहबाट जिल्ला भ्रमण गरेका सुरकृष्ण बैद्य अन्तिम समयमा कित्ता परिवर्तन गर्दै रामचन्द्रको समूहमा पुगेका हुन् । महासंघको चनावी माहोल नजिकबाट नियाल्नेहरुका अनुसार तीन जना उम्मेद्वारमध्ये सुरकृष्ण सबैभन्दा पछाडि छन् ।

जिल्ला उपाध्यक्ष पदमा निकटम प्रतिस्पर्धा अरुणराज सुमार्गी र दिनेश श्रेष्ठबीच हुने धेरैको अनुमान छ । दिनेश पाको व्यक्ति, व्यवसायीको समस्या बुझ्ने र बोल्ने व्यवसायीको छवि बनाएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदरको विषयमा सडकमा सबैभन्दा बढी कराउने व्यवसायी नै उनै श्रेष्ठ हुन् । त्यसैले पनि उनलाई धेरै व्यवसायीले रुचाएका छन् ।

तर, दिनेशको लागि मुख्य चुनौति भनेको उनी सोही पदका लागि तेस्रो पटक उम्मेदवार बनेका छन् । मतदाताले नयाँ अनुहार खोजी गर्नु उनको लागि सबैभन्दा ठूलो चुनौतिको विषय बन्न सक्छ ।

अरुणराज सुमार्गीले अघिल्लो निर्वाचनताका पनि जिल्ला नगरतर्फको उपाध्यक्ष पदमा उम्मेद्वारीको घोषणा गरेको थिए । पछि उनले दिनेश श्रेष्ठलाई समर्थन गरे र कार्यसमिति सदस्यमा उठेका थिए । कृषि उद्यम केन्द्रको सभापति समेत भएर राम्रो काम गरेको, अघिल्लो निर्वाचनमा पनि त्याग गरेको र यसपालीका निर्वाचनमा तयारी पनि राम्रो भएकोले आफूले निर्वाचन जित्ने सुमार्गीको दावी छ । जे होस् दिनेश र अरुणराजबीचको प्रतिस्पर्धा रोचक नै हुने देखिन्छ ।

एशोसिएटमा भरतराज अगाडि

एशोसिएट समूहको उपाध्यक्षमा भरतराज आचार्य र ज्योत्सना श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन् । आचार्य उमेशलाल र अञ्जन समूहको साझा उम्मेद्वार बनेका छन् । ज्योत्सना प्यानल फेर्दै, फोटो खिचाउँदै, समाचार लेखाउँदै रामचन्द्र संघईको प्यानलमा पुगेर अडिएकी छन् ।

एशोसिएट मतदाताले प्रतिनिधि (प्रोक्सी) मार्फत् मतदान गर्न पाउँछन् । प्रोक्सी जसको हातमा बढी छ, उसले विजय हासिल गर्छ एशोसिएटतर्फ । करिब १७ सय एशोसिएट सदस्य रहेकोमा भरतराजले करिब ८०० प्रोक्सी संकलन गरेको र ज्योत्सनाले करिब ६०० प्रोक्सी संकलन गरेको दावी गरेका छन् । करिब ३०० मतदाताले विवेक प्रयोग गर्दैछन् ।

आइतबार रामचन्द्र संघई समूहले गरेको रात्रिभोज कार्यक्रममा पनि ज्योत्सना प्रभाव कमजोर रहेको देखियो । सो कार्यक्रमम एसोसिएटतर्फका सदस्यहरुको सहभागिता न्यून थियो । यसको प्रभाव ब्यालेट बक्समा देखिने नै छ ।

वरिष्ठ उपाध्यक्षको निर्वाचन दुई चरणमा

अहिले महासंघको निर्वाचनका लागि तीन समूह प्रतिस्पर्धा छन् । वरिष्ठ उपाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेकोले पनि धेरैले महासंघको निर्वाचन दोस्रो चरणमा प्रवेश गर्न सक्ने अनुमान गरेका छन् ।

त्यो अनुमान महासंघको निर्वाचन समितिले पनि गरेको छ । समितिले जानीबुझि नै वरिष्ठ उपाध्यक्ष पदका लागि चैत ३० गते निर्वाचन हुन सक्ने र त्यसको लागि तयारी गरेको सूचना सार्वजनिक गरिसकेको छ । विधान अनुसार वरिष्ठ उपाध्यक्ष हुनको लागि कम्तिमा ५१ प्रतिशत मत ल्याउनुपर्ने छ ।

तीन जना उम्मेदवार हुँदा कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसक्ने अनुमान गरिएको छ । पहिलो चरणका बढी मत प्राप्त गर्ने दुई वरिष्ठ उपाध्यक्षको उम्मेद्वारहरुबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । पहिलो चरणका ‘टप टु’मा पर्न सफल उम्मेदवार दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । तेस्रो भएको उम्मेदवारले दुईमध्ये एउटा उम्मेदवारलाई समर्थन गरेमा तेस्रोको समर्थन पाएको उम्मेदवार विजयी हुन सक्ने सम्भावना देखिन्छ ।

दोस्रो चरणका दावेदार

सबैभन्दा कम उम्मेद्वार लिएर चुनावी प्रतिस्पर्धामा गएका रामचन्द्र संघईका लागि महासंघको निर्वाचन सबैभन्दा चूनौतिपूर्ण देखिन्छ । उनलाई पहिलो चरण पार गर्न नै चुनौतिपूर्ण रहेको धेरैको बुझाइ पनि छ ।

