२०७९ चैत ३० गते ११:०३ विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनको लागि पुनः आवेदन मागेको छ । यसअघि खुलाएको आवेदनमा सर्वोच्च अदालतमा रिट परेको र उक्त रिट खारेजी भएसँगै बोर्डले इच्छुक संस्थासमक्ष पुनः आवेदन माग गरेको हो ।
बोर्डले २०७९ चैत ३० गते एक सूचना जारी गर्दै आगामी १० दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको छ । साविकको सूचना बमोजिम तोकिएको म्यादमध्ये बाँकी रहेको म्याद अनुसार उक्त १० दिनको मिति तोकिएको बोर्डले जानकारी गराएको छ । यदि निवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा इच्छुकले सोको लगत्तै कार्यालय खुलेको दिन कार्यालय समय भित्र निवेदन बुझाउन सक्नेछन् ।
बोर्डले २०७९ असोज २ गते एक सूचना जारी गर्दै धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्ने सिफारिसका लागि एवं कमोडिटी मार्केट सञ्चालन गर्न इच्छुक संस्थालाई निवेदन माग गरेको थियो । जसको समयावधि ४५ दिन तोकिएको थियो । तर सर्वोच्च अदालतबाट २०७९ कार्त्तिक ४ गते जारी भएको अल्पकालिन अन्तरिम आदेश अनुरुप बोर्डबाट अर्को निर्णय नहुँदासम्मका लागि उक्त निवेदन प्रकृया स्थागित भएको थियो ।
यससँगै अदालतले गत चैत २६ गते रिट खारेजी भएको फैसला गरेसँगै बोर्डले उक्त प्रकृयालाई पुनः अघि बढाउने निर्णय गरेको हो । जसअनुसार नै १० दिनको म्याद तोकिएको सूचनामा उल्लेख छ । ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.