महासंघ निर्वाचनः मतदान सकियो, आजै मतगणना गर्ने

  २०७९ चैत २९ गते १८:२५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मतदान सम्पन्न भएको छ । महासंघको वरिष्ठ उपाध्यक्ष पदसहित एशोसिएट तर्फको उपाध्यक्ष पदका लागि मतदान सम्पन्न भएको हो ।

बुधबार १० बजेबाट सुरु भएको मतदान ६ बजे सम्पन्न भएको हाे । ४ बजे नसकिएपछि एशोसिएट तर्फको उपाध्यक्ष पदका लागि २ घण्टा समय थप गरिएको थियो । महासंघको वस्तुगत र जिल्ला नगर संघतर्फको मतदान तोकिएको समय अगावै सम्पन्न भएको हाे ।

निर्वाचन समितिका अनुसार महासंघको वस्तुगत तर्फको १२३ वटा मतदाता रहेकोमा सबै मत खसेका छन् भने जिल्लारनगरतर्फ ११७ मतदाता रहेकोमा सम्पूर्ण मत खसेका छन् । दुवै संघमा शत प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिएका छन् ।

एशोसिएट तर्फ भने १ हजार १३२ मत खसेको पौडेलले बताए । उनका अनुसार एशोसिएटतर्फ १ हजार ७४८ मतदाता रहेको छन् । निर्वाचन समितिका अनुसार एशोसिएटतर्फ ५५ प्रतिशत मात्रै खसेको हो ।

मंगलबार सुरु भएको महासंघको ५७ औँ वार्षिक साधारणसभामा नेतृत्व चयनका लागि बुधबार ढिलागरी मतदान शुरु भएको थियो । महासंघको वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई चुनावी मैदानमा छन् ।

कूल ६४ पदका लागि ११६ जनाले उम्मेदवारी दिएका छन् । जसमा जिल्ला नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी दिएका हुन् ।

महासंघको जिल्ला नगरको उपाध्यक्षमा तीन जना, वस्तुगत उपाध्यक्षमा तीन जना र एशोसिएट उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । जिल्ला नगर उपाध्यक्षका लागि सुरकृष्ण उपाध्याय, अरुणराज सुमार्गी र दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन, मनिषलाल प्रधान र हेमराज ढकाल र एशोसिएट उपाध्यक्षका लागि जोत्यसना श्रेष्ठ र भरत राज आचार्यले उम्मेदवारी दिएका हुन् ।

यस्तै, महासंघको जिल्ला नगर संघको १८ सदस्यका लागि ३२ जना, वस्तुगत संघको १४ सदस्यका लागि २८ जना र एशोसिएटतर्फ १९ सदस्यका लागि ३० जना गरी कूल ९० जनाको उम्मेदवारी परेको छ । महासंघको विधान अनुसार प्रत्येक प्रदेशबाट एकरएक जना सदस्य हुन पाउने व्यवस्था छ । जसमा लुम्बिनी प्रदेशबाट निर्विरोध निर्वाचित भइसकेका छन् भने अन्य प्रदेशमा निर्वाचन हुने भएको छ ।

सुदूरपश्चिम प्रदेशबाट २ जना, कर्णाली प्रदेशबाट ३ जना, गण्डकी प्रदेशबाट २ जना, बाग्मती प्रेदशबाट २ जना, कोशी प्रदेशबाट ३ जना र मधेश प्रदेशबाट २ जनाले उम्मेदवारी दिएको पौडेलले बताए ।

मतदान सम्पन्न भएपछि आजै मतगणना सुरु गरिने भएको छ । मतगणना अघि बढाउन मुख्य निर्वाचन अधिकृतले छलफलका लागि सर्वपक्षिय बैठक बोलाएका छन् । मुख्य निर्वाचन अधिकृतले मतगणना प्रक्रिया अघि बढाउन वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षका उम्मेद्वार, वर्तमान अध्यक्ष र वरिष्ठ उपाध्यक्षलाई छलफलका लागि बोलाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.