२०७९ चैत २९ गते १६:१२ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको दुई वटा संघतर्फको मतदान सकिएको छ । महासंघको वस्तुगत तर्फ र जिल्ला नगर तर्फ तोकिएको समय अगावै मतदान सम्पन्न भएको निर्वाचन मुख्य निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिएका छन् । ।
पछिल्लो विवरण अनुसार दुवै संघमा शत प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी बताए । उनका अनुसार महासंघको वस्तुगत तर्फको १२३ वटा मत रहेकोमा पुरा मत खसेको हो । यस्तै, जिल्ला/नगरतर्फ पनि शत प्रतिशत मत खसेको छ । जसमा ११७ मतदाता रहेकोमा सम्पूर्ण मत खसेको निर्वाचन अधिकृतले जानकारी गराए ।
पौडेलका अनुसार एशोसिएट तर्फको मतदान प्रक्रिया भने जारी रहेको छ । बिहान मतदान शुरु गर्न ढिला भएका कारण २ घण्टा समय थप गरिएको उनले बताए । उनका अनुसार १ हजार ७४८ मतदाता रहेकोमा हालसम्म ८७६ मत मात्रै खसेकाे छ ।
मंगलबार सुरु भएको महासंघको ५७ औँ वार्षिक साधारणसभामा नेतृत्व चयनका लागि बुधबार ढिलागरी मतदान शुरु भएको थियो । महासंघको वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई चुनावी मैदानमा छन् ।
कूल ६४ पदका लागि ११६ जनाले उम्मेदवारी दिएका छन् । जसमा जिल्ला नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी दिएका हुन् ।
महासंघको जिल्ला नगरको उपाध्यक्षमा तीन जना, वस्तुगत उपाध्यक्षमा तीन जना र एशोसिएट उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । जिल्ला नगर उपाध्यक्षका लागि सुरकृष्ण उपाध्याय, अरुणराज सुमार्गी र दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन, मनिषलाल प्रधान र हेमराज ढकाल र एशोसिएट उपाध्यक्षका लागि जोत्यसना श्रेष्ठ र भरत राज आचार्यले उम्मेदवारी दिएका हुन् ।
यस्तै, महासंघको जिल्ला नगर संघको १८ सदस्यका लागि ३२ जना, वस्तुगत संघको १४ सदस्यका लागि २८ जना र एशोसिएटतर्फ १९ सदस्यका लागि ३० जना गरी कूल ९० जनाको उम्मेदवारी परेको छ । महासंघको विधान अनुसार प्रत्येक प्रदेशबाट एक/एक जना सदस्य हुन पाउने व्यवस्था छ । जसमा लुम्बिनी प्रदेशबाट निर्विरोध निर्वाचित भइसकेका छन् भने अन्य प्रदेशमा निर्वाचन हुने भएको छ ।
सुदूरपश्चिम प्रदेशबाट २ जना, कर्णाली प्रदेशबाट ३ जना, गण्डकी प्रदेशबाट २ जना, बाग्मती प्रेदशबाट २ जना, कोशी प्रदेशबाट ३ जना र मधेश प्रदेशबाट २ जनाले उम्मेदवारी दिएको पौडेलले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.