महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै, तीन प्यानलमा कडा प्रतिस्पर्धा

  २०७९ चैत २९ गते ७:२८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुने भएको छ । बुधबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान हुने मुख्य निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए ।

महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल चैत ३० गतदेखि स्वतः महासंघको अध्यक्ष बन्नेछन् । त्यसैले महासंघको अर्को कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदमा ३ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन् ।

निर्वाचन अधिकृतका अनुसार महासंघको कार्यसमिति सदस्यमा ४ जना सर्वसम्मत निर्वाचित भइसकेका छन् । बुधबार एक जना वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयनका लागि मतदान भइरहेको बताइएको छ ।

जिल्ला नगर उद्योग वाणिज्य संघ समूह तर्फ एक उपाध्यक्ष र १८ सदस्य पदको लागि निर्वाचन हुँदैछ । यसतर्फ १२१ संस्थाका प्रतिनिधिले मतदान गर्छन् । यस समूहको उपाध्यक्षमा वर्तमान उपाध्यक्ष दिनेश श्रेष्ठ, कार्यसमितिका सदस्यद्वव अरुणराज सुमार्गीं र सुर कृष्ण बैद्य प्रतिस्पर्धा गर्दैछन् ।

बस्तुगत समूहको उपाध्यक्षमा हेमराज ढकाल, मनिसलाल प्रधान र सुकुन्तलाल हिराचन प्रतिस्पर्धा गर्दैछन् । १२३ बस्तुगत संघ सदस्य मतदाता रहेकोमा उनीहरुले कार्यसमितिको लागि १४ जना सदस्य, उपाध्यक्ष र बरिष्ठ उपाध्यक्षलाई मतदान गर्नेछन् ।

एशोसिएट तर्फ भने भरतराज आचार्य र ज्योत्सना श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । करिव १७६० मतदाता रहेको यो समूहबाट उपाध्यक्षसहित १९ जना कार्यसमिति सदस्य निर्वाचित हुनेछन् ।

बरिष्ठ उपाध्यक्षको लागि भने दोस्रो चरणमा मतदान हुने आँकलन गरिएको छ । बरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतमा भन्दा बढी मत पाउनुपर्ने विधानमा व्यवस्था छ । पहिलो चरणमा विजयी घोषण गर्न नसकेमा सबैभन्दा बढी मत पाउने दुई उम्मेद्वारबीच भोलि निर्वाचन गरिने महासंघको निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.