५० प्रतिशत मतभार रहेको जिल्ला नगरतर्फ रामचन्द्र संघईको प्रभाव कम छ । जिल्लानगरतर्फ संघई कमजोर हुनुमा तीन वटा कारण छन् । पहिलो, जिल्ला नगरमा प्रभाव राम्रो भएका कोही पनि रामचन्द्र संघाईको प्यानलमा छैनन् । दोस्रो, उनले मारवाडी भर्सेस् अन्य समुदायबीच दूरी बढाउने किसिमले चुनावी टिम बनाए । खास गरी एशोसिएट सदस्यहरुमा र कार्यक्रमहरु पनि त्यसैगरी सञ्चालन गरे ।

तेस्रो, शेखर गोल्छा र पशुपति मुरारका अध्यक्ष हुँदा जिल्ला नगर संघ सदस्यहरु महासंघको नेतृत्वसँग बढी असन्तुष्ट बने । त्यसको असर रामचन्द्रलाई पर्ने जानकारहरु बताउँछन् । वस्तुगत तर्फ उपाध्यक्षमा मात्र उम्मेदवार बनाउन सक्नु र १४ सदस्य पदमा एक जना पनि उम्मेदवार दिन नसक्दा संघईले वस्तुगतबाट सबैभन्दा कम मत पाउन सक्ने आँकलन छ । यस समूहको मतभार २० प्रतिशत छ ।

वरिष्ठ उपाध्यक्ष पदका लागि मतभार ३० प्रतिशत रहेको एशोसिएटबाट भने संघईले सबैभन्दा बढी मत पाउने छन् । एशोसिएट उपाध्यक्ष भरतराजलाई जाने मत उमेशलाल र अञ्जनलाई बाढिने सम्भावना छ भने ज्योत्सानाले पाउने मत संघईलाई जानेछ ।

वस्तुगत र जिल्लामा बढी प्रभाव अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको देखिन्छ । ज्योत्सनाले गुट परिवर्तन गरेपछि खस्किएका अञ्जन भरतराजलाई एसोशिएट उपाध्यक्ष बनाएपछि उत्साहित देखिन्छन् । रामचन्द्र, अञ्जन र उमेशलाल सबैले पहिलो चरणमा नै निर्वाचन जित्ने दावी गरेपनि त्यो सम्भव देखिँदैन ।

जिल्लाबाट सबैभन्दा बढी मत पाउने उमेशलाल समूहको दावी छ । चण्डीराज ढकाल, दिनेश श्रेष्ठ लगायत जिल्लामा बढी प्रभाव छोड्ने व्यक्तिहरु उमेशलालको टिममा छन् । वस्तुगतबाट पनि सबैभन्दा बढी मत पाएर पहिलो चरणमा नै आफू विजयी हुने उमेशलाल समूहको विश्लेषण छ । जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोशिएटबाट बढी मत पाउने अञ्जन समूहको विश्लेषण छ । धेरैले उमेशलाल र अञ्जन नै दोस्रो चरणमा प्रवेश गर्न सक्ने अनुमान गरेका छन् ।

चन्द्रको झिमिक्क र पैसाको प्रवाह

यो निर्वाचनको नयाँपन भनेको महासंघको वर्तमान अध्यक्ष र अध्यक्ष हुँदै गरेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको मौनता हो । अघिल्लो निर्वाचनहरुमा अध्यक्ष वा वरिष्ठ उपाध्यक्ष प्रिय प्यानलको चुनावी घोडा बनेर जाने गरेका थिए । यस पटक त्यस्तो देखिएन ।

तैपनि शेखर र चन्द्र ढकालले कसलाई समर्थन गर्लान् ? भनेर धेरैले प्रतिक्षा गरिरहेका छन् । जिल्ला नगर, वस्तुगत, एशोसिएट सबैतिर राम्रो सम्बन्ध भएको र चन्द्र ढकाल झिमिक्क इसारा मात्र गरे पनि झण्डै १० देखि १५ प्रतिशत मत प्रभावित हुने जानकारहरु बताउँछन् ।

ढकाल आफैले कसलाई मत हाल्ने भन्ने बारेमा अन्तिम समय झिमिक्क मात्र गर्दा काफी हुने बताउँदै आएका छन् । दोस्रो, पुष्टि गर्न गाह्रो हुने तर सबैले स्वीकार गरेको अदृष्य मतप्रभाव हुन्छ । पैसामा भोट किनबेच हुन्छ ।

‘चैत मसान्तको किस्ता जसले तिर्छ, उसैलाई भोट’ भन्ने आवाज महासंघको चुनावी पार्टीमा धेरै सुनियो । आर्थिक संकटको बेलामा दारुपानी पिएर बोलिएको यस्ता अभिव्यक्तिमा शंका गर्ने ठाउँ छ । दुई दर्जनभन्दा बढी जिल्ला तथा नगर उद्योग वाणिज्य संघको प्रतिनिधिहरुले उम्मेद्वारसँग लाखौं रुपैयाँ लिएर भोट हाल्ने गरेको पनि बताइन्छ । यसरी भोट किनबेच हुने भएकोले पनि निर्वाचन परिणामबारे आँकलन गर्न कठिन हुने जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.